जिउँदा सहिदलाई लकडाउनको पीडा
जनआन्दोलनका सक्कली घाइतेलाई खाना–नानाको पिरलो, राहतमा राजनीतिक पहुँच देखाएर नक्कलीको रजाइँ
जनआन्दोलन ०६२/०६३ का घाइते गोपाल श्रेष्ठ धुलाबारीस्थित घरको सिकुवामा बसिरहेका थिए । गोली लागेको देब्रे खुट्टा खाटमाथि तेर्स्याएका थिए । दायाँ खुट्टाले जमिन टेकेका थिए ।
घर अगाडि रङ उडेर फिक्का बन्न थालेको रातो रङको सिटी रिक्सा छ । रिक्सा थन्किएको महिना दिन नाघिसक्यो । यही चलाएर परिवारको गर्जो टार्थे, ‘जिउँदा सहिद’ गोपाल ।
लकडाउनका कारण रिक्सा थन्किएको थन्किएै छ । “अब अझै लकडाउन लम्बिने हो भने भात खान नपाएर मर्ने स्थिति आउँदै छ,” गोपाल बिलौना कहन्छन्, “घरमा न खाने कुरा छ, न त किन्ने पैसा नै ।”
जनआन्दोलनको बलमै लोकतन्त्र स्थापना भएको १४ वर्ष बित्यो । यो अवधिमा देशमा धेरै परिवर्तन भए । गोपालको घर नजिकैको निन्दा खोलामा पनि धेरै पानी बग्यो । तर यिनको जीवनमा खासै परिवर्तन आएन ।
गोली लागेको घाउ बेलाबेला बल्झिरहन्छ । त्यही आलो घाउ बोकेर रिक्सामा हुइँकिने यिनी एक महिनादेखि घरमै बन्दीझैँ छन् । गत फागुनमा बाटोमा हिँड्दा हिँड्दै बाटोमा लडेका कारण गोली लागेको खुट्टामा ज्यादा असर पुग्यो । “खुट्टा सुन्निएर डमडम भएको थियो,” उनले दु:ख पोखे, “घुँडामुनिको मासुको लिगामेन्ट च्यातिएछ, बल्ल बिसेक हुँदै छ ।”
सिटी रिक्सा चलाएरै पाँच जनाको परिवार पाल्ने जिम्मेवारी यिनको काँधमा छ । गोपालले तीन वर्षअघि सिटी रिक्सा किनेका थिए, अढाई लाख ऋण काढेर । ऋणको ब्याज तिर्न अहिले गाह्रो छ । “लकडाउनअघि अलिअलि कमाएर जम्मा गर्दै थिएँ,” उनले सुनाए, “एक महिनायता त कामै बन्द छ, ऋणको ब्याज कसरी बुझाउने भन्ने पिरलोले सताएको छ ।”
सिटी रिक्सा चालक बन्नुअघि गोपालले परिवार पाल्ने अर्को बाटो पनि अपनाएका थिए । घरैअघि सानो पसल थापेर चुरोट, गुट्खा बेचिहेरे तर सोचेजस्तो व्यापार भएन, छाडिदिए । “अलि कम श्रम गर्नुपर्ने काम खोज्दै जाँदा सिटी रिक्सा ठीक होला भन्ने लाग्यो,” उनी भन्छन्, “ऋण खोजेरै किनेँ ।”
स्थानीय एक सहकारी संस्थामा घर धरौटी राखेर २ लाख ऋण काढे । २ लाखमा ३० हजार थपेर नगदै रिक्सा किनेका गोपालले यसबाट दैनिक ३–४ सय कमाउँथे । “५ जनाको परिवार रिक्साले पालिरहेको थियो,” गोपाल भन्छन्, “जसोतसो परिवारको खर्च धानेको थियो, अहिले त्यो पनि बन्द भयो ।” महिनामा १० हजार रुपैयाँ त ऋणको किस्ता नै तिर्नुपर्छ । बचत थोरै रकम दुई बच्चा पढाउन र परिवार पाल्न खर्चन्थे, गोपाल ।
