कतै पेसा लेख्नुपरे के लेख्ने ?

पेसाले किरियापुत्री हुन्, नवराज बडाल । आफन्त गुमाएका शोकसन्तप्त परिवारका लागि यी २४ वर्षे युवा नौ वर्षयता किरियापुत्री बस्दै आएका छन् । सन्तान नभएका वा बस्न नसक्नेका लागि निश्चित रकम दिएर यस्ता किरियापुत्री नियुक्त गर्ने चलन छ । यसरी पैसा लिएर किरिया बसिदिने पेसामा आम्दानी राम्रो भए पनि समाजले सहज रूपमा स्वीकारेको अवस्था भने छैन ।
हिन्दु परम्पराअनुसार मृत्यु संस्कार राम्ररी गरे पितृको स्वर्गबास हुन्छ भन्ने मान्यता छ । किरियापुत्री बस्ने व्यक्ति आफैँले खाना तयार पार्ने, नुन बार्ने र १३ दिनसम्म कसैलाई छुनुसमेत नहुने नियम छ । बडाल भन्छन्, “मलाई बिहेका लागि केटी पाउन पनि गाह्रो भएको थियो । अहिलेसम्म थाहा छैन, कतै पेसा लेख्नुपर्यो भने के लेख्ने ?”
यो पेसाप्रति बडालको झुकाव हुनुको मुख्य कारण आर्थिक लाभ नै हो । शोक पनि कसैका लागि नाफा कमाउने पेसा हुन सक्छ ? परम्परा र आधुनिकताबीच यही कुराको द्वन्द्व देखिन्छ । यस्तो परम्पराले शोक त हस्तान्तरण गर्न सकिएला तर के मनभित्रको दु:ख–पीडा हस्तान्तरण हुन सक्ला ?
(प्रस्तुत तस्बिर कथाले फोटो जर्नालिस्ट क्लबद्वारा हालै आयोजित नेपाल फोटो प्रतियोगिता ०७६ को फोटो स्टोरी विधामा दोस्रो स्थान हासिल गरेको थियो ।)










