सुनसान रसुवागढी नाका
साढे तीन महिना अघिसम्म रसुवागढी नाकामा खटिने सुरक्षा अधिकारीलाई भन्सार व्यवस्थापनमा भ्याई–नभ्याई हुन्थ्यो । लकडाउनपछि नाकामा न सामान आयात भएको छ, न त निर्यात ।

लकडाउनअघि व्यापारी एवं व्यवसायीहरूको भीडभाड र ढुवानी साधनको थामिनसक्नुको चाप हुने रसुवागढी नाका यतिबेला सुनसान छ ।
साढे तीन महिना अघिसम्म नाकामा खटिने सुरक्षा अधिकारीलाई भन्सार व्यवस्थापनमा भ्याई–नभ्याई हुन्थ्यो । लकडाउनपछि रसुवागढी नाकामा न सामान आयात भएको छ, न त निर्यात । पर्यटक आगमन तथा व्यापार व्यवसायसमेत ठप्प हुँदा नाकामा चहलपहल करिब शून्यजस्तै छ । सीमामा सुरक्षा अधिकारीहरू मात्र छन् । सामान लिन केरुङ जान लाइनमा राखिएका केही खाली कन्टेनर छन् ।
कोभिड–१९ को संक्रमण फैलिएपछि १५ माघदेखि नै रसुवागढी नाकाबाट आयात–निर्यात र आउजाउ ठप्प भएको हो । त्यसअघि पनि ल्होसार पर्व, पहिरो र हिमपातका कारण केही दिन आयात–निर्यात रोकिएको थियो । सीमामा चौबीसै घन्टा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको राजस्व तथा भन्सार सुरक्षा गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापा मगर बताउँछन् । तिब्बतको जिलोङ काउन्टी प्रशासनले कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लगि जिल्ला विपद् व्यवस्थापन समिति रसुवालाई दुई पटकसम्म यही नाका हुँदै स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । त्यसबाहेक नाकाबाट कुनै मालसामान आयात–निर्यात नभएको उनको भनाइ छ । नाकामा दुवै देशका सरकारी कार्यालय भने खुलै छन् । रसुवागढी नाकाबाट आउजाउ र यातायात चल्न छाडेपछि नेपालतर्फको टिमुरे बजार पनि सुनसान बनेको गोसाइँकुण्ड गाउँपालिका– २ का अध्यक्ष दावा डिन्डुप तामाङ सुनाउँछन् । भन्छन्, “यसले यहाँको व्यापार/व्यवसायमा ठूलो असर परेको छ ।”
चारैतिर अग्ला गगनचुम्बी पहाड । लिन्दे र केरुङ खोलाको संगमस्थल हो, रसुवागढी नाका । कुनै बेला चीनबाट नेपालमा व्यापार हुने सबभन्दा पुरानो नाका भए पनि रसुवागढीको खासै चर्चा थिएन । भारतको नाकाबन्दी र भूकम्पले तातोपानी नाका बन्द भएपछि रसुवागढी एकाएक चर्चामा आएको हो । भारतले नाकाबन्दी लगाउँदा चीन सरकारले अनुदानमा दिएको तेल रसुवागढी हुँदै नेपाल भित्रिएपछि यो नाकाको चर्चा चुलिएको हो । पछिल्लो समय चीनको रेल केरुङ, रसुवागढी हुँदै काठमाडौँ पुग्ने खबरले पनि यो नाका थप चर्चामा छ ।

