दुई साता क्वारेन्टाइनमा बस्नु सजिलो कहाँ छ र ! त्यहाँ कसरी समय कटाउने ? धेरैलाई तनाव छ । य...
क्वारेन्टाइनमा मनोपरामर्शदेखि नाचगानसम्म
लकडाउनको लामो समयपछि भारतबाट घर फर्केका हजारौँ मानिसहरू अहिले बाटोमै क्वारेन्टाइनलाई नै थातथलो बनाएर बस्नु परेको छ । घर कहिले पुग्ने, टुंगो छैन । रोग र भोगको त्रासका बीच उनीहरूलाई क्वारेन्टाइन नबसी सुखै छैन ।
दुई साता बढी क्वारेन्टाइनमा बस्नु सजिलो कहाँ छ र ! त्यहाँ कसरी समय कटाउने ? धेरैलाई तनाव छ ।
घोराही उपमहानगर– १४ स्थित क्वारेन्टाइनलाई बास बनाएका मानिसहरू यतिबेला योगा, नाचगान र शारीरिक अभ्यास गरेर तनावमुक्त हुने उपाय गरिरहेका छन् ।
घोराही– १४ स्थित शुभप्रभात मावि र बालविकास माविको क्वारेन्टाइनमा रहेका महिला/पुरुष दिनहुँ नाचगानदेखि योगासम्म गरेर समय कटाइरहेका छन् ।
“लामो समय कोठाभित्र बस्दा पट्यार लाग्छ । चिन्ता हुन्छ,” क्वारेन्टाइनमा रहेका घोराही– १४ का शंकर नेपाली भन्छन्, “योगा, नाचगान र शारीरिक व्यायाम गर्दा समय कटाउन सहज भएको छ ।”
शुभप्रभात माविमा १८ महिला र बालविकास माविमा बनाइएका क्वारेन्टाइनमा १९ पुरुषहरू बसेका छन् । तिनका छुट्टाछुट्टै ब्लक छन् । क्वारेन्टाइनमा बसेकाहरूलाई नियमित मनोपरामर्श र व्यायाम सिकाउँदै आएको घोराही– १४ कि स्वास्थ्य संयोजक राधा पौडेल बताउँछिन् ।
भन्छिन्, “लामो समय थुनिएर बस्दा तनाव बढी हुन्छ । क्वारेन्टाइनमा खट्ने स्वास्थ्यकर्मीलाई पनि मनोविमर्श गरिरहेका छौँ । तनाव व्यवस्थापन सम्बन्धमा सबैलाई सिकाइरहेका छौँ ।”
क्वारेन्टाइन स्थलमा योगगुरु प्रेम शाहले योगका विभिन्न तरिकाहरू सिकाइरहेका छन् । “योगले मनमा स्फुर्ती ल्याएर तनावबाट मुक्ति दिन्छ,” शाह भन्छन्, “क्वारेन्टाइनमा बस्नेहरूका लागि त यो झनै उपयोगी छ । यसले मनोबल बढाउन सहयोग पुर्याउँछ ।”
जिल्लाका विभिन्न क्वारेन्टाइनमा पुगेर योगासन र संगीत चिकित्सा सिकाउनुका साथै आयुर्वेदका रोग प्रतिरोधी औषधीहरू पनि वितरण गरिरहेको राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका प्रमुख डा मदन बिसी सुनाउँछन् ।
महिला, बालबच्चालाई छुट्टै बास
घोराही उपमहानगर– १४ ट्राफिक चोकका सोमे विक गत १७ जेठमा भारतको हरियाणाबाट तीन छोराछोरी र श्रीमतीसहित घोराही आइपुगे । स्वदेश फर्किएपछि पनि आफ्नो मूलघर जान पाएनन् । उल्टै सँगै आएका श्रीमती र छोराछोरीसमेत छुट्टिए ।
