‘पदमार्ग जोगाउन पर्खाल’
६० किलोमिटरमा निर्माणाधीन परियोजना हेलम्बु गाउँपालिकाले ८० मिटर पर्खाल बनाइसकेको छ । यसै विषयमा गाउँपालिका अध्यक्ष दोङ्बा निमा ग्याल्जेनसँग कुराकानी :

हेलम्बु भन्नेबित्तिकै स्याउ छुट्दैन । सिन्धुपाल्चोकको यो सुन्दर हिमाली गाउँले अर्को परिचय थप्दै छ, चीनको ग्रेटवाल शैलीकै पर्खाल बनाएर । ६० किलोमिटरमा निर्माणाधीन परियोजना हेलम्बु गाउँपालिकाले ८० मिटर पर्खाल बनाइसकेको छ । यसै विषयमा गाउँपालिका अध्यक्ष दोङ्बा निमा ग्याल्जेनसँग कुराकानी :
ग्रेट ट्रेल किन आवश्यक पर्यो ?
पर्यटक भित्र्याउनका लागि नेपालले बेलाबेला विभिन्न कार्यक्रम ल्याउँछ । भ्रमण वर्षको घोषणा गर्छ । तर पर्यटकका लागि घुम्ने नयाँ गन्तव्यको खोजी भने विरलै हुन्छ । नयाँ ठाउँ, नयाँ अनुभव दिलाउन यस्तो संरचनाको आवश्यकता देखियो ।
पर्यटक पर्खाल हेर्न आउँछन् कि प्राकृतिक दृश्य ?
नेपालमा हिमाल, पहाड, जंगल हेर्दै पदमार्गमा निस्कने बाटाहरु धेरैतिर छन् । तर दुईतिर पर्खालले घेरिएको ठाउँमा हिँड्दै हिमाली दृश्य नियाल्नुको मज्जा अलग हुनेछ । नयाँपन महसुस गराउनेछ ।
यो चीनको ग्रेटवालको नक्कल होइन ?
मलाई यो विचार आएकै चीनको ग्रेटवाल पुगेपछि हो । विचार लिन त के भो र ? अहिले जहाँ पनि सडक पुगेर हाम्रा पदमार्ग नासिँदै छन् । प्रकृतिसँग नजिकिएर आनन्दले हिँड्ने बाटाघाटा बिस्तारै गुम्दै छन् । सडकमार्गको चपेटाबाट जोगाउन पनि यस्तो पर्खाल चाहिने भयो ।
तर यसले पदमार्गको मौलिकता गुम्दैन ?
यो बाटो हुँदै हामीले पदयात्रा नै गर्ने हो । यसको जग त पदयात्रा नै हो । त्यसमा हामीले केही परिमार्जन गरेका मात्र हौँ । पर्खालमा ह्याल्मो संस्कृतिका झलकहरु अंकित गरिनेछ । यो पर्यटकका लागि नयाँ अनुभव हुनेछ ।
तीन अर्ब रुपैयाँ कसरी जुटाउने त ?
संघीय र प्रदेश सरकारलाई आर्थिक सहयोगका लागि भनेका छौँ । प्रदेश सरकारले यसपालि ५० लाख रुपैयाँ विनियोजन गरिसकेको छ । मेलम्चीले काठमाडौँ उपत्यकालाई खानेपानी दिएको छ । अब उसले यो परियोजनामा सहयोग गर्नुपर्छ भनेर छलफल अगाडि बढाएका छौँ । उसले बनाइदिएको ठाउँमा नामसहित राख्नेछौँ । यसबाहेक व्यक्तिगत रुपमा पनि सहयोग गर्न सकिनेछ । स्रोत जुट्नेमा आशावादी छु ।
व्यक्तिगत रुपमा सहयोग गर्नेहरु पनि आएका छन् ?
हेलम्बुका धेरै व्यक्ति विदेशमा राम्रो कमाइ गर्नेहरु छन् । मैले उनीहरुलाई सहयोगको अपिल गरेको छु । उनीहरुले सकारात्मक रुपमा लिएका छन् ।
कति समयमा सकाउने योजना छ ?
बजेट हुने हो भने त २ वर्षमै पूरा हुन्छ तर अहिले हामीलाई स्रोतकै अभाव छ ।
आधा मिटर अग्लो पर्खाल त खुड्किलोजस्तो देखिँदैन र ?
मैले सुरुमा डिजाइन गरेको पर्खाल साढे दुई मिटर अग्लो थियो । तर त्यसको लागत ज्यादै भयो । धान्नै नसकिने । त्यसैले आधा मिटर अग्लो मात्रै बनाइने निधो भयो ।
पर्खाल लगाएपछि पर्यटक आगमन वृद्धि हुन्छ भन्ने आधार के छन् ?
यहाँबाट सबैभन्दा बढी हिमाली शृंखला नियाल्न सकिन्छ । लाङटाङ हिमशृंखला त एकदमै नजिक देखिन्छ । यहाँबाट विभिन्न पदमार्गका रुट पनि जान सकिन्छ । पदमार्गमा आउनेहरू यो पर्खाल नहेरी कसरी फर्केलान् ? प्राकृतिक रुपमा मात्र होइन, धार्मिक पर्यटक पनि यहाँ ल्याउन सकिन्छ ।
धार्मिक पर्यटकका लागि यो क्षेत्र कसरी महत्वको हुन्छ ?
यो ट्रेलको एक फन्को लगाउँदा गुरु रिम्पोचे ध्यान बसेको धुपु, मिलारेपाले ध्यान गरेको गुफा, गोसाइकुण्ड, पाल्चोक जय बागेश्वरी मन्दिर गरी तीन तीर्थस्थल पनि घुमिन्छ । इस्वी संवत् १७०० मा सूर्य सेंगेका पुत्र रिग्जिन थिन्ले दुझोमले आफूसहितका भिक्षु र गाउँलेहरु मिलेर धर्मचक्र पर्खाल बनाउन भनेका रहेछन् । पूरै हेलम्बुमा पर्खाल नलगाए पनि मसान नजिकै त्यस्तो पर्खाल बनाएको देखिन्छ । यसैले यसको ऐतिहासिक महत्व छ ।
ऐतिहासिक महत्वको भए पनि मौलिक नाम किन नराखिएको त ?
मैले भर्खर मात्र थाहा पाएँ । धर्मचक्र नाम राख्नेबारे छलफल भइरहेको छ ।