प्रदेशहरूमा कस्तो छ कोरोना रोकथाम तयारी ?
विश्वभर कोरोना भाइरस संक्रमणका कारण ठूलो जनधनको क्षति भइरहेका बेला नेपालमा पनि सम्भावित संक्रमणबाट बँच्न विभिन्न तयारी गरिएको छ । तर के ती तयारीहरू पर्याप्त छन् ? प्रदेशहरूमा सम्भावित संक्रमण रोकथामका लागि कस्तो तयारी छ ?
प्रदेशभरि १७ कोरोनाकर्मी
रुघा, खोकी र सामान्य ज्वरो आएपछि २ चैतमा बुटवल–६ जनपथका कृष्ण न्यौपाने बुटवलकै फिजिसियन क्लिनिकमा उपचार गर्न गए । चेक जाँचपछि उनलाई निमोनिया भएको थाहा भयो । चिकित्सकले सघन उपचार कक्षमा राखेर उपचार गराउन सल्लाह दिए । लुम्बिनी प्रादेशिक अस्पतालमा आईसीयुको बेड खाली थिएन ।
अस्पतालले बुटवलकै गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा रिफर गरिदियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले अस्पतालले भर्ना लिएन । त्यसपछि उनी भैरहवा मिडिकल कलेजमा जान बाध्य भए । बिरामी अहिले सामान्य अवस्थामा फर्किसकेका छन् । अस्पताल प्रशासन कोरोनाको आशंका गरेकाले भर्ना नलिएको स्वीकार गर्छ । मुटु रोगीजस्ता जटिल खाले बिरामी अस्पतालमा आउने हुादा शंकास्पद बिरामीलाई भर्ना लिन नसकेको चिकित्सक ऋकेश सापकोटा बताउँछन् । भन्छन्, “अस्पतालका अरु बिरामी भयभीत हुने भएकाले त्यस्ता बिरामीलाई भर्ना गर्न सक्दैनौँ ।”
अधिकांश निजी अस्पतालले बिरामीलाई रुघाखोकी, ज्वरो आएको भए भर्ना गर्न आनाकानी गर्ने गरेको आफन्तको गुनासो छ । उपचार गर्ने चिकित्सक नै त्रसित छन् । “स्वास्थ्यकर्मीलाई नै मनोवैज्ञानिक डर हटाउने तालिम दिनुपर्ने भयो,” मुख्यमन्त्री शंकर पोखरेल भन्छन्, “के गर्दा आफू जोखिममा भइन्न भन्ने थाहा भएपछि स्वास्थ्यकर्मी डराउनु पर्दैन ।”
प्रदेश ५ मा १३ वटा सरकारी अस्पताल छन् । तिनमा १ हजार २ सय दरबन्दी छ । हाल कार्यरत स्वास्थ्यकर्मी भने जम्मा ६ सय छन् । कोरोना हो/होइन भनेर परीक्षणका लागि नमुना लिन सक्ने जनशक्ति भने जम्मा १७ जना मात्र छ ।
प्रादेशिक प्रयोगशाला बुटवलका कल्पना घिमिरेको नेतृत्वमा ३ जना स्वास्थ्यकर्मीलाई अघिल्लो साता प्रदेशले तालिम लिन काठमाडौँ पठाएको थियो । उनीहरूले थप १४ जनालाई तालिम दिएका छन् । उनीहरू तराईका जिल्लाका स्वास्थ्य अस्पतालमा पठाइएको छ । अबको ३ दिनमा ५० जनासम्मलाई परीक्षण लिन सक्ने बनाउने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरी बताउँछन् ।
स्वास्थ्य निर्देशनालयका प्रमुख विनोद गिरीका अनुसार बजारमा सर्जरी मास्क पाइन छोडेको छ । उपकरण पर्याप्त छैन । ४५ वटा मात्रै पीपीए थर्मोमिटर छ । मेडिकल मास्क २ हजार मात्रै छ । ६ हजारका लागि टेन्डरको तयारी गरिएको छ । तर बजारमा त्यसको मूल्य कति भन्ने नै थाहा भएन । ग्लोब ६० हजार छ । त्यसलाई हरेक संवेदनशील अस्पताल तथा हेल्पडेस्कमा बाँडिएको छ ।
