सीमामा सेनापति भ्रमणको सामरिक सन्देश
गलवान उपत्यकामा चीन र भारतबीच तनावपूर्ण सम्बन्ध नभएको भए सेनापतिको भ्रमणलाई स्वाभाविक मान्न सकिन्थ्यो । भ्रमण उचित भए पनि समय ठीक नभएको सुरक्षाविद्हरूको तर्क

भारत अतिक्रमित सीमा क्षेत्र कालापानी टेक्दा प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकबासीबाट सम्भवत: स्याबासी पाउने अपेक्षा गरेका थिए ।* आफ्नो भूमि मिचिँदासमेत सीमा क्षेत्रमा नेपाली सेना नपुगेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको पृष्ठभूमिपछि सेनाप्रमुख अर्धसैनिक बल सशस्त्र प्रहरी प्रमुखलाई लिएर ३ असार बिहानै हेलिकप्टरमा उक्त भेग पुगेका थिए ।
तर सेनापतिले यस्तो बेला उक्त भूमि टेके, जसले सेना मात्र होइन, मुलुकलाई नै भूराजनीतिक कचिंगलतिर प्रवेश गराउन सक्ने खतरा बढाएको छ । दुई शक्तिशाली छिमेकी चीन र भारतको सम्बन्ध चरम तिक्ततामा पुगेका बेला सेनापतिले संवेदनशील भूभागमा पाइला चाले । गलवान उपत्यका चिनियाँ र भारतीय सैनिकबीच घम्साघम्सी हुँदा २० भारतीय सैनिकको मृत्यु भएपछि दुवै मुलुकको सम्बन्ध खराब अवस्थाबाट गुज्रिरहेको छ ।**
ज्ञातव्य रहोस्, सेनापति थापा कालापानी पुगेकै दिन ३ असारमा चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले भारतले सीमा विवाद तन्काएमा पाकिस्तान र नेपालको सैन्य दबाबसमेत झेल्नुपर्ने चेतावनीसहितको समाचार प्राथमिकताका साथ छापेको थियो । सांघाई एकेडेमी अफ सोसल साइन्सका अनुसन्धानकर्ता हु झियोङलाई उद्धृत गर्दै पत्रिकाले चीनसहित पाकिस्तान र नेपालसँग पनि भारतको सीमा विवाद रहेकाले यी मुलुकसहित चीनको सैन्य दबाब सामना गर्ने तागत भारतको नभएको बताएको थियो ।
चीन सरकारले आफ्नो धारणा यस्तै अप्रत्यक्ष माध्यमद्वारा बाहिर ल्याउने गर्छ । उक्त पत्रिकाले पाकिस्तानलाई चीनको महत्त्वपूर्ण रणनीतिक साझेदार र नेपाललाई चीनको नजिकको मित्रराष्ट्र भनेको छ । साथै, पाकिस्तान र नेपाल दुवै चीनको बेल्ट एन्ड रोड इनियसिटिभ (बीआरआई) का मुख्य साझेदार भएको पनि उल्लेख छ ।
महिना दिनअघि भारतीय स्थल सेनाप्रमुख मनोजमुकुन्द नरवणेले ‘कसैको उक्साहट’ मा नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ नक्सा जारी गरेको आरोप लगाएका थिए । धेरैले नरवणेले चीनलाई इंगित गरेको अर्थ लगाएका थिए ।
“दुई छिमेकी मुलुकबीचको सम्बन्ध एकदमै नराम्रो भएका बेला संवेदनशील क्षेत्रको भ्रमण उचित होइन,” नाम उल्लेख नगर्ने सर्तमा नेपालसँग लामो कुराकानी गर्दै एक पूर्वप्रधानसेनापति भन्छन् ।
रक्षामन्त्री ईश्वर पोखरेलकै दबाबमा प्रधानसेनापति पूर्णचन्द्र थापा अतिक्रमित सीमा क्षेत्र अवलोकनमा गएको खुलासा
