सेवाको सफलता
अस्ट्रेलियाको मेलबर्नस्थित मोनास युनिभर्सिटीकी छात्रा सेवा रिजालले क्यान्सर रोगसम्बन्धी अनुसन्धानमा एक गहन सफलता हात पारिन् ।

उनको अनुसन्धान अधिकांश ल्युकेमिया बिरामीमा किन किमोथेरापी प्रभावशाली हुन सक्तैन भन्नेमा केन्दि्रत छ । अनुसन्धानले ल्युकेमिया बिरामीमा आईएनपीपी फोर-बी नामक प्रोटिनको मात्रा बढी भएको खण्डमा किमोथेरापी प्रभावकारी नहुने तथ्य सार्वजनिक गरेको छ । यो अनुसन्धानमा उनकी निर्देशक थिइन्, त्यही विश्वविद्यालयकी मेडिकल डिन प्रोफेसर क्रिस्टिना मिचेल र डा एन्ड्रयु वे । सहयोगीका रूपमा चाहिँ अरू १० विद्यार्थी थिए ।
यो अनुसन्धानको फाइदा ल्युकेमियाका बिरामीलाई के हुन्छ त ? सेवा भन्छिन्, "यो अनुसन्धान व्यावहारिक रूपमा आइसकेपछि चिकित्सकलाई उपचार पद्धतिमा निर्णय लिन सहज हुन्छ ।" कुन बिरामीमा उल्लिखित प्रोटिनको मात्रा कति छ भनेर थाहा भइसकेपछि त्यही किसिमको उपचार गर्न सहज हुन्छ । "हामीले यो प्रोटिन बढी भएको खण्डमा किन उपचार प्रभावकारी हुँदैन र यसका कारण के के हुन सक्छ भनेर अनुसन्धान सुरु गरिसकेका छौँ," सेवा भन्छिन्, "यसको तथ्य सार्वजनिक गर्न सकियो भने रोग निवारणमा प्रभावकारी अन्य उपचार पद्धति पत्ता लगाउनसमेत सहज हुनेछ ।"
काठमाडौँ, बत्तीसपुतलीमा जन्मिएकी सेवाले भविष्यमा यही गर्छु भनेर केही काम गरिनन् । सेन्ट मेरिज स्कुलमा ५ कक्षासम्म, रातो बंगला स्कुलमा 'ओ लेभल' र बूढानीलकण्ठ स्कुलमा 'ए लेभल'को अध्ययन सकेर उनी १० वर्षअघि उच्च शिक्षाका लागि अस्ट्रेलिया आएकी थिइन् । यहाँको मोनास युनिभर्सिटीमा बायोमे डिकल साइन्स पढ्न आएकी उनी आखिरमा त्यही युनिभर्सिटीकी गौरव बन्न पुगेकी छन् । हजुरबुबा पहिलो नेपाली न्युक्लियर वैज्ञानिक बलराम जोशी र हजुरआमा पद्मकन्या क्याम्पसकी पहिलो प्रिन्सिपल अंगुरबाबा जोशीको प्रेरणाले समेत आफूलाई यो क्षेत्रमा लाग्न सहयोग पुगेको उनको भनाइ छ ।
त्यसो त अनुसन्धानका क्रममा घन्टाँैसम्म प्रयोगशालामा बसेर अनुसन्धान गर्दासमेत केही उपलब्धि हासिल नभएपछि सेवा बीचमा हतास भएकी थिइन् । तर, युनिभर्सिटीले जेहेनदार विद्यार्थीलाई उपलब्ध गराउने प्रयोगशालाको जागिर, परिवार र साथीभाइको प्रोत्साहन र केही गर्छु भन्ने अठोटले आफूलाई सफल बनाएको उनको निष्कर्ष छ ।
के हो ल्युकेमिया ?
रक्त क्यान्सर अर्थात् ल्युकेमिया विश्वमा धेरैको ज्यान लिनेमध्ये एक रोग हो । यसको 'सर्भाइभल रेट' (बाँच्ने आयु) पाँच वर्ष मात्र छ, त्यो पनि ५० प्रतिशतमा । अस्ट्रेलियाको नेसनल क्यान्सर इन्स्टिच्युटको तथ्यांक अनुसार सन् २०१४ मा मात्रै ५२ हजार ३ सय ८० जना ल्युकेमियाका नयाँ बिरामी थपिएका छन् । क्यान्सर रोगबाट हुने मृत्युमा यो रोग करिब पाँच प्रतिशतमा आउँछ । यस रोगबाट उपचारका बाबजुद सन् २०१४ मा २४ हजार ९० बिरामीले मृत्युवरण गर्नुपरेको छ ।