अस्पताल छन्, विश्वास छैन
नसा रोगपीडित बुटवल-११ का महेन्द्रप्रसाद श्रेष्ठ, ४८, तीन वर्षदेखि भारतको गोरखपुरमा उपचार गराइरहेका छन्।
टाउको दुख्ने, रिँगटा लाग्ने र बेहोस हुने समस्याबाट पीडित सीता सापकोटा, ४३, ले पनि बुटवलका लुम्बिनी अञ्चल अस्पताल हुँदै पाँचवटा निजी अस्पतालमा दुई वर्षसम्म उपचार गराइन्। भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा समेत तीनपटक जचाइन्। तर, रोग निको नभएपछि आफन्तको सुझावमा दिल्लीको एम्स अस्पताल गइन्। यहाँ टाउको र आँखाका कारण समस्या भएको भन्दै औषधी खाएकी उनले त्यहाँ गएपछि आफू खासमा मुटुको रोगी रहेको थाहा पाइन्।
रूपन्देही जिल्लामा निःशुल्क, प्राथमिक र अति आवश्यकीय उपचार सेवाका लागि ६ प्राथमिक स्वास्थ्य केन्द्र, पाँच सहरी स्वास्थ्य केन्द्र, २६ स्वास्थ्य चौकी र ३८ उपस्वास्थ्य चौकी छन्। लुम्बिनी अञ्चल अस्पताल र लुम्बिनी आयुर्वेद औषधालय गरी दुईवटा अञ्चल अस्पताल छन्। भैरहवामा भीम अस्पताल र युनिभर्सल मेडिकल कलेज छन्। विशेषज्ञ सेवाका लागि बुटवलमा सामुदायिक मुटु अस्पताल र सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा छन्। यीबाहेक एक नर्सिङ होम र १२ वटा निजी अस्पताल छन्। स्वास्थ्यका हिसाबले रूपन्देही लुम्बिनी र राप्ती अञ्चलको केन्द्र हो। १४ जिल्लाबाट ठूलो संख्यामा बिरामी बुटवल र आसपासका अस्पतालमा आइपुग्छन्।
यति धेरै स्वास्थ्य संस्था हुँदा पनि यहाँ मुटुरोग, नसा, मधुमेह र मिर्गौलासम्बन्धी विशेषज्ञको अभाव भएकाले थुप्रै बिरामी उपचारका लागि काठमाडौँ र भारतका दिल्ली र गोरखपुर जान बाध्य भएको रूपन्देही औषधी व्यवसायी संघका अध्यक्ष सुनील श्रेष्ठ सुनाउँछन्। त्यसो त विशेषज्ञ चिकित्सक भए पनि गोपनीयता नरहने र अस्पताल तथा चिकित्सकहरूले दिने सेवा भरपर्दो नभएकाले धेरै बिरामी उपचारका लागि भारतीय सहर जाने गरेका छन्।
महिनावारीबाहेकको समयमा पनि रगत बग्ने समस्याले पीडित बुटवल-७ की कमला श्रेष्ठ, ३९, अहिले गोरखपुरको गीतावाटिका अस्पतालमा पाठेघरको उपचार गराइरहेकी छन्। भन्छिन्, "कहिले बुटवल, कहिले भैरहवा गर्दा रकम र समय मात्रै बर्बाद भयो। दिक्क भएका बेला गोरखपुर गएपछि भनेजस्तो सेवा पाइयो।"
यहाँका अस्पतालमा उच्च प्रविधिको सेवा छैन। भएका प्रविधिको उचित व्यवस्थापन गर्ने मापदण्डका अस्पताल भवन छैनन्। दक्ष जनशक्ति पनि जोखिम मोलेरै काम गर्न बाध्य छन्। "एकबाट अर्को अस्पताल रेफर हुनुपर्ने, त्रुटिका सम्भावना हुने, विशेषज्ञसँग उपचार गराउँदा समय बढी लाग्ने समस्या पनि छन्," स्वास्थ्य क्षेत्रमा कार्यरत संस्था नमुना एकीकृत विकास परिषद्की अध्यक्ष ज्ञानु पौडेल भन्छिन्, "विपन्न र मध्यमवर्गीय भने सरकारी स्वास्थ्य केन्द्रसम्म पहुँच नहुँदा बाहिरिएका छन्।"
अधिकारकर्मी विजयलक्ष्मी राय सरकारी अस्पतालमा सेवा नहुने र निजीमा महँगो पर्ने भएकाले उपचारका लागि भारतीय सहरमा जाने बाध्यता रहेको बताउँछिन्। जस्तो ः भैरहवामा रहेको जिल्लास्तरीय भीम अस्पतालमा चार जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहे पनि डा मनोहर जोशी मात्रै छन्। अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट पनि भएकाले उनीबाट नियमित उपचार सेवा सम्भव छैन।
बिरामीको सेवालाई आफ्नो कर्तव्य नठान्ने नर्स र निजी क्लिनिकलाई मात्र बढी समय दिने चिकित्सकका कारण केही अपि्रय घटनासमेत भएका छन्। त्यसको पछिल्लो उदाहरण बनिन्, बुटवल-५, ज्योतिनगरकी सम्झना गुरुङ। नर्सले समस्याबारे समयमै चिकित्सकलाई खबर नगर्दा बुटवलको लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेजमा सुत्केरी हुन आएकी उनको फोक्सोमा रगत जमेर मृत्यु भयो। त्यस्तै सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा, बुटवलले उपचाररत नाबालकको सट्टा मृत बालिका दिँदा रूपन्देही, गोनाहाका विद्या हरजिन र कन्हैया हरजिनले मानसिक पीडा खेप्नुपर्यो। गत १ माघमा लुम्बिनी अञ्चल अस्पताल परसिरबाटै कपिलवस्तु, वीरपुरका परमात्मा र राममति हरजिनको आठ दिनको छोरा हराए।
लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा तारानाथ पौडेल संक्रमणकालका कारण अन्यत्रजस्तै स्वास्थ्य क्षेत्रमा पनि विश्वासको संकट र विचलन देखा परेको बताउँछन्। भन्छन्, "सबैले आफ्नो कर्तव्य र जिम्मेवारी सम्झने हो भने मानवीय त्रुटिका संवेदनशील घटना कम हुन्छन्। स्थानीयलाई पनि विश्वासमा लिन सकिन्छ।"
सम्बन्धित
जलवायु परिवर्तन र व्यवस्थापनको लापरबाहीका कारण कोरोनालगायत संक्रामक भाइरसको जोखिममा नेपाल ...
बढ्दै छ संक्रामक भाइरसको सन्त्रास
सरकारले कहिले लैजाने हो ? हामी कुरेर बसिरहेका छौँ ।...
चीनमा काेराेना सन्त्रास भाेगिरहेकी पत्रकार भन्छिन् – सरकार कुर्दैछौँ
कुनै भ्याक्सिन या औषधी नै नबनेको कोरोना भाइरसबाट बच्ने उपायहरू...
कसरी बच्ने कोरोना भाइरसबाट ?
दाल, भात पनि पत्रु खाना हुन सक्छ भनेर कोही व्यक्तिले गलत भनेका छन् । तर दाल, भात पत्रु होइ...
पत्रु र स्वस्थकर खानाको बहस
चाउचाउले दिँदैन पोषण...
पत्रु खान्कीको पासो
राज्यले तोकेभन्दा बढी शुल्क उठाइरहेका ७ मेडिकल कलेज सञ्चालकविरुद्ध विद्यार्थी आन्दोलन चर्क...