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल सैनिक गतिविधि राजनीतिजस्तो नहुने भएकाले सेनापतिको भ्रमणले नेपाललाई जबर्जस्त विवादमा तान्न सक्ने जोखिम देख्छन् । “भन्न त आफ्नो भूमिमा प्रधानसेनापति किन जान नपाउने भन्न सकिन्छ,” भूराजनीतिक मामिलामा दक्खल राख्ने मल्ल भन्छन्, “तर यस्ता भ्रमणमा समयको अर्थ हुन्छ । गलवान उपत्यकामा चीन र भारतबीच तनावपूर्ण सम्बन्ध नभएको भए सेनापतिको भ्रमणलाई स्वाभाविक मान्न सकिन्थ्यो । समयको हिसाबले यो गलत छ ।”
उच्च सैनिक स्रोतका अनुसार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको दबाबमै सेनापति थापा दार्चुलाको भारतीय सीमावर्ती क्षेत्र जान राजी भएका हुन् । “सुरुमा चिफसाब नजाने मनस्थितिमा हुनुहुन्थ्यो,” सैनिक मुख्यालयका एक उपरथी भन्छन्, “तर मन्त्रालयबाट तारन्तार ताकेता आएपछि जानैपर्यो ।” यद्यपि सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने सेनापतिको भ्रमण नियमित मात्र भएको बताए ।
पछिल्ला दिनमा नेपालमा चीनको चासो घनीभूत बन्दै गएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ गत असोजमा नेपाल भ्रमण आउनु ठीक अगाडि सत्तारुढ नेकपामा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को ‘सी विचारधारा’ बारे अन्तर्क्रिया भएको थियो । रक्षामन्त्री पोखरेलमार्फत चीनले सेनापतिको भ्रमण गराउन लगाएर भारतलाई सन्देश दिन चाहेको ती उपरथी बताउँछन् । आजै (५ असार) उपप्रधान एवं रक्षामन्त्री पोखरेलसहित अध्यक्ष प्रचण्ड चिनियाँ कम्युनिस्ट पार्टीले बेइजिङबाट दिने भिडियो प्रशिक्षणमा सहभागी छन् । “चिनियाँहरूको राजनीतिक दबाब त कस्तो हुन्छ भन्ने खम्पा विद्रोहमै देखिएको छ,” एक पूर्वप्रधानसेनापति भन्छन्, “तिमीहरूले विद्रोह नियन्त्रणमा नलिए हामी आउँछौँ भनेर राजा वीरेन्द्रलाई मनाएका थिए ।”
यद्यपि कूटनीतिक मामिलाका जानकार गेजा शर्मा वाग्ले भने सेनापति र सशस्त्र प्रमुखको भ्रमणले भर्खरै नेपालले नयाँ नक्सा जारी गरेकाले आफ्नो भूमि र नागरिकको सुरक्षा गर्न हामी तयार छौँ भन्ने सन्देश दिएको बताउँछन् । लिपुलेक तीन वटै मुलुकका लागि सामरिक महत्त्वको ठाउँ हो,” उनी भन्छन्, “त्यसैले नेपालले सामरिक र कूटनीतिक दृष्टिमा सन्देश दिन चाहेको छ कि, यो भूमि नेपालको हो । सुरक्षा गर्छौं ।”
भारतले अतिक्रमण गरेको कालापानीसहितको राजनीतिक नक्सा जारी गरेलगत्तै प्रत्युत्तरमा नेपालले समेत सोही भूमि समेटेर आफ्नो नक्सा जारी गरेपछि नेपाल–भारतबीच संवादहीनता जारी छ । नेपाली सेनाप्रमुखको पछिल्लो कदमले यो संकटलाई झनै गहिराउन सक्नेछ ।
नेपालसँग ती पूर्वप्रधानसेनापतिले सैनिक कदमलाई बचपनाको संज्ञा दिए । भन्छन्, “हाम्रोजस्तो मुलुकले यसरी कसैको प्रभावमा कदम चाल्नु राष्ट्रिय सुरक्षाका हिसाबले प्रत्युत्पादक हुन सक्छ ।”