स्थानीयलाई आधार कार्डको लोभ देखाएर सीमामा भारतीय बलमिच्याइँ
पूर्वाधार नहुँदा पर्यटकबाट हुने आम्दानीको लाभ नेपालले लिन सकेको छैन । बन्न लागेका पूर्वाधार पनि भारतीय दबाबमा रोकिएका छन् ।

भारत पश्चिम बंगालको दार्जिलिङसँग सीमा जोडिएको सन्दकपुर आहाल क्षेत्रमा सुरु गरिएको बहुउद्देश्यीय संग्रहालय निर्माण भारतीय सीमा सुरक्षा बल (एसएसबी) को दबाबपछि रोकिएको छ ।
इलामकै तुम्लिङमा निर्माण सुरु भएको पर्यटकीय भवनको काम पनि एसएसबीको अवरोधकै कारण वर्ष दिनदेखि अगाडि बढ्न सकेको छैन ।
यी दुवै भवन नेपाल र भारत सीमाअन्तर्गत दसगजा क्षेत्रबाट सय मिटरभित्र नेपालतर्फ नै बनाउन थालिएको थियो । तर भारतीय सीमा सुरक्षा बलले दुवै स्थानका जग्गा आफ्नै भूभागमा पर्ने दाबी गर्दै निर्माणमा रोक लगाइरहेको छ ।
इलाम र पाँचथरको समेत सीमावर्ती सन्दकपुर आहाल एवं इलामको तुम्लिङसँगै पूर्वी क्षेत्रका विभिन्न नाकामा नेपाल सरकारको उपस्थिति नहुँदा त्यसको लाभ भारतीय पक्षले लिइरहेको छ ।
सीमावर्ती सन्दकपुर आहाल क्षेत्रको नेपाली भूभाग आफ्नो भन्दै भारतीय सीमा सुरक्षा बलले भौतिक पूर्वाधार निर्माणमा रोक लगाउनु पनि नेपाल सरकारको उपस्थिति नभएकै कारण ठान्छन्, स्थानीय ।
भारतीय सीमा सुरक्षा बल तीन–तीन किलोमिटरको दूरीमा स्थायी क्याम्प बनाएर बसिरहे पनि नेपालतर्फ सुरक्षा फौजको उपस्थिति नै छैन । त्यसकारण सीमा विवाद टुंग्याउन मात्रै नभएर जंगे र सहायक पिलर कुन अवस्थामा छन्, नेपालको वास्तविक भूभाग कुन हो भन्ने विषयमा सरकार, प्रशासन र सुरक्षा निकाय नै अद्यावधिक नहुँदा भारतले बलमिच्याइँ नछाडेको सन्दकपुर आहालका स्थानीय पेम्बा शेर्पाको दाबी छ ।

भारतले सीमापारिको आफ्नो जमिनलाई सिंहलीला राष्ट्रिय निकुञ्जमा परिणत गर्दै वनजंगलको संरक्षण गरिसक्दासम्म नेपालतर्फको जंगल खुला रहेकाले प्राकृतिक स्रोत उपभोगका लागिसमेत एसएसबी नेपाल नै छिर्ने गरेको उनको अनुभव छ ।
पर्यटनका लागि उत्कृष्ट गन्तव्य सन्दकपुर र आसपास क्षेत्रमा सूर्याेदय, सूर्यास्तसँगै बाह्रैमास हिँउले सेताम्य ढाक्ने हिमाल, चौँरीका बथानलगायत दर्जनौँ रमणीय दृश्य नेपालतर्फका भूभागबाटै खुला रूपमा हेर्न सकिन्छ । त्यसैले पनि ती क्षेत्रमा विस्तारै भारतले पहुँच बढाउँदै लगेको हुन सक्ने चौँरीपालन र गोठस्टे व्यवसाय सञ्चालन गरिरहेका स्थानीय नरबहादुर खपांगी बताउँछन् ।
वर्षौंदेखि सोही स्थानमा पशुपालन गर्दै आएका नेपालीहरूले भारततर्फबाट सीमा अतिक्रमण रोक्न आवाज उठाउँदा एसएसबीले कहिले धम्की र कहिले प्रलोभनसमेत दिने गरेको स्थानीय सुनाउँछन् ।
“२६ वैशाखमा भवन निर्माणको काम रोक्न आएका जौबारी थुकम सन्दकपुर क्षेत्र हेर्ने एसएसबीका इन्चार्ज रिंकल कुमारले तिमीहरू चुप लाग, हामी आधार कार्ड दिएर पुस्तौँपुस्तासम्म रासन उपलब्ध गराउँछौँसम्म भन्न भ्याए,” खपांगी भन्छन् ।
तर अहिलेसम्म सीमा विवाद सुल्झाउन सरकारी तवरबाटै ठोस कदम चालिएको छैन । भवन निर्माणमा अवरोध भएपछि जिल्ला प्रशासन कार्यालय इलाम र पाँचथरले छुट्टाछुट्टै टोली बनाएर निर्माण अवरुद्ध क्षेत्रको स्थलगत अध्ययन गरे पनि समस्या समाधान गर्न ठोस कदम चालेका छैनन् ।
“द्विदेशीय सम्बन्धको विषय भएकाले गृह मन्त्रालयमा जानकारी गराएका छौँ,” पाँचथरका प्रजिअ अर्जुनकुमार गुरागाईं भन्छन् ।
स्रोत–साधनमा एकलौटी

