मनै लोभ्याउने मध्यपहाडी लोकमार्गको सेरोफेरो

पूर्व पाँचथरको चियोभन्ज्याङबाट पश्चिम बैतडीको झुलाघाटसम्म तन्किएको १७ सय ६५ किलोमिटर लामो राष्ट्रिय गौरवको निर्माणाधीन आयोजना मध्यपहाडी लोकमार्गले २४ पहाडी जिल्ला जोड्छ । यसमध्ये १ सय २३ किलोमिटर रुकमपूर्व र पश्चिमको क्षेत्रभित्र पर्छ ।
पश्चिम चौरजहारीबाट भेरीको तीरैतीर सदरमुकाम मुसीकोट खलंगालाई छोएर यो मार्ग पूर्वको सदरमुकाम रुकुमकोट हुँदै भूमेको पाथिहाल्ना पुगेर बाग्लुङसँग जोडिन्छ ।
उत्तर–पूर्वतिर रहेका विभिन्न हिमालहरूको दृश्यावलोकन गर्दै खोला अनि खहरे र मानव बस्ती छिचोल्दै यो मार्गमा यतिबेला यात्रा गर्नुको मज्जा नै बेग्लै । तर लकडाउनका कारण यो मार्ग यतिबेला सुनसान छ ।
कोरोना संक्रमणको त्रास बढेसँगै सरकारले जारी गरेको लकडाउनपछि यो सडक खण्डमा निर्माणको काम अहिले ठप्प छ । अत्यावश्यकबाहेकका सवारी साधन फाट्टफुट्टबाहेक चलेका छैनन् ।
यात्राका क्रममा हिउँदे खेती भित्र्याउन र बर्खे खेती लगाउन श्रम पोखिरहेका किसानहरूको व्यस्तता र सुनसान वनमा चराहरूको चिरबिर आवाज अनि वसन्ती वनसँगको अन्तरंगले छुट्टै आनन्दानुभूति दिलाउँछ ।
अघिल्ला वर्षहरूजस्तो यसपालि वैशाख पार हुँदासम्म पनि गर्मीको खासै अनुभव हुन सकेको छैन । मध्यपहाडीको यात्रामा रहँदा चिसो सिरोटोले मनै काँप्छ । तर प्रकृतिको सौन्दर्यमा रम्न पाएपछि यी सब अनुभव बेपर्वाह बनिदिन्छन् ।
लकडाउनका कारण लोकमार्ग यात्रामा रम्न त तत्काल सम्भव छैन । तर अवस्था सामान्य भएपछि भने यही बाटो भएर संघीय राजधानी काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै पश्चिम नेपालको यात्रा गर्ने यो नयाँ रुट हो ।
लकडाउनको समाचार बटुल्ने क्रममा रुकुम पश्चिम सदरमुकाम मुसीकोटबाट पूर्वको सदरमुकाम रुकुमकोटसम्मको यात्राका क्रममा खिचिएका मध्यपहाडी लोकमार्ग र आसपासका केही मनै लोभ्याउने तस्बिरहरू :














