ज्वरो आएका बिरामी गेटबाटै फिर्ता
बिरामी जाँच्नुपर्ने डाक्टरद्वारा कोरोना आशंकामा बिरामीलाई घरमै बस्न सुझाव

भारतबाट फर्केका बगनासकाली गाउँपालिका–२ पोखराथोकका २० वर्षीय ज्वरोका बिरामीलाई लुम्बिनी मेडिकल कलेजले गेटबाटै फर्काइदिएको छ । उनलाई चिकित्सकले ज्वरो जाँच गरेर एम्बुलेन्समै बस्न आग्रह गरे । आमालाई औषधी लिन पठाए । यस्तो भएपछि पीपीईबिनै गाडी चलाएका चालक नारायण जीसी आत्तिए । उनले केही समय बिरामी नलैजाने आफ्ना कार्यालय प्रमुखलाई जानकारी गराए ।
कलेजमा बिरामीलाई पिसाब फेर्नसमेत दिएनन् । अस्पतालका निर्देशक डा. राजु शाक्यको सल्लाहपछि चालक जीसीले बिरामीलाई घरसम्मै लगेर छाडे । तर बिरामीलाई आइतबार बिहान पनि ज्वरो आइरहेको छ । यो एउटा उदाहरण मात्र हो ।
लुम्बिनी मेडिकल कलेजले गेट बन्द गरेर राखेको छ । सुरक्षागार्डले सोधपुछ गरेर मात्र बिरामी भित्र जान सक्छन् । ज्वरो आएको बिरामी हो भने भित्र प्रवेश पाउँदैनन् । ज्वरो क्लिनिक भनेर अस्पताल परिसरमा राखेका दुई स्वास्थ्यकर्मीले ज्वरो जाँच गर्छन् । शंका लागे त्यहीबाटै फिर्ता गरिन्छ । बिरामीका आफन्तलाई औषधी किन्न लगाए पनि बिरामी अगाडि जान पाउँदैनन् ।
ज्वरो र अन्य लक्षण मिल्दोजुल्दो भए कलेजका स्वास्थ्यकर्मीले घरमै गएर बस्नुस् भन्ने गरेका छन् । उनीहरूलाई अस्पताल सञ्चालक, निर्देशकको त्यस्तै निर्देशन छ । सोहीअनुसार चिकित्सकले फिर्ता गर्छन् । “हामी आफैँ पनि कोरोना भाइरसबाट सुरक्षित छैनौँ,” कलेजका ज्वरो क्लिनिकमा खटिएका चिकित्सकले भने, “पीपीई होइन, हामी आफैँले पीपीएम बनाई लगाएर ज्वरो क्लिनिक सञ्चालन गरेका छौँ । यस्तो अवस्थामा हामी आफैँ पहिला सुरक्षित हुन जरुरी छ ।”
लुम्बिनी मेडिकल कलेजमा आकस्मिक रूपमा पुग्ने दैनिक कम्तीमा ७/८ जना ज्वरोका बिरामी उपचार नै नपाई सिटामोल खरिद गरेर घरमै फिर्ता भइरहेका छन् । बिरामीलाई चिकित्सकले घरकै आइसोलेसनमा बस्न आग्रह गर्दै आएका छन् ।
अधिकांश बिरामीलाई प्रवेशद्वारबाटै फर्काइएको छ । बिरामीलाई एम्बुलेन्समा त्यहाँ पुर्र्याए पनि ‘ज्वरो आएको’ भन्नासाथ फर्काउने गर्छन् । त्यसपछि आफन्तले घरमै लगेर राखेका छन् । त्यस्ता बिरामी गाउँगाउँमा जतासुकै भेटिन्छन् । चिकित्सकका अनुसार अहिले मौसम परिवर्तनको समय भएकाले भाइरल ज्वरो पनि आउन सक्ने हुँदा घरमै बस्नु उपयुक्त हुन्छ । यही कलेजमा संघीय र प्रदेश सरकारका स्वास्थ्य कर्मचारीले आइसोलेसन वार्ड सञ्चालन गर्न उपयुक्त हुने भन्दै १० बेड दिने घोषणा गरेको थियो । तर अहिले ज्वरो आएका बिरामीलाई आइसोलेसन वार्डमा उपचार नगरेर घर फिर्ता पठाएको छ ।
अस्पतालका निर्देशक डा. राजु शाक्यले भने आफैँ सुरक्षित नभएको अवस्था रहेको बताए । “हामीसँग प्रोटेक्सनका लागि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सामग्री छैन,” उनले भने, “सरकारबाट पनि सामग्री प्राप्त भएको छैन । अहिले १०/१५ वटा हामी आफैँले पीपीएम बनाएर २४ घन्टा नै ज्वरो क्लिनिकमा खटिएका छौँ ।” पीपीई सबै चिकित्सकलाई पुर्याउन नसकिएकाले यस्तो अवस्थामा घरमै बस्न आह्वान गरेको उनले सुनाए ।
साधारण ज्वरो आएका बिरामीलाई औषधी दिएर पठाइएको डा. शाक्यले सुनाए । उनले भर्ना गर्नैपर्ने बिरामीलाई मात्र उपचार गरेको दाबी गरे ।
कोरोनाका शंकास्पद बिरामीलाई उपचार गर्न अस्वीकार गरेका धेरै उदाहरण छन् । तेल्घाको भार्केस, बन्दीपोखरा, पोखराथोक, झुम्सा, चिदीपानीलगायतबाट ज्वरो आएर लुम्बिनी मेडिकल कलेज पुगेकाहरूले घरमै फिर्ता भएको बताएका छन् । तानसेन नगरपालिका–६ जैसीचौपारीका भारतबाट फर्केका बिरामीलाई पाल्पा अस्पतालले पनि उपचार नगरी सिटामोल दिएर फर्काएको छ ।
अस्पतालका डा. पुष्पराज ज्ञवाली ज्वरो आएको तर घर पठाएको स्वीकार्छन् । पाल्पा अस्पतालमा दैनिक ५ जना बढी बिरामी ज्वरोका आउने गरेका छन् ।
मिसन अस्पतालमा ज्वरोका लागि छुट्टै व्यवस्थापन गरेको अस्पताल निर्देशक डा. रचेल कारख बताउँछिन् । विपद्का बेला धेरै बिरामीलाई बहिरंग विभागमा नआउन आग्रहसमेत गरिएको उनी सुनाउँछिन् । “हामीले बिरामीलाई फर्काएका छैनौँ,” उनले भनिन्, ‘ज्वरोका लागि छुट्टै वार्ड तयार गरेका छौँ । अरूसँग संसर्ग नहुने गरी राखेका छौँ ।” मिसन अस्पतालले बहिरंग विभागबाट पनि बिरामी जाँच गरिरहेको छ ।