भोकले भुलाएको लकडाउन

डेढ महिना पुग्यो, मुलुक लकडाउनमा बसेको ।
कोरोना संक्रमणका कारण ११ चैत ०७६ देखि सुरु लकडाउन अवधि सरकारले ५ जेठसम्मका लागि पुन: थपेको छ ।
२५ वैशाखसम्म तोकिएको लकडाउन अवधि सकिनु एक दिनअघि काठमाडौँको कपन, कालीमाटी, धोबीखोलादेखि वीर अस्पताल परिसर वरपर सर्वसाधारणको चहलपहल निकै देखिन्थ्यो ।
बिहानै ४ बजे कालीमाटी नियालेर तरकारी किन्नेको लम्बेतान भीड देख्दा मुलुक के साँच्चै लकडाउनमै छ भन्ने लाग्थ्यो । कालीमाटीस्थित थोक बजारबाट तरकारी खरिद गर्न खुद्रा व्यापारीहरू झिसमिसेमै यहाँ आइपुग्छन् ।
तिनै खुद्रा व्यापारीले खरिद गरेका सागसब्जी सहर–बजारका गल्ली, टोलटोलका किराना पसलदेखि ठेलागाडासम्म पुग्छन् । अनि, ती सागसब्जी तपाईं–हाम्रा भान्छामा हाजिर हुन्छन् ।
कपनकी एक महिला ठेलागाडा गुडाउँदै ग्राहकलाई साग बेच्छिन् । लकडाउन कायमै रहे पनि दैनिक खान्कीका सरसामान जोरजाम गर्न वरपर ननिस्की धरै छैन ।
जस्तो, धोबीखोला करिडोर नियाल्दा देखियो– महिला/पुरुष सबैले ज्यान सुरक्षाका खातिर मास्क पहिरिएरै घर बाहिर निस्किएर आवश्यक सरसामान जोहो गरेको ।
लकडाउनका बेला सकेसम्म घरबाहिर ननिस्कनु नै उचित सावधानी अपनाउनु हो ।
कोरोना त्रासकै कारण अस्पतालहरूले त सर्वसाधारण त्यहाँ पुग्दा ज्वरो मापन र मास्क प्रयोग नगरेको भए प्रवेश निषेध गरेका छन् । तर अस्वस्थ भएपछि पुग्ने भनेको अस्पतालै हो ।




