'बली राजा-महाराजाको अहं हो'
दसैँको महानवमीमा मात्रै खुल्छ, वसन्तपुरस्थित तलेजु भवानीको मन्दिर । यसका आफ्नै मान्यता भएको मन्दिरका मूल पुजारी उद्धव कर्माचार्य बताउँछन् ।

सामान्यतः धार्मिक स्थल सबैका लागि सधैँ खुला हुन्छ । तर दसैँको महानवमीमा मात्रै खुल्छ, वसन्तपुरस्थित तलेजु भवानीको मन्दिर । यसका आफ्नै मान्यता भएको मन्दिरका मूल पुजारी उद्धव कर्माचार्य बताउँछन् ।
उपत्यकाका तीन वटै जिल्लामा तलेजुको मन्दिर छ । तर काठमाडौँको विशेष मानिन्छ, किन ?
अन्यत्र वर्षभरि खुला गरिन्छ । भक्तपुरमा तलेजु वरिपरि जहिल्यै दर्शन गर्न सकिन्छ । पाटनमा जतिखेरै मन्दिरभित्रै छिर्न सकिन्छ । तर काठमाडौँमा वर्षमा एक दिन मात्र । अर्को कुरा, काठमाडौँका त्यतिबेलाका राजा प्रताप मल्लले १६ भाषा जान्दथे । ती सबै भाषामा तन्त्र साधना गर्थे । सबै भाषामा दीक्षा लिए । शक्तिशाली बने ।
महत्व बढाउन मात्र वर्षमा एक दिन खुला गरिएको ?
पहिलो- दरबार क्षेत्र भयो । राजा-महाराजा मात्रै बस्ने दरबारमा जो पनि, जहिले पनि आउजाउ हुँदा त्यसको महत्व कम हुन्छ । दोस्रो- आराधनाबाट राजाले शक्ति आर्जन गर्ने थलो भएकाले पनि यहाँ सर्वसाधारणको आवतजावत कम गरिएको हो ।
तर त्यो दिन पनि सर्वसाधारणले मन्दिरमै देवताको दर्शन गर्न पाउँदैनन्, प्रांगणमा निकालिन्छ, नि ?
वर्षमा एक पटक देवतालाई चलाउनुपर्छ । स्थिर भयो भने देवताको शक्ति जाग्दैन । त्यसैले मन्दिरमा देवताको प्रतिमा खडा गरेर त्रिशूलचोकमा लगेर राखिन्छ । जात्रामा देवतालाई घुमाउनुको कारण पनि शक्ति पुनः आर्जन हो । फूलपातीको दिन त्रिशूलचोकमा कालरात्रि गरेपछि नवमीदेखि कात्तिकको कृष्णपक्षसम्म काटमार हुँदैन । मंसिर कृष्णपक्षको प्रतिपदामा निमन्त्रणा पूजा गरेपछि फेरि बलि चल्न थाल्छ ।
मन्दिरहरुमा बलिको चलन कसरी आयो ?
बलि भनेको अहं हो । भगवानले बलि लेऊ भनेको होइन । राजाहरुले आफ्नो अहं प्रदर्शन गराउने क्रममा मन्दिरमा बलि चढाउने क्रम सुरु भयो । खासचाहिँ 'भगवान्' लाई आत्मा चढाउने हो । आत्मा भनेको आनन्द, सफा मन ।
भनेपछि बलि प्रथा बेठीक रहेछ ?
बेठीक त होइन । मन्दिरमा बलि चढाउनाले जनावरको काटमार भएको होइन । परम्परा राजाहरुको दम्भले बस्यो भनेको मात्रै हो ।
बलि दम्भको उपज भन्नुहुन्छ, फेरि यो ठीक पनि भन्नुहुन्छ, विरोधाभास भएन ?
बलि दिएपछि हामी तन्त्र साधना गरेर भोलिदेखि तिमी पशुत्वबाट मुक्त भयौ भनेर संकल्प गर्छौं । मासु खानका लागि बलि दिएको होइन ।
विभिन्न पर्वमा पूजा गर्दा तलेजुमा १६ जातका मानिस चाहिन्छ, किन ?
खासमा राजाहरुले कसैलाई भेदभाव छैन भन्ने देखाउन यो चलन थालेका हुन् । १६ जातका ४२ जना मानिस चाहिने त्यो चलन अद्यापि छ ।