कोरोनाका बीच कतारका चार लाख नेपाली
हालसम्म कतारमा रहेका नेपालीहरूलाई कुनै जटिलता देखिएको छैन । तर परीक्षणका क्रममा भेटिएको संक्रमितको उच्च संख्याले उनीहरूमा चिन्ता भने थपेको छ ।
चैतको अन्त्यसम्ममा कतारमा संक्रमितको संख्या २३ सय नाघेको छ भने ६ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये अधिकांश पछिल्लो समय विदेशबाट कतार फर्कने कतारी नागरिक र आप्रवासी पनि छन् । कतारमा पहिलो केस देखिएपछि सरकारले सतर्कता बढाउँदै लगेको छ । संक्रमणविरुद्ध लड्न असीमित संवेदनशीलता र सावधानी अपनाएको छ ।
कतारस्थित हमद हस्पिटलका मेडिकल स्टडी डिपार्टमेन्टका प्रमुख डा अब्दुल लतिफ अलखालका अनुसार कतारमा संक्रमितको संख्या उच्च देखिनुका दुई कारण छन् । पहिलो–ठूलो संख्यामा कोरोना भाइरसको परीक्षण हुनु हो, जुन दैनिक २४ घण्टामा ७ सयदेखि ३५सयसम्म रहेको छ । दोस्रो– ठूलो संख्यामा कतारबाहिर रहेका कतारीहरू स्वदेश फर्किए । युरोप, अमेरिका र अन्य मुलुकबाट फर्किएकाहरूलाई क्वारेन्टाइनमा राखिएपछि संक्रमितको संख्या बढेको देखिएको हो । संक्रमितमध्ये अधिकांश २० देखि ४० वर्ष उमेर समूहका छन् ।
कतारमा नेपालीसहित आप्रवासीहरूको संख्या कतारीभन्दा कयौँ गुणा अधिक छ । उनीहरूको बसाइ र कार्यक्षेत्र सनाइयामा रहेको हुँदा सो क्षेत्रका बासिन्दालाई यो संक्रमणबाट बचाउनु कतारको मुख्य दायित्व थियो । पहिलो पटक मार्च १७ बाट अत्याधिक नेपालीहरू रहेको औद्योगिक क्षेत्र सनाइयाको १ नम्बरबाट ३३ नम्बर इकाईसम्म पूर्ण लकडाउन गरी महामारीमाथि काबु पाउन कतार सरकारले पहल गर्यो ।
यस क्षेत्रमा पछिल्लो महिनादेखि हालसम्म पूर्ण लकडाउन गरिएको छ भने २४ घण्टा सुरक्षा व्यवस्था अति कडा पारिएको छ । दैनिक एक हजारभन्दा धेरै सवारी साधनमार्फत खाद्यान्न, दैनिक उपभोग्य सामग्री र औषधि उपचारका सामान पनि यहाँ पुर्याउने गरिएको छ । यहाँ लकडाउनमा परेकाहरूको समस्यालाई पहिलो प्राथमिकतामा राखिएको कुरा कतारको विपत्ति व्यवस्थापन सर्वोच्च समितिकी प्रवक्ता लुलुवाबिन्त राशिद अलखातरले पटक–पटक समितिद्वारा आयोजना गरिने पत्रकार सम्मेलनमार्फत बताउँँदै आएकी छिन् ।
नेपाली कामदारहरूको बाहुल्य रहेको औद्योगिक क्षेत्र सनाइयाको १ देखि ३२ नम्बरका श्रमिक आवासमा सरसफाइ किटनाशक केमिकल छर्किन सोही दिनबाट एक विशेष अभियान सञ्चालन गरिएको थियो । संक्रमण फैलिने डरले एक क्याम्पको बासिन्दा अर्को क्याम्पमा आवतजावत गर्न २६ चैतदेखि दुई साताका लागि मनाही गरिएको छ । यो क्षेत्रमा मात्र झन्डै एक लाख नेपाली छन् ।
कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले कामदार आवास क्षेत्रलाई संक्रमणमुक्त गर्न कतार सरकारले गरेको प्रयासमा साथ दिन नेपाली समुदायलाई आग्रह गरेका छन् । यो संक्रमणबाट कतारमा रहेका कतारी नागरिक र निर्माण एवं विकासमा अहोरात्र खटिरहेका समग्र आप्रवासीलाई सुरक्षित राख्न र बचाउन सकिन्छ भनेर नयाँ सुरक्षा कवच र योजनाहरू तर्जुमा गर्नमा कतार व्यस्त छ । कतारमा विभिन्न कारण पूर्ण लकडाउन नगरिए पनि सावधानी, सतर्कता र संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारका सरोकारवाला निकायहरूले विनाकाम घरबाहिर ननिस्कन सूचना जारी गरेको छ भने देशभरका विभिन्न क्लब, पार्क तथा समुद्री तट एवं कनेसका क्याफे, चिया पसल तथा व्यावसायिक स्टलहरू बन्द गरिएको छ ।
सबै कम्पनीमा नेपालीसहितका कामदारहरूको संख्यालाई आधा घटाइएको छ र कामदारलाई यातायातबाट ल्याउने–पुर्याउने गरिएको छ । यद्यपि उनीहरूको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्ने तथा सावधानीका उपायहरू अपनाई काम गर्न–गराउन निर्देशन दिइएको छ । कामकाज र दैनिकीलाई पूर्ण रूपमा ठप्प हुन नदिन निजी क्षेत्रका ८० प्रतिशत कामदारले घरबाटै काम गर्नुपर्ने व्यवस्था गरिएको छ । यातायातले क्षमताभन्दा आधा मात्रै कामदार बोक्ने गरी कामहरू सुचारु नै छन् ।
