लकडाउनमा लुम्बिनी
लुम्बिनी क्षेत्रमा अरु बेला पर्यटकको ओइरो लाग्थ्यो । तर अहिले यहाँका मन्दिर, विहार, गुम्बा र स्तुप बन्द छन् । तीन वर्ग माइल क्षेत्रफलमा फैलिएको लुम्बिनी क्षेत्रमा सन्नाटा छ ।
लकडाउनले बजार, उद्योग, व्यवसाय, पर्यटन, शिक्षण संस्थादेखि मठमन्दिरहरूसमेत बन्द छन् ।
तर लकडाउनको समयलाई लुम्बिनीमै बासस्थल बनाएका ३० वर्षे भिक्षु फ्रा मोन्त्री सिङकाङले शान्ति र सद्भावमा सदुपयोग गरिरहेका छन् ।
लकडाउनले लुम्बिनी पनि सुनसान छ । कोरोना जोखिमकै कारण अधिकांश भिक्षु–भिक्षुणी, अनागरिका विहार, मोनास्ट्री, टेम्पल, चैत्य र स्तुपाभित्र छन् । हत्तपत्त बाहिर निस्कँदैनन् ।
तर बन्दाबन्दीकै बेला लुम्बिनीस्थित रोयल थाई मोनास्ट्रीका भिक्षु सिङकाङ भने पूजाआजाका लागि एक्लै बाहिर निस्कन्छन् । उनी शान्तिद्वीप नजिकको बेबी बुद्ध, मायादेवी मन्दिर र विश्व शान्ति स्तुपामा परित्रान पाठ, ध्यान र पूजाआजा गर्छन् ।
“संक्रमण जोखिमले सबैमा डरत्रास छ,” उनी भन्छन्, “कोही बाहिर निस्कँदैनन् । जन्मस्थलमै बुद्धको पूजाआजा नहुनु राम्रो होइन । सोही कारण म मोनास्ट्रीबाट एक्लै निस्केर पूजाआजा गरेर फर्कन्छु ।”
कठिन समय पनि बुद्धको पाउ पर्न पाएकामा आफैँलाई भाग्यमानी ठान्ने भिक्षु सिङकाङ यसबाट धार्मिक पुण्य सञ्चय भएको सुनाउँछन् । भन्छन्, “उत्तिकै शान्ति र सद्भावको ऊर्जा प्राप्त गरेको छु ।”
बिहान–साँझ मोनास्ट्रीमा श्रम गर्ने भिक्षु सिङकाङले त्यहाँ हरियाली र मनोरम वातावरण बनाएका छन् ।
“मोनास्ट्री पुग्नासाथ सद्भाव, करुणा र भ्रातृत्वको दिव्य चक्षु पलाउने वातावरण बनाउने काममा व्यस्त छु,” उनी भन्छन्, “ममा पनि आत्मसन्तुष्टि भइरहेको छ ।”
बन्दाबन्दी सुरु भएदेखि नै मोनास्ट्री पूरै बन्द गरिएको र आउजाउसमेत ठप्प पारिएको उनले सुनाए । उनी अगाडि भन्छन्, “भित्र ३/४ जना भिक्षुहरू मात्र छौँ । दुरी कायम गरेर बिहान र साँझ परित्रान पाठ र बुद्धपूजा गर्छौं ।”
त्यसबाहेक उनले मेसिन लगाएरै मन्दिर प्रांगणको घाँस सफाचट् पारेका छन् भने आँगनमा माटोसहितको दुबोका चाक्ला राखेर चिरिच्याट्ट बनाउँदै छन् । त्यसका लागि भिक्षु सिङकाङले दैनिक ६ घन्टा समय खर्चिरहेका छन् ।
यो पनि पढ्नुस
लुम्बिनी क्षेत्रमा अरु बेला पर्यटकको ओइरो लाग्थ्यो । तर अहिले यहाँका मन्दिर, विहार, गुम्बा र स्तुप बन्द छन् । तीन वर्ग माइल क्षेत्रफलमा फैलिएको लुम्बिनी क्षेत्रमा सन्नाटा छ ।