प्रदेश सरकारले निजीसहितका १९ अस्पतालमा आइसोलेसन बेड तयार गरेको छ । निजी अस्पतालले बिरामी राख्न आनाकानी गरेपछि ७ चैत बिहानदेखि अनुगमन बढाएको छ । दिउँसोसम्म प्रदेशमा कोरोनामा शंकास्पद १० बिरामी भेटिएका छन् । उनीहरू तेस्रो मुलुकका नागरिकको सम्पर्कमा रहेका तथा भारतबाट मजदुरी गरेर फर्केका हुन् । उनीहरूमध्ये ३ जनामा नेगेटिभ भेटिएको छ । ७ जनाको रिपोर्ट आउन बाँकी छ । “संक्रमणको आशंकामा सामान्य रुघाखोकी र ज्वरो आएका बिरामीसमेत अस्पताल जाने प्रवृत्ति बढेको छ,” स्वास्थ्य निर्देशक गिरी भन्छन्, “स्वास्थ्यकर्मीहरूको कामको चाप बढेको छ ।”
प्रदेश ५ अन्तर्गत तराईका ६ वटा जिल्ला भारतीय सीमासँग जोडिएका छन् । यहाँका १८ नाकामा स्वास्थ्य हेल्पडेस्क राखिएको छ । तिनले सीमापारिबाट आउनेलाई स्क्रिनिङ गर्ने र बच्ने तरिका सिकाउने गरेको सामाजिक विकास मन्त्री सुदर्शन बराल बताउँछन् । अहिलेसम्म ३३ हजार २ सय ६६ जनाको स्क्रिनिङ गरिएको छ । स्थायी क्वारेन्टाइनका लागि १२ सय बेडको अस्पताल बनाइँदै छ । “हाल सञ्चालित भैरहवाको भीम अस्पताल र दाङको बेलझुन्डीमा रहेको आयुर्वेद अस्पताल तथा धागो कारखानामा विशेषज्ञ अध्ययन भएको छ,” मन्त्री बराल भन्छन्, “आवश्यकताअनुसार क्वारेन्टाइन बन्नेछ ।”
भारतबाट फर्कने सीधै क्वारेन्टाइनमा
कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सुर्खेतस्थित प्रदेश अस्पतालमा २० वटा आइसोलेसन बेड व्यवस्था गरिएका छन् । थप ५० बेड राख्नका लागि तयारी भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा डम्बर खड्काका अनुसार शंकास्पद चार जनाको प्रयोगशाला परीक्षण नमुना काठमाडौँ पठाइए पनि ‘नेगेटिभ’ भेटिएको छ ।
सञ्चालनमा नआएको प्रदेश अस्पतालको नयाँ भवनलाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्ने तयारी छ । उक्त भवनमा करिब ३ सय जनालाई राख्न सकिनेछ । डा खड्का भन्छन्, “हामीसँग जनशक्तिको अभाव छैन, बजेट भयो भने उपकरण र बिरामीको उपचार व्यवस्थापन गर्न गाह्रो हुने छैन ।”
शंकास्पद बिरामीको नमुना परीक्षण काठमाडौँको टेकु अस्पतालमा मात्र हुने हुँदा केही असहज भएको उनी औँल्याउँछन् ।
कर्णाली सरकारले प्रदेश प्रवेश गर्ने नाकामा हेल्थ डेस्क राखेको छ । २३ फागुनमा सुर्खेत विमानस्थल, बबई र कुइने तथा सल्यानको कपुरकोटमा डेस्क राखिसकिएको छ । चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सामा राख्ने भनिएको डेस्क हिउँ नपग्लिएका कारण यालबाङमा राखिएको छ । भारतसँग सीमा नजोडिएको हुँदा कर्णाली सरकारले प्रदेश प्रवेशमै बढी निगरानी गर्ने रणनीति बनाएको छ ।