यसैगरी निजी क्षेत्र र सरकारी विभागहरूको कार्यावधि दैनिक ६ घण्टामा कायम गरिएको छ भने उक्त अवधिमा बिहान ७ बजेदेखि अपराह्न १ बजेसम्म मात्रै हुने गरेको छ । मानव जीवन ठप्प हुन नदिन र समस्या थप जटिल हुन नदिन दैनिक उपभोग्य वस्तु बोक्ने, ढुवानी सेवा प्रदायक कम्पनी, मेडिकल तथा स्वास्थ्य सामग्री बेचबिखन गर्नेलगायत टेक अवेको सेवाप्रदायक कम्पनी सुचारु छन् । कतारको श्रम तथा सामाजिक मामिला मन्त्रालयले श्रमिकलाई पूरा तलब दिनु अनिवार्य रहेको भन्दै हरेक कम्पनी तथा रोजगारदाताले कानुन पालना गर्नुपर्ने बताएको छ । यसले कतारमा कार्यरत नेपाली श्रमिकहरूलाई ठूलै राहत पुग्नेछ ।
कतारमा संक्रमकका लक्षण देखिएका बिरामीलाई तत्काल परीक्षण गर्ने गरिएको छ । यसका लागि देशभर सरकारी, स्थानीय एवं नेपालीलगायत आप्रवासीलाई स्वयंसेवकका रूपमा खटाई अभियान नै चलाएर सचेत गराइएको छ । कतारमा रहेका नेपाली श्रमिक, व्यवसायी र विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूमाझ कोरोना भाइरसबारे जनचेतना जगाउन यहाँको नेपाली राजदूतावास क्रियाशील देखिन्छ । सरकारी निकायद्वारा जारी आधिकारिक सूचना नेपाली भाषामा सम्प्रेषणदेखि राजदूतावासको दैनिकीअनुसार अत्यावश्यक सेवा प्रदान गरिरहेको छ । कतारमा करिब चार लाख नेपाली छन् ।
कतारस्थित नेपालीहरूको साझा संस्था गैरआवासीय नेपाली संघले यहाँका नेपाली समाजमा जनचेतना फैलाउन तथा विभिन्न समस्यामा परेका नेपालीहरूको उद्दार तथा राहतका निम्ति कतारका स्थानीय परोपकारी संस्था एवं सरकारी सुरक्षा संयन्त्रहरूसँग हातेमालो गरेर आफ्नो दायित्व निर्वाह गरिरहेको देखिन्छ । कतारका स्थानीय परोपकारी संस्थाको सहयोगमा एनआरएन पनि सक्रिय छ ।
खाद्यान्न, स्वास्थ्य सामग्री तथा दैनिक उपभोग्य सामग्री वितरण गरिएको छ । कतारको रेड क्रिसियन्टले पनि नेपाली संघ संस्था तथा आम नेपाली समुदायको हितमा प्रभावकारी कार्यक्रमहरू ल्याएको हुनाले पनि कतारका नेपालीहरूमाझ हालसम्म कुनै जटिल समस्या देखिएको छैन । खाडी राष्ट्रका अन्य मुलुकमा नेपालीहरू पनि कोरोना संक्रमित पाइएका र केही राष्ट्रमा त नेपालीको मृत्यु भइसके पनि हालसम्म कतारमा कुनै पनि नेपाली संक्रमित भएको वा मृत्यु भएको आधिकरिक सूचना प्राप्त छैन । तथापि यसबीचमा कोरोनाबाहेक अन्य कारणले केही नेपालीको निधन भएको छ । उनीहरूको शव हमद अस्पतालमा हुनाले सरकारले उक्त शवहरू छिटोभन्दा छिटो नेपाल लैजाने प्रबन्ध मिलाउनुपर्ने देखिएको छ ।
अप्रिल महिनाको आरम्भसँगै विभिन्न निकायले कतारमा रहेका आप्रवासीहरूको भाषामा कोरोना भाइरस र यसबाट बच्ने उपायसँगै कतार सरकारका विभिन्न सूचना, नियम र निर्देशनहरूलाई नेपाली भाषालगायत आप्रवासीहरूको भाषामा सम्प्रेषण गर्न विशेष रणनीतिअनुरुप कार्य थालनी गर्नाले पनि यो प्रकोपबारे जनचेतना जगाउन ठूलै सहयोग मिलेको छ ।
गृहमन्त्रालय र मानवअधिकार समितिले पम्पलेट, भिडियो तथा सावधानी एवं सजगताका सन्देशहरूलाई नेपाली भाषामा समेत प्रचारप्रसारमा ल्याएको हुनाले आम नेपाली श्रमिक वर्गलाई केही सहज भएको छ । यसैगरी रेडियो ओलिभलगायतरेडियो उर्दु १०७ ले पनि सूचना सम्प्रेषणमा कुनै कसर बाँकी राखेका छैनन् । यहाँको राष्ट्रिय मानवअधिकार समितिको तर्फबाट जनहितमा जारी भिडियो सार्वजनिक गरेको छ, जसलाई लाखौँ आप्रवासीहरूले हेरिसकेका छन् ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...