प्रधानमन्त्रीले संविधान कुल्चिनुभयो, हामी लड्छौँ
आफूखुसी चल्ने शैलीलाई निरन्तरता दिँदै प्रधानमन्त्रीले गलत काम गर्नुभयो । यो बेमौसमी बाजा हो, जसलाई बज्नै दिनुहुन्न । तत्काल फिर्ता लिनुपर्छ ।
यो सबै पदको झगडा हो । नेताहरूमा धैर्य छैन । महाधिवेशन र अर्को चुनाव पर्खिन नसक्नेले जनतालाई स्थिरता दिन्छु भन्न मिल्दैन ।
नेपालका अधिकांश कम्युनिस्ट कार्यकर्ताका राजनीतिक गुरु, मोदनाथ प्रश्रित । आज जेठ ३ मा मदन भण्डारी र जीवराज आश्रितको सम्झना हुनेगर्छ । मदन भण्डारीलाई मोरङ इटहरास्थित घरैमा गएर राजनीतिमा आउन करबल गर्ने व्यक्तिसमेत उनै प्रश्रित हुन् ।
प्रश्रितको प्रशिक्षण पाएर, अनि प्रगतिशील साहित्य पढेर कम्युनिस्ट हुने संख्यासमेत ठूलो छ । पूर्वएमालेको स्कुल विभागका प्रमुखका रूपमा उनले त्यसबेलाका ७५ मध्ये ७२ जिल्लामा पार्टी प्रशिक्षण चलाएका थिए । उमेरहदको मान्यता पार्टी नेतृत्वको हकमा लागु हुनुपर्ने भन्दै आएका प्रश्रितले त्यसै कारणले एमालेको आठौँ महाधिवेशन ०६५ मार्फत् सक्रिय राजनीति त्यागेको घोषणा गरेका थिए ।
महामारीका बेला असान्दर्भिक सत्ता विवादमा अलमलिएको नेकपा नेतृत्वलाई नजिकैबाट नियालिरहेका छन् प्रश्रित । उनी नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूले आउँदो महाधिवेशनमा दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राख्छन् । उनै प्रश्रितलाई जनक नेपालका प्रश्नहरू :
एमाले–माओवादी केन्द्र एकताको दुई वर्ष पुगेको छ । एकीकृत पार्टी कस्तो लागिरहेको छ ?
पार्टीका धेरै गतिविधि मलाई थाहा छैन । राजनीति छाडिसकेपछि धेरै चासो राखिराख्ने कुरा पनि भएन । वाम राजनीतिका दुई धार मिलेका छन् । त्यसैमा सन्तोष छ । वैचारिक रूप मिल्न त केही समय लाग्छ नै ।
पार्टीमा देखिएको पछिल्लो विवादलाई कसरी हेर्नुभएको छ ?
यो सबै पदको झगडा हो । नेताहरूमा धैर्य छैन । महाधिवेशन र अर्को चुनाव पर्खिन नसक्नेले जनतालाई स्थिरता दिन्छु भन्न मिल्दैन । ओलीजी र प्रचण्डजीले आधा–आधा समय प्रधानमन्त्री हुने एवं मिलेर पार्टी चलाउने भनेरै एकता गर्नुभएको थियो । पछि स्थिरताका लागि ओली पाँचै वर्ष प्रधानमन्त्री बन्ने कुरा आयो । अब मिलेर सरकार र पार्टी चलाए भयो । यसमा विवाद गर्नुपर्ने के छ ?
तर प्रधानमन्त्री ओली एक्लै हिँड्नुभयो भनेर आलोचना भइरहेको छ । त्यस्तो लाग्दैन ?