प्रदेश सरकारको स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोरोना संक्रमण पूर्वरोकथामका लागि ३२ जना हेल्थ असिस्टेन्ट (एचए) सहित ५८ जना स्वास्थ्यकर्मी नियुक्त गरिएको छ । १० जना चिकित्सक नियुक्त गर्ने कार्यक्रम रहे पनि कोही नआउँदा परिचालन गर्न नसकिएको निर्देशनालयकी निर्देशक रीता भण्डारी बताउँछिन् । “प्रारम्भिक रूपमा एचएले पनि शंकास्पद बिरामीको पहिचान गर्न सकिहाल्छन्,” उनले भनिन्, “शंका लागेका बिरामीलाई डाक्टरले हेर्छन् ।”
प्रदेश सरकारले आवश्यक परेको खण्डमा बिरामीलाई उद्धार गर्न हेलिकोप्टर पनि तयारी अवस्थामा राखेको छ । कर्णालीका हिमाली तथा पहाडी क्षेत्रमा बिरामी देखा परे हेलिकोप्टरबाहेक अर्को विकल्प छैन ।
स्थानीय सरकारको पहलमा १० जिल्लामा ३२ वटा हेल्थ डेस्क स्थापना भएका छन् । सबभन्दा बढी मुगुमा विभिन्न ९ स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ । रुकुम पश्चिममा ८, जुम्ला र हुम्लामा ५/५, डोल्पा र दैलेखमा २/२ र सल्यानमा एक स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ । कर्णालीमा सुर्खेतस्थित प्रदेश अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सुविधासम्पन्न विशेषज्ञ अस्पताल हुन् । निर्देशक भण्डारीका अनुसार प्रतिष्ठानमा पनि आइसोलेसन बेडको प्रबन्ध गरिएको छ ।
प्रदेश सरकारले जोखिमलाई थप दृष्टिगत गर्दै १ हजार बेडको क्वारेन्टाइन स्थापना गर्ने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही अध्यक्षताको कोरोना भाइरस रोकथामसम्बन्धी परिषद् बैठकले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ६ सय बेड र नेपाली सेनाले रेडियो नेपाल हाताभित्र ४ सय बेडको क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारकी प्रवक्ता एवं भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीका अनुसार भारतबाट आउने व्यक्तिलाई स्वास्थ्य परीक्षणपछि क्वारेन्टाइनमा राखिनेछ । “सबै जिल्लामा समेत अनिवार्य रूपमा क्वारेन्टाइन स्थापना गर्न र स्वास्थ्य परीक्षण गर्न निर्देशन दिइएको छ,” उनले भनिन्, “भारतबाट फर्केर सीधै गाउँ पुगेका व्यक्तिलाई पनि स्थानीय स्वास्थ्य संयन्त्रमार्फत चेकजाँच गरिनेछ ।”
हिमाली तथा पहाडी जिल्लामा कोरोनाका कारण कुनै बिरामीलाई तत्काल उद्धार गर्नुपर्ने अवस्थामा आए हेलिकोप्टर पनि प्रयोग गरिने मन्त्री केसीको भनाइ छ ।
खुला सीमाको त्रास
सुदूरपश्चिम प्रदेशको भुगोल भारत र चीनसँग सीमा जोडिएको छ । चीनसँग सीमा जोडिएको बझाङ र दार्चुलाबाट भन्दा भारतसित खुला सीमा जोडिएका सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाका बासिन्दा कोरोना भाइरस भित्रिन सक्ने त्रासमा छन् । यी जिल्लाबाट निर्वाध आवतजावत हुने गरेको छ ।
