‘निर जहिल्यै रिसाउनी...’ गायकलाई ११ प्रश्न
"मौलिक कुरालाई मैले आधुनिक शैलीमा पस्किएँ ।"

कालीप्रसाद बास्कोटा र ‘निर जहिल्यै रिसाउनी...’, ‘पारि त्यो डाँडामा.....’ र भर्खर चर्चामा आएको ‘ठमेल बजार’जस्ता गीत पर्यायवाचीजस्तै बनेको छ, चर्चाका हिसाबले । आफैँले गाएका र संगीत भरेका यी गीतबाहेक उनले पाँच दर्जन गीतमा सांगीतिक धुन दिएका छन् । दुई वर्षयता उनको गायन र संगीत भाइरलमय भइरहेको छ । सांगीतिक क्षेत्रमा चर्चाको केन्द्रमा रहेका बास्कोटासँग गरिएको कुराकानी :
एकपछि अर्को गीत हिट हुनुको खास कारण के हो ?
मिहिनेत र इमानदारी ।
होइन, गीतभित्र चाहिँ त्यस्तो के छ, जसले यो उचाइ प्राप्त भयो ?
मौलिक कुरालाई मैले आधुनिक शैलीमा पस्किएँ । अर्को कुरा मैले संगीत दिएका र गाएका गीतमा जटिलताबाट सरलतातिर लगेको छु । यो नै सफलताको सूत्र भने पनि हुन्छ । संगीत र गीत सबैले बुझ्ने हुनुपर्छ भन्ने स्थापित मान्यतालाई मैले प्रयोग गरेको मात्र हुँ ।
कतिवटा गीतमा संगीत दिनुभएको छ ?
पुगे होलान् ६० वटाजति ।
तर, आमरूपमा चिनिन त गायक नै बन्नुपरेछ होइन ?
हो । गायकसँग तुलना गर्दा संगीत दिने व्यक्ति सजिलै श्रोता, दर्शकमाझ चिनिँदैन । तर, गम्भीर किसिमका श्रोताले संगीत र शब्द कसको हो भन्ने पनि ध्यान दिइरहेका हुन्छन् । म आफूले गीत गाउनुभन्दा अघि पनि यस्ता व्यक्तिहरूको ठूलो भरथेग थियो ।
संगीतकार किन जहिल्यै छायामा पर्दोरहेछ ?
यस्तो संसारभर नै हुन्छ । जे कुरा अगाडि देखिन्छ, त्यही मात्रै ध्यान दिने र विश्वास गर्ने बानीले यस्तो भएको हो । गीत हिट हुन राम्रो स्वर हुनैपर्छ । तर, त्यतिले मात्रै हुँदैन । संगीत, शब्द पनि उत्तिकै बेजोड चाहिन्छ भन्ने चाहिँ धेरैले ख्याल गर्दैनन् ।
तपाईंले संगीत दिएका पुरानो डुंगा, लुट टूलगायत फिल्मका गीत भाइरल भए । भनेपछि आमरूपमा चिनिनका लागि फिल्मकै सहायता लिनुपर्ने रहेछ होइन ?
फिल्मका मेरा गीत हिट भए आफ्नो ठाउँमा छ । तर, आफू स्थापित हुन फिल्मको भन्दा एल्बमकै भूमिका बढी हुन्छ । किनभने, फिल्ममा दर्शकले हिरो–हिरोइनलाई बढी ध्यान दिएका हुन्छन् । गीत कसले गायो, कसले संगीत दियो भन्ने मतलब हुँदैन । त्यसैले गायक–संगीतकार छायामा पर्ने जोखिम हुन्छ ।
तर, तपाईंको चिनारी त फिल्मकै गीतले बढायो नि ?
सायद, मेरो सबल पक्ष नै यही हो । गीतमा प्रयुक्त नयाँ शैलीले यस्तो भयो । जुन अपवाद हो ।
फिल्म र एल्बमका लागि गाउनु, संगीत दिनुमा के फरक हुन्छ ?
फिल्म बढी चुनौतीपूर्ण हुन्छ । गीत एकातिर फिल्मको कथावस्तुसँग मिल्ने हुनुपर्यो भने अर्कोतिर त्यो कमर्सियल पनि हुनुपर्यो । एल्बममा यी कुराको मतलब हुँदैन ।
फिल्ममा गीत गाउँदा र संगीत दिँदा तपाईंलाई के फाइदा भयो ?
मैले आफ्नो क्षेत्रमा परिपक्वता हासिल गरेजस्तो लाग्छ । परिस्थिति अनुसार तत्कालै गाउने र संगीत दिन सक्ने बनायो मलाई ।
गीत भाइरल भएपछि देश–विदेश घुम्न भ्याइनभ्याइ छ होइन ?
हो । मलाई गीतले नै संसार घुमायो । तर, जति नै अफर आए पनि तीन–चार महिना तयारी गर्ने समय पाइन भने म जान्नँ । थोरै तर राम्रो काम गर्नेमा म सम्झौता गर्दिनँ ।
अब आफ्नो यही शैलीलाई स्थापित गर्ने हो कि नयाँ धारमा जाने हो ?
सिर्जना हो, किटान गर्न सकिँदैन । यति हो, जटिलताबाट सरलतातिर जाने मेरो आधारभूत मान्यता छोड्दिनँ, शैली जुनसुकै अपनाए पनि ।