सत्तामा पुगेपछि नेताहरूको दूरी बढ्छ । सत्तामा हुनेलाई मलाई फाल्छन् कि भन्ने डर छ । बाहिर हुनेलाई ओली रहँदासम्म पछि परिरहिने भइयो भन्ने चिन्ता छ । नेताहरूले एकअर्काको विश्वास जित्न सक्नुपर्छ । त्याग र बलिदान गरेका कार्यकर्तालाई सम्झेर पनि नेताहरू एक ठाउँ उभिनैपर्छ ।
यो पनि पढ्नुस
आफूखुसी चल्ने शैलीलाई निरन्तरता दिँदै प्रधानमन्त्रीले गलत काम गर्नुभयो । यो बेमौसमी बाजा हो, जसलाई बज्नै दिनुहुन्न । तत्काल फिर्ता लिनुपर्छ ।
गुटबन्दीले पार्टीमा विवाद ल्याएको हो ?
गुटबन्दी त सधैँ हुन्छ । वल्लो र पल्लो पसलेले प्रतिस्पर्धा गर्छन्, मिलेर कमाउँछन् पनि । तर राजनीतिमा त्यतिसम्म आत्मीयता पनि हुन छाड्यो । यहाँ त एकले अर्कोलाई उछिन्छ भन्ने डर छ । एउटाका विरुद्ध अर्कोले गुटबन्दी गरिरहेको छ । पदका लागि नेता जेजस्तो गुटबन्दी गर्न पनि तयार छन् ।
गुटबन्दी नगर्न त उच्च स्तरको अग्लो नेता हुनुपर्छ, गान्धी वा माओजस्तो । सबै गान्धी बन्न सक्दैनन् । पुष्पलाल श्रेष्ठ कहिल्यै सत्तामा पुग्नुभएन तर सम्मानित नै हुनुहुन्छ । मनमोहन अधिकारी एकपल्ट ९ महिना प्रधानमन्त्री हुनुभयो । अहिले सत्तामा पुग्न आफ्नै त्याग, संघर्ष र क्रान्ति बिर्सेर नेताहरू जुधिरहेका छन् । नेकपाभित्रको गुटबन्दी सत्ता केन्द्रित छ । पुराना पार्टीका गुटबन्दी बोकेर नयाँ पार्टी बन्दैन । नेताहरूले त्यो नबुझ्दासम्म पार्टी बलियो पनि हुन्न, समाजवादतिर पनि लागिन्न ।
दुई अध्यक्षले पार्टी हाँक्न नसक्नुभएको हो ?
ओलीजी र प्रचण्डजीका आ–आफ्नै विशेषता छन् । एउटा लामो जेल परेको, अर्को युद्धबाट आएको नेता हो । वैचारिक संघर्ष पनि चर्कै भयो । तर उहाँहरूले नै पार्टी एकता गर्नुभयो । जुन स्तरको आत्मीयता हुनुपर्ने हो, त्यो देखिएन । दुई नेता मिलेर अघि बढेको भए पनि पार्टी एकताले गति लिन्थ्यो । अविश्वास त छ तर छुट्टिने तहमा पुगेको छैन ।
नेकपामा बिग्रेकोचाहिँ के हो ?
नेताहरूले धैर्य गुमाएका हुन् । सबैलाई तुरुन्तातुरुन्तै प्रधानमन्त्री चाहिएको छ । पार्टी अध्यक्ष चाहिएको छ । ओलीजीको स्वास्थ्यले साथ दिएन । उहाँले आफैँले छाडिदिनुभएको भए पनि हुन्थ्यो । छाड्नु भएन । ठूलो अपरेसन गरेर अहिले त सक्रिय हुन थालिहाल्नुभयो । स्वास्थ्यले साथ दियो भने ओलीलाई नै पाँच वर्ष चलाउन दिए हुन्छ । अरू नेताहरूले सघाए हुन्छ । पार्टी बलियो रह्यो भने फेरि पालो आइहाल्छ नि ।
यो पनि पढ्नुस
सबैभन्दा कम कमजोरी भएको नेता छान्ने हो भने माधव नेपाल हो । माधव नेपालमा मान्छे समातेर राख्ने, बाँधेर राख्ने क्षमता छ ।
ओली पार्टी र सरकार चलाउन असफल भएकाले उनको विकल्प खोज्नुपर्छ भन्ने आवाज पार्टीभित्रै उठ्यो नि ?