भारतमा अध्ययन र कामका लागि गएका नेपाली विभिन्न नाकाबाट धमाधम घर फर्कन थालेका छन् । भारतसँग सीमा जोडिएका ११ नाकामा हेल्थ डेस्क स्थापना गरी भारतका विभिन्न सहरबाट घर फर्किरहेका नेपालीको स्वास्थ्य जाँच गरिरहेको प्रदेश सरकारको दाबी छ । कोरानाका शंकास्पद बिरामी फेला परेमा तत्काल सीमा नाकाबाट उद्धार गरी क्वारेन्टाइनमा लैजान सुदूरपश्चिम प्रदेशका मुख्य नाका कैलालीको त्रिनगर भन्सार, टिकापुरको खक्रौला र कञ्चनपुरको गड्डाचौकीमा एम्बुलेन्स तयारी हालतमा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
वैध नाकामा स्वास्थ्य जाँच भए पनि भारतसँग सीमा जोडिएका जिल्लामा अवैध नाका उति नै छन् । अवैध नाकाबाट हुने आउजाउलाई नियन्त्रण गर्न सजिलो छैन । भारतसँग सीमा जोडिएका जिल्लाका नेपाल–भारतका सुरक्षा अधिकारीहरूको संयुक्त बैठकले मुख्य नाकाबाहेक अन्य नाकाबाट हुने आवतजावत बन्द गर्ने निर्णय गरेका छन् ।
१०१ किलोमिटर खुला सीमा रहेको कैलालीमा विभिन्न ठाउँबाट आवतजावत हुने गरेको छ । “सीमामा खटिएका दुवै देशका सुरक्षाकर्मीले त्रिनगर र खक्रौलाबाहेक नाकाबाट आवतजावत कडाइका साथ नियन्त्रण गर्ने निर्णय भएको छ,” कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा भन्छन् ।
गएको साता प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकले खुला सीमा नियन्त्रण गर्ने निर्णय गर्नुका साथै पूर्वतयारीलाई बलियो बनाउने, सम्भावित जोखिमबाट बच्न आवश्यक कार्ययोजनाका आधारमा अघि बढ्ने निर्णयसहित निर्देशन दिएको थियो ।
प्रदेश सरकारको सामाजिक मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार कोरोना भाइरस बच्न सेती प्रादेशिक अस्पताल धनगढीसहित सबै जिल्लाका अस्पतालमा आवश्यक बन्दोबस्त गरेर तयारी अवस्था राख्ने र बाह्य क्षेत्रमा आवश्यक सतर्कताका अभियानहरू सञ्चालन गर्ने योजना छ ।
प्रादेशिक सेती अस्पतालमा भेन्टिलेटर र आईसीयु थप्ने भने पनि हालसम्म काम सुरु भएको छैन । प्रदेश सरकारले भने धनगढीस्थित सेती प्रादेशिकमा १५ बेडका लागि ठाउँ अनुमान गरेको छ । हाल सेतीमा ५ बेड आईसीयु र एउटा मात्रै भेन्टिलेटर छ । कोरोनाको जोखिमलाई ख्याल गर्दै ५/५ बेड आईसीयु र भेन्टिलेटर थप्ने निर्णय गरेको अस्पतालका निमित्त प्रमुख डा शेरबहादुर कमर बताउँछन् । भन्छन्, “हामीसँग उपचार गर्न आवश्यक पर्ने जनशक्ति, पूर्वाधार र उपकरण केही छैन ।” सुदूरपश्चिम प्रदेशको सेती एक मात्र रिफरल अस्पताल हो ।
कैलालीको त्रिनगर भन्सार कार्यालयको खाली रहेको भवनलाई कोरोनाका शंकास्पद बिरामी राख्न क्वारेन्टाइनको रूपमा प्रयोग गर्ने पहल गरिएको जिल्ला प्रशासन कैलालीका सूचना अधिकारी शिवराज जोशीको भनाइ छ ।
यसका साथै वडा कार्यालय धनगढी नजिक रहेको अर्काे रिक्त सरकारी कार्यालयको भवनलाई पनि क्वारेन्टाइनको प्रयोग गर्ने तयारी छ । स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीका अनुसार प्रदेशभरिका १८ अस्पतालमा गरी ४७ वटा आइसोलेसन बेड स्थापना गरिएको छ । प्रदेशका नौ वटै जिल्ला प्रशासनलाई प्रदेश सरकारले औषधीलगायत अत्यावश्यक सामग्रीमा हुन सक्ने कालोबजारी रोक्न निर्देशन दिइएको छ ।