कोरोना संक्रमणको जोखिम हुन सक्ने भएकाले उनीहरू वडा कार्यालयले निर्माण गरेको क्वारेन्टाइनमा बसेका छन् । क्वारेन्टाइनमा लैंगिक हिंसा हुन सक्ने भन्दै घोराही उपमहानगर– १४ ले महिला र बालबालिकालाई राख्ने छुट्टै क्वारेन्टाइन बनाएको छ । सोही कारण विकको परिवार छुट्टिनु परेको हो ।
घोराहीस्थित शुभप्रभात माविमा महिला तथा बालबालिका र बालविकास माविमा पुरुषलाई राखिएको छ । भारतबाट सँगै आएका श्रीमान्, श्रीमती र बालबालिकासमेत क्वारेन्टाइन पुग्दा छुट्टिएका छन् ।
“भारतमा व्यापार भएन । अरू काम पनि पाइएन । खान र कोठा भाडा तिर्न गाह्रो भएपछि नेपाल फर्किएँ,” विक गुनासो पोख्छन्, “२१ जना गाडी रिजर्भ गरेरै आयौँ । अब घर पुगिएला भन्ने बेला फेरि क्वारेन्टाइन बास भएको छ ।”
लामो समयपछि नेपाल आएकाले उनीसँग नेपाली सिमकार्ड छैन । अर्को क्वारेन्टाइनमा रहेका श्रीमती र छोराछोरीसँग फोनमा समेत गफिन पाएका छैनन् ।
भारतको लखनउबाट आएका घोराही– १४ खोलीगाउँका शंकर नेपाली पनि श्रीमती र तीन छोराछोरीलाई अर्को क्वारेन्टाइनमा छाडेर एक्लै बसेका छन् । भन्छन्, “छोरा फोन गरेर रुन्छ । मलाई लिन आउनुस् भन्छ । तर के गर्नू ! सुरक्षाका कारणले यताउता गर्न मिल्दैन ।”
क्वारेन्टाइन बसाइमा परिवारका महिला, पुरुषलाई छुट्टै राख्दा लैंगिक तथा बाल हिंसाको जोखिम कम हुने अधिकारकर्मी विकिरण गौतम सुनाउँछन् ।
महिला र बालबालिका सुरक्षालाई लक्षित गरी छुट्टै क्वारेन्टाइन व्यवस्था गरिएको घोराही उपमहानगर– १४ का अध्यक्ष शक्तिराम डाँगी बताउँछन् । “महिला र बालबालिकालाई सुरक्षित ठाउँमा राखिनुपर्छ । पुरुषहरू भएको ठाउँमा राख्दा हिंसाको जोखिम हुन सक्छ,” डाँगी भन्छन्, “हामीले अग्रिम सतर्कता अपनाएका छौँ ।”
अहिले जिल्लामा निर्माण गरिएका १ सय ६५ क्वारेन्टाइनमा ४ हजार ५ सय ४३ जना बसिरहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । तीमध्ये ५ सय ९४ महिला छन् ।
सम्बन्धित
मध्यपहाडी लोकमार्गको यात्रामा रहँदा चिसो सिरोटोले मनै काँप्छ । तर प्रकृतिको सौन्दर्यमा रम्...
मनै लोभ्याउने मध्यपहाडी लोकमार्गको सेरोफेरो
साँझ छिप्पिँदै गर्दा लुम्बिनीस्थित मायादेवी मन्दिर र नजिकैको पुष्करणी पोखरी मधुर बत्तीका क...
लकडाउनमा मनमोहक लुम्बिनी
लकडाउनका बेला सकेसम्म घरबाहिर ननिस्कनु नै उचित सावधानी अपनाउनु हो । तर वरपर ननिस्की धरै छै...
भोकले भुलाएको लकडाउन
कतिपय चरा ओथारो बसिसके । कति भाले आकर्षित गर्न नाचिरहेका छन् । कतिपयले गुँड बनाउने शिल्पी ...
चराको संसारमा लकडाउन छैन
भिक्षु सिङकाङ दैनिक ६ घन्टा समय खर्चेर बुद्ध जन्मस्थलको हेरचाह गरिरहेका छन् । ...