विकल्प को ? प्रचण्डजीले पाँचै वर्ष ओलीले चलाउने भनेर दिएको होइन ? माधवजी र वामदेवजीले पाँच वर्ष धैर्य गर्न नसक्ने ? वामदेवजीको अध्ययन कम भए पनि आँट छ । हामीले नै संगठित गरेको नेता हो । पार्टी संगठनमा कुशलता छ । किसानको हलो जोतेर जनताको मायाले उठेको नेता हो । तर चुनाव हारेपछि चोरबाटो खोजेर प्रधानमन्त्री बन्ने लोभ देखाउनु भएन । अहिले त जिल्ला फर्केर जनताको मन जित्न लाग्नुपर्ने हो ।
माधवजी कुशल पार्टी व्यवस्थापक हो । उहाँमा जिम्मा लिएको काम फत्ते गर्ने बानी छ । पारिवारिक संस्कारले पनि माधवजी पैसाको पछि दौडने नेता होइन । पार्टी प्रशिक्षण, योजना र सिद्धान्त निर्माणमा जुट्नुपर्ने बेला उहाँ पनि प्रधानमन्त्री फेर्न लाग्नुहुन्न । ओलीजीले पनि सिनियर नेताहरूका कुरा सुनेर सल्लाहमा चल्नुपर्छ । नेताहरू नमिले यो पार्टी धेरै चल्दैन ।
ओली पार्टी निर्णयबाट चलेनन्, पार्टी र सरकार दुवै बदनाम भयो भनेर आलोचना सार्वजनिक रुपमै भइरहेको छ । तपाईंलाई त्यस्तो लाग्दैन ?
पार्टीले सरकारलाई दिशा निर्देश गर्नुपर्छ । नेताहरूबीच राम्रो समझदारी र विश्वास हुनुपर्छ । पार्टीको घोषणापत्रअनुरूप सरकार चल्नुपर्छ । औपचारिक शिक्षा कम भए पनि ओलीजीको दिमाग तीक्ष्ण छ । भारतले नाकाबन्दी लगाएका बेला जनता निरास थिए । त्यतिबेला धेरै सपना देखाएर आशा जगाउनुभयो । अहिले काम गर्ने बेला भनेजस्तो राम्रो गर्न सक्नुभएको छैन । औद्योगिकीकरणमा ध्यान गएन । अघिल्ला सरकारभन्दा राम्रै छ । तर जनताले कम्युनिस्टको सरकार आएको अनुभूति गर्नै पाएनन् । तैपनि यो ओलीको विकल्प खोज्ने बेला होइन ।
यो पनि पढ्नुस
सचिवालयको संरचनाको औचित्य नै भएन । अब सचिवालय विघटन गरेर स्थायी समितिमै सबै विषय छलफल गर्नुपर्छ । - जनार्दन शर्मा, स्थायी समिति सदस्य, नेकपा
नेताले ६५ वर्षमै सक्रिय राजनीति छाड्नुपर्छ भनेर तपाईंले संन्यास लिनुभयो । नेकपाको ७० वर्ष हाराहारीको नेतृत्वलाई भने धैर्य गर्न भन्दै हुनुहुन्छ !
