‘संघीयताप्रति सरकार इमानदार छैन’
गिरिजाप्रसाद कोइरालाले मध्यावधि निर्वाचन (०५१) गराएपछि नेपाली राजनीतिले के मोड लियो भनेर कसैले पनि लेख्ने हिम्मत नगरेकामा आक्रोशित सुनिन्छन्, कांग्रेस उपसभापति विमलेन्द्र निधि ।
गिरिजाप्रसाद कोइरालाले मध्यावधि निर्वाचन (०५१) गराएपछि नेपाली राजनीतिले के मोड लियो भनेर कसैले पनि लेख्ने हिम्मत नगरेकामा आक्रोशित सुनिन्छन्, कांग्रेस उपसभापति विमलेन्द्र निधि । त्यसबेला कोइरालाले मध्यावधि निर्वाचन गराउनु ऐतिहासिक भुल भएको उनको दाबी छ । भन्छन्, "गिरिजाबाबुले गरेको त्यो ऐतिहासिक भुलबारे तथ्य खोज्नुपर्छ । अहिलेको पुस्ताले नखोजे त्यसपछिकाले खोज्छ-खोज्छ ।" निधिसँग सन्तोष आचार्यका प्रश्न :
संविधान दिवसका बेला फेरि यसमा संशोधनको कुरा सुनियो नि ?
संविधान संशोधन गर्न हामी प्रतिबद्ध छौँ। मधेससँग कांग्रेसको सम्बन्ध धेरै पुरानो छ । हामीले स्वीकारेका छौँ कि मधेसी र जनजाति धेरै पहिलेदेखि नै शासन प्रणालीमा उपेक्षित छन् । जुन तहसम्म उपेक्षित छन्, त्यो हदसम्म शासन प्रणालीको मूलधारमा उनीहरूलाई ल्याउनुपर्छ, संविधानमार्फत तिनको माग सम्बोधन गर्नुपर्छ । यसैले हामीले एकातिर संविधान दिवस मनाउँदै आएका छौँ भने अर्कोतिर यो संविधानले छुटाएका विषय सम्बोधन गर्नुपर्छ भनेर आवाज पनि उठाउँछौँ ।
संघीय प्रणालीमै प्रधानमन्त्री केपी ओलीको अरुचि देखिन्छ भन्ने तपाईंहरूको दाबी छ । यस्तो हो भने झन् कसरी संविधान संशोधन होला ?
यसैले त समस्या आएका छन् । हामीले संघीय, समावेशी, गणतन्त्रात्मक, लोकतान्त्रिक मिश्रित निर्वाचन प्रणाली अपनाएका छौँ । नेकपाले यही प्रणालीअन्तर्गत दुई तिहाइ मतसहित सरकार बनाएको हो । ओलीजी पनि यही प्रणालीअन्तर्गतै प्रधानमन्त्री बन्नुभएको हो । उहाँले पटक-पटक संघीयता 'मेरो मान्यता होइन' भन्दै आउनुभएको छ । यसलाई लुकाउनुभएको छैन । यो मामिलामा म उहाँलाई इमानदार पनि भन्छु ।
प्रधानमन्त्रीकै कारण संघीय प्रणालीले गति लिन नसकेको हो ?
जसले यो प्रणालीमै विश्वास गर्दैन, उही 'ड्राइभिङ सिट' मा बसेको छ भने यो अगाडि बढ्दैन, कार्यान्वयन हुँदैन भन्ने त घामजत्तिकै छर्लंग छ । अहिले संघीय सिद्धान्तअनुरूप राज्य संरचनाले काम गरिरहेको छैन । नेपालको संविधानका विभिन्न धारा र अनुसूचीमा पनि प्रस्टसँग संघीय प्रणालीबारे लेखिएकै छ । संविधान र राज्यको पुनर्संरचना आफैँमा पूर्ण छ भनेर भन्दिनँ । तर अहिले जे व्यवस्था संविधानमा गरिएको छ, त्यसको समेत कार्यान्वयन हुन सकेको छैन ।
ओली सरकारको रुचि केन्द्रीकृत प्रणालीतिर बढी देखिएको हो ?
जनवादी केन्द्रीयता कम्युनिस्टहरूको मूल मान्यतै हो । ऊ सबै अधिकार केन्द्रमा राख्ने प्रणालीमा विश्वास गर्छ । त्यही मानसिकता लिएर यो सरकारले काम गरिरहेको छ । प्रदेशको त कुरा छाडौँ, संघमा पनि विभिन्न निकायको अधिकार खोसेर प्रधानमन्त्री कार्यालयमा ल्याउने काम भइरहेको छ । प्रदेशहरूसँग डाह गरेको देखिन्छ । स्थानीय तहको हकमा पनि त्यही भइरहेको छ । हामी जे भन्छौँ, त्यही हुनुपर्छ भन्ने शैलीले नियन्त्रण गर्न खोजिएको छ । सरकार संघीय प्रणालीप्रति इमानदार छैन । सरकारले संसद्मा ल्याएका जुनसुकै विधेयक पनि संघीय सिद्धान्तको प्रतिकूल गएका छन् । संविधानमा भएको व्यवस्था र प्रावधानविरुद्ध गएका छन् । हामीले परिवर्तन गरेर ल्याएको ऐतिहासिक राज्य पुनर्संरचनालाई सम्वर्द्धन गर्ने काम यो सरकारले गरिरहेको छैन । राजनीतिक रूपमा पहिले गर्नुपर्ने काम त यो सरकारले गरिरहेको छैन भने उसले सुख, शान्ति र समृद्धि भन्नु बेकार हो ।
वैवाहिक अंगीकृत नागरिकका सम्बन्धमा कांग्रेस किन अन्तरिम संविधान, ०६३ मै फर्कियो ?