आन्तरिक र बाह्य गरी सिजनमा ५ सयसम्म पर्यटकको घुइँचो लाग्ने सन्दकपुर बजार पुग्ने बाटोघाटोसँगै त्यहाँका होटलमा प्रयोग हुने दाउरा र पानीसमेत नेपालकै प्रयोग हुन्छ । तर त्यसको प्रत्यक्ष लाभ भने नेपालले लिन सकेको छैन ।
एक दर्जन होटल सञ्चालनमा रहेको सन्दकपुर बजारमा नेपालकै कन्काईमाईको पानी प्रयोग हुन्छ । यस्तै इन्धनका रूपमा प्रयोग हुने दाउराको स्रोत पनि नेपालतर्फकै जंगल हो । यति मात्रै होइन, सन्दकपुर बजार पुग्ने पर्यटकले इलामको माईजोगमाई र पाँचथरको फालेलुङ गाउँपालिकाले निर्माण गरेका सडक प्रयोग गर्छन् ।
नेपालतर्फ पूर्वाधार नहुँदा पर्यटकबाट हुने आम्दानीको लाभ भने सरकारले लिन सकेको छैन ।
अचम्म के भने सन्दकपुरका होटलहरूमा पनि भारुकै कारोबार हुन्छ । यहाँ नेपाली नागरिकका तीनसहित भारतीयका १२ गरी १५ होटल, लज र रेस्टुराँ सञ्चालनमा छन् ।
नेपाल भारत, बंगलादेश, भुटानसहित पश्चिमा मुलुकका गरी सिजनमा दैनिक ५ सय पर्यटक आवागमन हुने सीमावर्ती बजार सन्दकपुरमा नेपाली स्रोत–साधन प्रयोग हुँदै आए पनि पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माण नगरिँदा त्यसको लाभ राज्यले लिन नसकेको हो ।
“पर्यटकहरू भारतीयकै होटलमा बस्छन् । तिनलाई भारु नै तिरेर नेपाली भूमिबाट मनोरञ्जन लिन्छन् । सीमावर्ती क्षेत्रमा सुविधासम्पन्न होटल, लजसँगै सञ्चार र विद्युतजस्ता पूर्वाधार विकासमा सरकारको ध्यानै पुगेको छैन”, खपांगी भन्छन् ।
नेपाल सरकारको रचनात्मक उपस्थिति नहुँदा सीमा क्षेत्रमा भारतको बलमिच्याइँ जारी रहेकाले पर्यटकीय भवन, भ्यू टावर र गोठस्टेजस्ता पूर्वाधार विकास गर्न लाग्दा एसएसबीबाट अवरोध हुने गरेको छ ।
सीमा समस्या समाधानका लागि संघीय सरकारले कूटनीतिक ढंगबाट पहल गर्नुपर्ने फालेलुङ गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङ बताउँछन् ।
पछिल्लो पटक डिभिजन वन कार्यालय पाँचथरको लगानीमा सन्दकपुर आहाल कवुलियती वन समूहले निर्माण सुरु गरेको संग्रहालयमा एसएसबीले अवरोध पुर्याएको हो । नेपाल सरकारले दार्चुलास्थित लिम्पियाधुराको भूभाग समेटेर नेपालको नयाँ नक्सा जारी गरेपछि पूर्वी सीमामा समेत भारतीय सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।