पिटर जे. कार्थक : फेड इन, फेड आउट
पिटर जे. कार्थक तिनै सङ्गीतका सुमुधर धुन थिए, जसले आफ्नो ७७ वर्षे चोलालाई 'सङ्गीत र साहित्य'मा 'रकिङ' गरेर गए ।
कुनै पनि गीत वा वाद्य सङ्गीत बजाउँदा सुरुमा बिस्तारै बज्दै आउँछ । पूरै बज्छ । फेरि त्यो अन्त्य हुने बेलामा बिस्तारै हराउँदै जान्छ । ध्वनि भाषामा यसलाई 'फेड इन र फेड आउट' भनिन्छ । 'पिटर' अंग्रेजी शब्दको नेपाली अर्थ यो एउटा पनि हो । ग्रिक भाषामा 'पिटर'को अर्थ 'रक' अर्थात् चट्टान वा ढुंगासंग जोडेर पनि हेर्ने गरिन्छ । पिटर जे. कार्थक तिनै सङ्गीतका सुमुधर धुन थिए, जसले आफ्नो ७७ वर्षे चोलालाई 'सङ्गीत र साहित्य'मा 'रकिङ' गरेर गए ।
पिटर कुनै चर्चको पादरीको नाम होइन । बरु, नेपालीका निम्ति 'पिटर' भनेका मात्र 'पिटर जे. कार्थक' हुन्, जसले 'प्रत्येक ठाउँ, प्रत्येक मान्छे' जस्तो उपन्यास लेखे, 'नेपाली म्युजिक मेकर्स' जस्तो सङ्गीतको आधिकारिक इतिहासको किताब लेखे र लेखे, 'काठमान्ड्रुइड़स' जस्तो दोहोरो कथाको अंग्रेजी उपन्यास ।
अब मलाई एकछिन सम्झनामा बहकिन दिनुस् ।
"प्रिय पिटर दाइ, म सम्झन्छु यति बेला सन् २०१६ का ती दिनहरू । ०७२ को भूकम्पले तपाईंको गुँड भत्काएपछि टिनको छानामुनिको तपाईंको जिन्दगी ! पेङ्गुइन भारत र नेपालको एउटा पब्लिकेसनले छाप्न अस्वीकृत गरेको तपाईंको अंग्रेजी उपन्यास प्रकाशन गर्न म बुक-हिल पब्लिकेसनका तर्फबाट तपाईंको छाप्रोमा पुगेको समय । अनि सँगै भएको 'प्रत्येक ठाउँ, प्रत्येक मान्छे'को पुनर्प्रकाशनको सम्झौता अनि 'पिटर'का कथाको कुरा । धेरै गाह्रो छ दाइ, सबैलाई सुनाउन तपाईंको कथा ! मलाई आज लागेको छ, एउटा जिउँदो अनुहारले कसरी असमयमै हात हलाएर बाई-बाई भन्न सक्छ ? कोरोनाको संक्रमणले संसार बन्द भैरहेको बेला तपाईंले हामी सबैलाई तपाईंकै भाषामा 'टाटा' भन्न सक्नुहुन्छ ?"