गोपाललाई मेचीनगर नगरपालिकाले अशक्तबापत मासिक ५ हजार भत्ता उपलब्ध गराउँदै आए पनि लकडाउनपछि पाएका छैनन् । स्थानीय धुलाबारी खानेपानी कार्यालयले पनि निर्वाह भत्ता मासिक १५ सय दिन्छ । केही दिनअघि यिनले खानेपानीका अध्यक्ष अजय घिमिरेलाई ‘खानै गाह्रो भो, मिल्छ भने भत्ता पठाइदिनू पर्यो’ भने । घिमिरेले तीन महिनाको एकमुस्ट रकम घरै पठाइदिए ।
गोपाल भन्छन्, “यही भत्ताले खाना खर्च चलिरहेको छ, अहिले । तर अब धेरै दिन चल्न गाह्रो छ ।”
जनआन्दोलनका धेरै घाइतेले सरकारबाट लाखौँ रकम बुझे, राहतस्वरूप । यिनलाई भने कसैले सम्झिएन । “नक्कली घाइतेहरूले पनि राजनीतिक पहुँच र नजिकका नेता प्रयोग गरेर लाखौँ राहत लिएछन्,” उनको दाबी छ, “मेरो न नेता थिएन, न त पहुँच नै ।”
करिब १२ वर्षअघि स्थानीय राजनीतिक दल र संघसंस्थाको पहलमा घर बनाएर दिए । गोपालको एक कठ्ठा जमिनमा एकतले पक्की घर मात्रै छ, सम्पत्तिको नाममा । करिब ७ वर्षअघि तिनै दलले चन्दा उठाएर बिहे पनि गरिदिएका थिए ।
त्यो बेला स्थानीय नेताहरूले आश्वासन दिएका थिए, “तपाईंलाई सजिलो हुने जागिर लगाइदिन्छौँ, जसबाट जीवन निर्वाह सहज हुनेछ ।” तर यो आश्वास अहिलेसम्म पूरा भएको छैन । गोपाल धेरै वर्ष आश्वासन सम्झिएर बसे । पूरा नभएपछि रिक्सा किनेर चलाउन बाध्य भए ।
नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाले घरमै भेटेर पार्टीको सरकार आउनेबित्तिकै उपचार खर्च र जीवन निर्वाहको व्यवस्था मिलाउने आश्वासन दिएका थिए ।
कांग्रेस पटक–पटक सत्तामा पुग्यो । तिनै सुशील कोइराला आफैँ पनि प्रधानमन्त्री भए । तर गोपालको समस्या सुल्झिएन । सम्झिए, “तर आश गर्दागर्दै सरकारै पो ढल्यो ।”
अनि उनी ढले...
साँझ परिसकेको थियो । गोपाल श्रेष्ठ आन्दोलनकारीसँगै घर फर्कने तर्खरमा थिए । एक्कासि गोलाबारी भयो । भीडमा भागाभाग मच्चियो । त्यही क्रममा उनको देब्रे तिघ्रा गोलीले छेड्यो अनि ढले ।
६ वैशाख ०६३ मा सदरमुकाम चन्द्रगढीमा भएको गोली काण्डबारे जनआन्दोलनका योद्धा श्रेष्ठ सम्झिन्छन्, “चट्याङ परेझैँ आएको गोलीले म ढलेछु, अस्पताल पुगेर मात्रै थाहा पाएँ ।”
अचेत भएर चन्द्रगढी रंगशाला नजिक ढलेका उनी होस खुल्दा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैयामा थिए ।
आन्दोलनको १४ औँ दिन ६ वैशाखमा झापा सदरमुकाम पूरै आन्दोलनकारीका कब्जामा थियो । त्यही क्रममा भद्रपुरका सुरज विश्वास र लक्ष्मीपुरका राजन गिरीले सहादत प्राप्त गरेका थिए । श्रेष्ठलगायत करिब अढाई सय घाइते भएका थिए ।
करिब १४ वर्षअघिको गोलीको गहिरो खत उनको देब्रे तिघ्रामा प्रस्टै देखिन्छ । अहिले पनि हिँड्डुल गर्न गाह्रो हुन्छ । लामो समय बैसाखीको सहारामा हिँडे पनि त्यो चाहिएको छैन । “अझै घाउ बिसेक भइसकेको छैन,” उनी भन्छन्, “घाउ बल्झिरहन्छ ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...