फोटो क्याप्सन : नेपाल–भारत सीमा क्षेत्रका सुरक्षा अधिकारीहरू कैलालीको त्रिनगर र गौरीफन्टामा कोरोना रोकथामको पूर्वतयारीबारे स्थलगत अनुगमन गर्दै । तस्बिर: अर्जुन शाह
बाग्मती प्रदेश ः हजार शय्याको आइसोलेसन
निर्णय गरेको तीन दिनभित्रै भरतपुरमा कोरोना भाइरस संक्रमण र त्यसको आशंका भएका व्यक्तिलाई राखेर उपचार गर्ने कोरोना विशेष अस्थायी अस्पताल तयार भयो । भरतपुर महानगरपालिकाको संयोजनमा जिल्लाका सरकारी अस्पताल, मेडिकल कलेजहरू, क्यान्सर अस्पतालबाट औजार, उपकरण र शय्या जुटाएर अस्पताल तयार गरेको अस्पताल व्यवस्थापन समितिका संयोजक रहेका भरतपुर अस्पतालका चिकित्सक डा भोजराज अधिकारी बताउँछन् ।
तत्कालका लागि ७० बेडको अस्थायी अस्पताल सञ्चालनमा आउनेछ । भरतपुर अस्पतालले १९ बेडको आइसोलेसन वार्ड बनाएको छ । बाग्मती प्रदेशमा १३ जिल्ला छन् ।
बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल ७ चैतमा बिरामी र चिकित्सक स्वास्थ्यकर्मीका लागि सुरक्षात्मक विशेष खालका पोसाक र औजारको प्याकेट नै बोकेर भरतपुर आएका थिए । मन्त्री दुलालका अनुसार संघीय र प्रदेश सरकारको प्रयासमा प्रदेशभित्र तीन सय वटा सघन उपचार कक्ष (आइसियु) सहित संक्रमितको उपचारका लागि हजार शय्याको आइसोलेसन वार्ड खडा गरिएको छ । “हामी मानसिक र भौतिक दुवै खाले तयारीमा छौँ । भाइरस आउँदै नआओस् भन्ने हाम्रो तयारी हो । आए पनि उपचार गर्न सक्छौँ,” मन्त्री दुलाल भन्छन् ।
बाग्मती प्रदेश सरकारको विपद् व्यवस्थापन समितिको ६ चैतको बैठकले विभिन्न २३ बुँदे निर्णय गरेको छ । बैठकले हेटौँडाका विभिन्न ठाउँमा पाँच सय शय्याको क्वारेन्टाइन क्षेत्र व्यवस्था गरेको छ । “महामारी फैलिए सेल्फ– क्वारेन्टाइन वा होम–क्वारेन्टाइनमा बस्न नसक्ने अवस्थाका व्यक्तिलाई हामीले त्यसमा राख्नेछौँ”, मन्त्री दुलाल भन्छन् ।
संक्रमितको उपचारमा खट्ने चिकित्सक, अन्य स्वास्थ्यकर्मी र संक्रमितको व्यक्तिगत सुरक्षाका लागि विशेष खाले पोसाक, औजार, उपकरण आवश्यक पर्ने नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा अनिलविक्रम कार्की बताउँछन् । “हाम्रो आग्रह भत्ताको होइन । व्यक्तिगत सुरक्षा औजार (पिपिई) पर्याप्त होस् भन्ने हो,” डा कार्की भन्छन्, “उपचारमा खट्ने सबै खालका स्वास्थ्यकर्मीको मनोबल बढाउन सुरक्षा प्रत्याभूति हुनुपर्छ ।”
संघीय सरकारले कोरोना संक्रमितको उपचारमा खट्ने चिकित्सक स्वास्थ्यकर्मीलाई ७५ प्रतिशत थप भत्ता दिने घोषणा गरेको छ ।
अमृता अनमोल/बुटवल, कलेन्द्र सेजुवाल/सुर्खेत, मोहन बुढाऐर/धनगढी र रमेशकुमार पौडेल/चितवन
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...