"तपाईं खासमा सङ्गीतको आत्मा लिएर जन्मेको मान्छे । गीत पनि राम्रै गाउनुहुन्थ्यो । तपाईंको कार्यथलोमा सधैं मधुर बज्ने गीतले तपाईंको पत्रकारिता वा साहित्यको पृष्ठ सङ्गीत (ब्याक ग्राउण्ड म्युजिक) तयार पारिरहेको मलाई भान हुन्थ्यो । तर तपाईंले अम्बर गुरुङ, गोपाल-कर्म योञ्जन, शरण प्रधान, रन्जीत गजमेरका लागि गितार बजाउनुभयो । 'हिलियन्स' नामक रक 'ब्याण्ड' समेत खोल्नुभयो । दार्जीलिङ सरकारले अम्बर गुरुङको सरकारी जागिर खोस्दा उनको 'कन्सर्ट' गराइदिनुभो । उनै अम्बर राजा महेन्द्रको हुकुमी-प्रमाङ्गीमा नेपाल आए । त्यसको धेरै वर्षपछि तपाईं पनि आउनुभो । रडियो नेपालमा गितार बजाउनुभो, लामो समयसम्म । तपाईंले जति गीतमा गितार बजाउनुभो, सायद त्यस धुनको झंकार तपाईंको दश जुनी जति लामो हुन्छ होला । पत्रकारिता गर्नुभो । युवालाई सधैं प्रेरित गर्नुभो । ललितपुरको कुपन्डोलदेखि अनामनगरको आप्का हाउससम्म सुसेल्दै हिंड्ने तपाईंको कथा तपाईं उभेको माटोलाई थाहा छ । भेडासिङ, असनकी रन्जना प्रजापतिसंग प्रेम विवाह गर्नुभो । जिमी र रिक्कीका पिता बन्नु भो । तपाईंले सुनाएको आफ्नो प्रेमको कथा म यहाँ सुनाउन असमर्थ छु ।"
"पिटर दाइ,
म फेरि लाग्छु, हाम्रो आफ्नै कथातिर । अस्ति चैत १० गते त हो नि मैले तपाईंलाई लक डाउन भएपछि पहिलोपटक फोन गरेको । भन्दै हुनुहुन्थ्यो, '१ लाख १७ हजार ५ सय' शब्दको नयाँ उपन्यास सकेँ । अब यो बन्दमा म एडिट गर्छु ।' मैले भनेको थें, 'कहिले आऊँ त म ?' तपाईंले जवाफ दिनु भो, 'तपाईंलाई मेरो दैलो आधा रातमा पनि खुल्ला छ, मस्ट वेलकम ।' फेरि अघिल्लो हप्ता अस्पताल भर्ना भएपछि मलाई मेसेजमा 'म सामान्य छु' भन्नु भएथ्यो । मैले भेट्ने कुरा र किताब छाप्ने कुरा तपाईंले बीचैमा छाडेर जानुभो ।"
"पिटर दाइ, २०७४ चैत्र १० गते शनिबार (सन् २०१८ को मार्च २४ तारिक) मोक्ष, झम्सिखेलमा तपाईंको उपन्यास 'काठमान्ड्रुइड़स'को लोकार्पणमा देखिएको तपाईंको अपार खुशीको बयान म शब्दमा गर्न सक्दिनँ । अध्येता सिकेलाल, शेखर खरेल र पत्रकार अखिलेश उपाध्यायले तपाईंको साहित्यिक जीवन र कृतिको चर्चा गरेको अहिल्यै झैं लागिरहेछ । त्यसपछि पुस्तक प्रदर्शनीदेखि बुकाहोलिक्सको कार्यक्रममा भएका तपाईंको पुस्तकको चर्चा सधैं अमीट बनेर रहने भए । तपाईं रसिक पनि, झोंकी पनि, गम्भीर पनि हुनुहुन्थ्यो । झलक सुवेदीको किताब 'ब्रिटिस साम्राज्यका नेपाली मोहरा'को अंग्रेजी अनुवादको सम्पादन गर्दा तपाईंले मागेको रकममा मैले ५० हजार घटाउँदा तपाईं क्या झोक्किनुभएको थियो । तर, आफ्नै किताब प्रकाशन गर्ने घरको माया सम्झिनुभो तपाईंले अनि तपाईं र म मेरै अडानमा सहमत भएका थियौं । तपाईंले सम्पादन गरेको अन्तिम किताब त्यही हुनेछ सायद ।"