नेकपाका दोस्रो तहका नेताहरूले आउँदो महाधिवेशनबाट केपी, प्रचण्ड, माधव, झलनाथ र वामदेवजीलाई बिदाइ गर्नु राम्रो हुन्छ । उहाँहरूले आन्दोलनलाई योगदान गर्नुभयो । पार्टी प्रमुख प्रधानमन्त्री, उपप्रधानमन्त्री भइसक्नुभयो । अब कति पटक भइरहने हो ? उहाँहरूलाई ससम्मान उच्च तहको सल्लाहकार कमिटी बनाइदिए पनि हुन्छ । एमालेको विधानमै ७० वर्ष तोकिएको थियो । राजनीति लोभलालच बढ्ता हुने क्षेत्र रहेछ । नेताहरू आफैँ त छाड्नुहुन्न । त्यसैले आँट छ भने दोस्रो तहका नेताहरूले महाधिवेशनमा यो प्रस्ताव लैजानुपर्छ ।
अन्त्यमा, फरक प्रसंग । आज (३ जेठ) मदन–आश्रित स्मृति दिवस । तपाईंलाई मदन भण्डारीका राजनीतिक गुरु पनि मानिन्छ । कसरी सम्झिनुहुन्छ ?
मदन भण्डारी अध्ययन, लेखन, गायन र भाषण कला भएका लोभलाग्दो नेता हुनुहुन्थ्यो । ०२६ देखि ०३५ सम्म म बनारसमा पुष्पलालसँगै बसेँ । सांस्कृतिक फाँटमा काम गरेँ । मदनजी वृन्दावनमा दाइसँग बसेर पढ्नुहुन्थ्यो । कुनै साहित्यिक रचना सम्पादनका लागि मलाई खोज्दै बनारस आउनुभयो । मैले हेरिदिएँ । मैले पार्टीमा लाग्न आग्रह गरेँ । तर उहाँले घरको परिस्थिति बताउनुभयो । भर्खर पहाडबाट झरेकाले भाइबहिनीको व्यवस्थापन नगरेसम्म लाग्न नसक्ने भन्नुभयो । मैले सांस्कृतिक मोर्चामा आबद्ध गराएँ । मैले र जीवराज आश्रितजीले निरन्तर पार्टीमा लाग्न प्रेरित गरिरह्यौँ । ५–७ महिनापछि बल्ल बुबाआमालाई सम्झाइदिन भन्नुभयो । घर गएर बुबाआमासँग कुरा गर्यौँ । मदनजीले बनारसको मेरो गुरु भनेर परिचय गराउनुभयो । धेरै सम्झाएपछि बुबाले ‘भाइबैनी पनि ठूला भइसके । बनारसबाट गुरु नै आएर भनेपछि जा न त बाबु’ भन्नुभयो । त्यसरी मदनलाई पार्टीको केन्द्रीय कमिटीमा ल्याइएको थियो । उहाँले नेतृत्व क्षमता देखाउनुभयो । छोटो समयमै पार्टी नेतृत्वमा पुग्नुभयो, कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा र गति दिनुभयो ।
यो पनि पढ्नुस
जसलाई एजेन्डा तयार गर्न जिम्मा दिइएको हो, उसलै तयार नगरेपछि ओलीलाई किन दोष ? - सत्यनारायण मण्डल, स्थायी समिति सदस्य, नेकपा
‘कोरोनाले सबै क्षेत्र भत्किएपछि कृषिमा मात्रै सम्भावना देखेका छौँ’ (कृषि तथा पशुपन्छी विका...
सम्हाल्न नसक्ने स्थितिमा पुग्यौँ । प्रदेश र संघीय सरकारलाई भनिरहेका छौँ तर हाम्रो कुरा सुन...
यो सबै पदको झगडा हो । नेताहरूमा धैर्य छैन । महाधिवेशन र अर्को चुनाव पर्खिन नसक्नेले जनताला...
जसलाई एजेन्डा तयार गर्न जिम्मा दिइएको हो, उसलै तयार नगरेपछि ओलीलाई किन दोष ? - सत्यनारायण ...
सचिवालयको संरचनाको औचित्य नै भएन । अब सचिवालय विघटन गरेर स्थायी समितिमै सबै विषय छलफल गर्न...
सबैभन्दा कम कमजोरी भएको नेता छान्ने हो भने माधव नेपाल हो । माधव नेपालमा मान्छे समातेर राख्...