चीनसँग व्यापार हुने पुरानो नाका भएकैले गढीमा ०१३ मै भन्सार कार्यालय स्थापना भएको थियो । त्यतिबेला नाकासम्म यातायात पहुँच थिएन । सडक नपुग्दा यस नाकाबाट नुन, भेडाच्यांग्रा, जिम्बु, ऊन, जिन्स र मखमलको रोल कपडालगायत सामान बोकाएर आयात हुने गरेको टिमुरेका स्थानीय सूर्य घले स्मरण गर्छन् । भन्छन्, “व्यापारीहरूले केरुङदेखि नै भरियालाई सामान बोकाएर ल्याउँथे ।”
सडकले नजोडिँदासम्म नाकामा खासै चहलपहल थिएन । चीनले स्याफ्रुबेँसी–रसुवागढी सडक निर्माण गरेपछि यो नाका यातायात सञ्जालमा जोडिएको हो । यातायात पुगेसँगै नाकामा विस्तारै चहलपहल बाक्लिँदै गयो । १५ मंसिर ०७१ देखि उक्त नाका विधिवत् रूपमा सञ्चालनमा आएको हो । भूकम्पले करिब ८ महिना बन्द नाका ०७२ मंसिरदेखि पुन: सञ्चालनमा आएको हो ।
चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ । चीन सरकारले १४ भदौ ०७४ मा रसुवागढीलाई अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारी साधनको चाप बढ्दै गएको छ । पाँच वर्षअघिको भूकम्पले तातोपानी नाका बन्द भएपछि रसुवागढीबाट नेपालले हाल वार्षिक अर्बौं मूल्य बराबरका सामान आयात–निर्यात गर्दै आएको छ ।
रसुवागढी नाकाबाट व्यापारिक कारोबार ह्वात्तै बढे पनि नेपालतर्फको सीमामा भौतिक अवस्था भने नाजुक रहेको त्यहाँ पुगेपछिको दुई फरक दृश्यबाटै प्रस्ट देखिन्छ । नाकापारिपट्टि चिनियाँ भूभागमा आधुनिक भवन बनेका छन् । अध्यागमन र भन्सारका भवनहरूमा आधुनिक उपकरण जडान भएका छन् । चीनले नाकाबाट केरुङ बजारसम्म पुग्नकै लागि दुई लेनको कालोपत्रे पक्की सडक निर्माण गरेको छ । केरुङसम्म पुग्ने सडकमा पहिरो छल्नका लागि ठाउँ–ठाउँमा सुरुङ र आकासे पुल हालिएको छ । सडक भित्ताबाट झर्ने ढुंगा रोक्न तारजाली लगाइएको छ ।

रसुवागढी नाकालाई चीनको संघीय सरकारले दक्षिण एसिया प्रवेश गर्ने मूलद्वार मानेको छ । त्यसैले चीनले भूकम्पलगत्तै आफ्नो भूभाग रसुवागढी नाका र केरुङलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधारको तीव्र विकास गरिरहेको छ । यता, नेपालतर्फको संरचना भने सीमापारिको भन्दा ठीक विपरीत छ । पानी पर्दा पहिरो, घाम लाग्दा धुलो उड्छ । हावा चल्दा माथिबाट ढुंगा खस्छ । भूकम्पले क्षति गरेको चीनतर्फका संरचना निर्माण भइसके तर नेपालतर्फको नाकामा पूर्वाधार निर्माण पुरानै तालमा रहेको व्यापारी धर्म पौडेल बताउँछन् ।
नेपालतर्फ सीमामा एकीकृत भवन निर्माण पनि कछुवाको गतिमै छ । टिमुरेमा चीन सरकारकै सहयोगमा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ । सवारी जाँच्ने भेहिकल एक्सरे, मेटल डिटेक्टरलगायत आधुनिक मेसिन नहुँदा चेकजाँचमा समस्या रहेको सीमामा खटिएका सुरक्षा अधिकारीहरू नै बताउँछन् । नेपालतिरको नाकामा प्रहरीले टहराबाट सुरक्षा जाँच गर्नुपर्ने बाध्यता छ । नाका पुग्ने सडकमा खाल्डाखुल्डी र पहिरोको जोखिम पनि उत्तिकै छ । नेपालको रसुवागढी नाकाबाट केरुङसम्मको दूरी २४ किलोमिटर छ ।
नाका बन्दसँगै आयात निर्यात ठप्प हुँदा राजस्व संकलन प्रभावित भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जनाए । भन्छन्, “दैनिक करोडौँ राजस्व संकलन हुने रसुवा भन्सारको चैत र वैशाख महिनाको राजस्व संकलन शून्य भएको छ ।”
आर्थिक वर्ष ०७५/७६ मा चीनबाट करिब २ खर्ब मूल्य बराबरको सामान आयात भएको छ । त्यसमध्ये २० प्रतिशत रसुवागढीबाटै भित्रिएको भन्सार विभागको तथ्यांक छ ।