"पिटर दाइ, तपाईंलाई 'पहाडी' शब्द निकै मन पर्थ्यो । तपाईंले नातिकाजीको पहाडी सङ्गीतको व्याख्या गरेको मैले सास फेर्न बिर्सेर सुन्थें । दार्जीलिङका कथा । शरण र अरुणाका प्रेमका किस्सा । भट्टी अर्थात् अखडामा हरेक बेलुकी जम्मा भएर नारायणगोपाल, उत्तम नेपाली, शशी शाह, तुलसीनाथ ढुंगेल, भीमवरसिंह थापासंग तपाईंले गरेका 'समकालिक वार्ता' अनि ठर्रा, छोइला र गफगाफका कुरा कम्ता ज्ञानकारी थिए ! पारिजात दार्जीलिङ पुग्दा तपाईंले खिचेको फोटो अहिले पनि तपाईंको घरको भित्तामा मुस्कुराइरहेको होला । मैले फिर्ता गर्न नपाएका 'हारुकी मुराकामी'का तपाईंका किताब मेरै बुक-सेल्फमा तपाईंलाई सम्झिरहेछन् ।
दाइ, आसामदेखि दार्जिलिङको चियाबारीका पिरती तपाईंका कौतुहलपूर्ण आँखामा म सधैं देख्थें । सायद त्यो जन्मभूमिको माया थियो । दार्जीलिङमा एउटा भनाइ प्रख्यात थियो रे, 'दार्जिलिङ्गेलाई कि कालले खान्छ, कि नेपालले लान्छ ।' तर यो भनाइ मलाई अहिले साँचो लागिरहेको छैन । तपाईंले 'प्रत्येक ठाउँ, प्रत्येक मान्छे' उपन्यासमा प्रेल्युड, इन्टरल्युड र एपिल्युडको प्रयोग गर्नुभएको छ । शङ्कर लामिछानेको भाषामा यो 'मन्त्र, यन्त्र र तन्त्र' हो । जीवनलाई एउटा मीठो शंखध्वनि बनाएर जानुभो । त्यो ध्वनि तपाईं जन्मँदा पनि बज्यो, तपाईंका जीवनभरका कार्यहरूमा बज्यो र तपाईं मर्दा पनि बजिरहेछ । तपाईंको आत्माले शान्ति पाओस् !"
"प्रिय पिटर दाइ,
तपाईं नेपाल आउनुभन्दा पहिले तपाईंले गितार बजाएको गीत नेपाल आएको थियो, अगमसिंह गिरीका शब्द र अम्बर गुरुङको स्वर/सङ्गीतमा, त्यही बजाउँदै म तपाईंलाई सदा स्मरण गरिरहनेछु :
नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको
काँडाकै माझ फूल छैन र कहाँ हाँसेको !"
म अब एकछिनलाई आँसु पुच्छु । तपाईंको सुसेलीलाई अहिले मेरो बगैंचाका चराहरूले दुरुस्तै उतारेका छन् ।
नोट : पिटर जे. कार्थक श्रीमती रन्जना प्रजापतिका साथमा कुपन्डोलस्थित आफ्नै निवासमा बस्दै आइरहनुभएको थियो । उहाँका दुई छोरा जिमी र रिक्की हुनुहुन्छ । दुई बुहारी र नातिहरू छन् । साथमा उहाँका फरक रङका दुइटा कुकुर छन् । जेठो छोरा जिमी पर्यटन र होटेल व्यवसायी हुनुहुन्छ । कान्छा छोरा रिक्की अमेरिकामा निजी टेलिकममा काम गर्नुहुन्छ । उहाँ दुई हप्तादेखि ललितपुर हरिसिद्धिस्थित 'नेपाल क्यान्सर अस्पताल'मा क्यान्सर रोगको उपचारमा हुनुहुन्थ्यो । शरीरको कुन अंगमा क्यान्सर भएको हो भन्ने पत्ता नलाग्दै हार्टअट्याक भई आज बिहान ५:४५ मा निधन भएको हो । उहाँको भोलि पशुपति आर्यघाटस्थित 'इलेक्ट्रिक शब-दाह गृह'मा अन्तिम संस्कार गरिनेछ । उहाँको उपन्यास 'प्रत्येक ठाउँ, प्रत्येक मान्छे'को नयाँ संस्करण 'बुक-हिल' पब्लिकेसनले छापिसकेको छ । 'पिटरका कथा'को भाषा सम्पादन हुँदै छ । उहाँले पछिलो समयमा सम्पादन गरिरहेको उपन्यास 'A Young Wandering Mudlark in Old Kathmandu' पिटर दाइको सम्झनामा सविशेष प्रकाशन हुनेछ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...