दुई साता क्वारेन्टाइनमा बस्नु सजिलो कहाँ छ र ! त्यहाँ कसरी समय कटाउने ? धेरैलाई तनाव छ । य...
त्यसपछि मुस्कान आफ्नै अनुहारसँग तर्सिन छाडिन्
झन्डै पाँच महिना अस्पताल बसिन्, वीरगन्जकी मुस्कान खातुन, । विद्यालय जाने क्रममा तेजाब आक्रमणमा परेकी १४ वर्षीया मुस्कानसित मेरो पहिलो भेट भयो, ३० असोजमा । उनी कीर्तिपुर अस्पतालको शैयामा थिइन् । सुरुमा त मैले मुस्कानलाई राम्ररी हेर्न पनि सकिनँ । सोचेँ, एसिड आक्रमणबारे कसरी सोध्ने ? हेर्दैै डरलाग्दो फोटो कसरी खिच्ने ?
डाक्टरको राउन्डिङ हुन लागेको रहेछ । मुस्कानका पिताले तेजाब परेको ठाउँमा मलम लगाउँदै थिए । परिवारको अनुमतिमा झ्यालको प्वालबाट त्यही क्षण फोटो खिचेँ । मुस्कानको कथा सुनाउँदा आमा पनि सँगै थिइन् ।
डाक्टर आउने समय भएकाले धेरै बेर बस्ने अवस्था थिएन । मैले सरसर्ती उनको कथा सुनेँ । मुस्कानलाई एकाबिहानै विद्यालय पुग्नुथ्याे । अरू दिन भाइ र उनलाई विद्यालयसम्म बुबाले पुर्याइदिन्थे । तर २० भदौ बिहान उनको साथमा बुबा थिएनन् । बुबा बिरामी परेकाले भाइको साथमा विद्यालय गइरहेकी थिइन्, मुस्कान ।
उनी अघिअघि थिइन्, भाइ पछिपछि । बाटोमा सधैँजसो सताइरहने एउटा केटाले जग दिँदै भन्यो, ‘पानी खाने हो ? खाऊ ।’ उनी नखाने भन्दै फटाफट अगाडि बढिन् । तर त्यो केटाले पछाइरह्यो । अलि पर पुगेपछि केटाले खातुनको शरीरमा जग खन्याउन खोज्यो ।
मुस्कानले स्कुल ब्याग उचालेर हत्त न पत्त शरीर छोप्न खोजिन् । केटाले जगमा रहेको तरल पदार्थ छ्याप्न भ्याइहाल्यो । त्यो जगमा पानी होइन, तेजाब रहेछ । मुस्कान हुर्हुरी जल्न थालिन् । अनुहारको दायाँ भाग, छाती र हातमा एसिडले धुवाँ निकालिरहेको थियो ।
बाटोमा हिँडिरहेका अरू विद्यार्थी उनीतिर दौडिए । कसैले घरपरिवारको नम्बर सोध्यो । मुस्किलले बुबाको नम्बर भन्न भ्याइन् । त्यसपछि के भयो ? थाहा पाइनन् । होशमा आउँदा नारायणी अस्पतालको शैयामा थिइन् ।
मैले एक जना फोटो जर्नालिस्ट दाइलाई मुस्कानबारे सुनाएँ। उनले फोटो स्टोरी गर्न उत्साह दिए । अनि, फोनबाटै मुस्कानका बुबाको अनुमति लिएँ । तीन महिनापछि भेट्दा मुस्कान राजधानीको तीनथाना छेउको डेराघरमा थिइन् ।
मलाई थाहा पाउनु थियो, मुस्कान समाजमा कसरी घुलमिल भइरहेकी छिन् ? दैनिकी कसरी चलिरहेको छ ? उनले मोबाइलमा आफ्नो पुरानो फोटो देखाइरहँदा बहिनी दिदीको एसिड लागेको हात हेरेर सुमसुमाउँदै थिइन् । उनलाई छरछिमेकीले पनि माया गर्दा रहेछन् । तेजाबले बनाएको घाउलाई घामबाट बचाउनुपर्दो रहेछ ।
उनमा कसरी आत्मबल भरियो त ? एक दिन एसिडविरोधी अभियानकर्मी उज्ज्वलविक्रम थापा उनलाई भेट्न गएछन् । भनेछन्, ‘तिमी कोठाभित्र लुकेर बस्यौ भने एसिड हान्नेहरूको जित हुन्छ । तिमी हार्छाै । उनीहरूलाई जित्नुछ भने आफैँसँग लड, लुकेर नबस ।’
आफ्नै अनुहारसँग तर्सेर आफूलाई कोठाभित्र कैद गर्नुभन्दा समाजमा घुलमिल हुन थालिन्, मुस्कान । साथी, आफन्तलगायत सबैको सद्भाव र सहयोग छँदै थियो । सायद यतिबेला तेजाबले जलाउन खोज्नेलाई पनि मुस्कानको अनुहारले भतभती पोलिरहेको हुन सक्छ ।
सम्बन्धित
मध्यपहाडी लोकमार्गको यात्रामा रहँदा चिसो सिरोटोले मनै काँप्छ । तर प्रकृतिको सौन्दर्यमा रम्...
मनै लोभ्याउने मध्यपहाडी लोकमार्गको सेरोफेरो
साँझ छिप्पिँदै गर्दा लुम्बिनीस्थित मायादेवी मन्दिर र नजिकैको पुष्करणी पोखरी मधुर बत्तीका क...
लकडाउनमा मनमोहक लुम्बिनी
लकडाउनका बेला सकेसम्म घरबाहिर ननिस्कनु नै उचित सावधानी अपनाउनु हो । तर वरपर ननिस्की धरै छै...
भोकले भुलाएको लकडाउन
कतिपय चरा ओथारो बसिसके । कति भाले आकर्षित गर्न नाचिरहेका छन् । कतिपयले गुँड बनाउने शिल्पी ...
चराको संसारमा लकडाउन छैन
भिक्षु सिङकाङ दैनिक ६ घन्टा समय खर्चेर बुद्ध जन्मस्थलको हेरचाह गरिरहेका छन् । ...