कांग्रेस फर्केको छैन । वर्तमानलाई नै निरन्तरता दिनुपर्छ भन्ने मान्यता हो । वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्ने प्रावधान पञ्चायतकालमा पनि थियो । विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गर्नासाथ विवाह प्रमाणपत्र र आफ्नो पूर्वनागरिकता त्याग्ने कारबाही गरेको निस्सा पेस गरेपछि नागरिकता प्रावधान आएको हो । त्यो पनि हामीले लडेर ल्याएका थियौँ, त्यतिबेला । वैवाहिक सम्बन्धलाई हल्कासँग लिनु हुँदैन । बिहान एउटा टेम्पो समात्यो, बेलुकी अर्को टेम्पो समातेर जाने र फर्किने प्रणाली होइन । मानव सभ्यताको विकासमा विवाह सबैभन्दा महत्त्वपूर्ण संस्था हो । यो संस्था कुनै राज्यभन्दा कम बलियो होइन ।
‘सरकार संघीय प्रणालीप्रति इमानदार छैन । सरकारले संसद्मा ल्याएका जुनसुकै विधेयक पनि संघीय सिद्धान्तको प्रतिकूल गएका छन् । संविधानमा भएको व्यवस्था र प्रावधानविरुद्ध गएका छन् ।’
नागरिकताजस्तो संवेदनशील विषयमा तपाईंहरूको अडानले राष्ट्रियता कमजोर हुन्छ कि भन्ने आशंका गरिँदै छ नि ?
यो सिद्धान्त र परिभाषा नबुझ्नेले बिहे गर्नेबित्तिकै नागरिकता पाउनु हुँदैन भन्दै छन् । वैवाहिक सम्बन्ध पनि राष्ट्रियता र देशभक्तिसित जोडिएको छ । वंशसँग जोडिएको छ । भौतिकवाद र विज्ञानमा विश्वास गर्नेहरूलाई भन्न चाहन्छु, विवाह भनेको वंशको पहिलो सर्त हो । यदि कम्युनिस्ट साथीहरूले यो कुरा बुझ्नुभयो भने सिन्दुर र नागरिकताको सम्बन्ध बुझ्नुहुन्छ । उहाँहरू राष्ट्रियताको कुरा गर्नुहुन्छ । यो कुनै एउटा जातिविशेष वा समुदाय मात्रको पनि होइन । राष्ट्रियता भनेको सबै जनताको सामूहिक भावना हो । कम्युनिस्टहरूले हामीलाई राष्ट्रियताको पाठ पढाउनु पर्दैन । किनभने उनीहरू कहिल्यै पनि राष्ट्रवादी हुँदैनन् ।
नागरिकताको सन्दर्भमा बेलाबेला किन अनुदारवाद हाबी हुन्छ ?
हामीकहाँ वर्चस्ववादको मनोविज्ञान बढी छ । अर्को यो विषयमा अज्ञानता पनि उत्तिकै छ । कम्युनिस्टहरूमा मधेसका जनतामा देशभक्ति नै छैन भन्ने मनोविज्ञान छ । मधेसी भारतीय हुन्, विदेशी हुन् भन्ने केहीलाई लागेको छ । यो देशको सबैभन्दा खतरनाक मनोविज्ञान नै यही हो ।
प्रमुख प्रतिपक्षी के एजेन्डाविहीन भएकै हो ? किनभने आफैँले ल्याएको धर्म निरपेक्षको खिलाप गएर हिन्दु राष्ट्रको मुद्दा स्थापित गर्ने प्रयास प्रारम्भ भएको देखिन्छ । वास्तविकता के हो ?
यो संविधानको मस्यौदा गर्ने बेलादेखि हाम्रो पार्टीको हरेक तहको बैठकमा जुन निर्णय भएका छन्, त्यही नै कांग्रेसको आधिकारिक लाइन हो । यो संविधान कांग्रेसकै नेतृत्वमा निर्माण भएको हो । संविधानको आधारभूत तत्त्वमा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशीता, मिश्रति निर्वाचन, धर्म निरपेक्षता र अहिंसा तथा शान्ति पर्छन् । कांग्रेसले आफ्नै नेतृत्वमा गरेको राज्यको पुनसर्ंरचना र शासन प्रणालीमा जुन आधारभूत तत्त्व छ, त्यही नै पार्टीको आधिकारिक धारणा हो । धर्मका आधारमा राजनीति गर्नु हुँदैन भनेर बीपी कोइरालाले लेख्नु नै भएको छ । नेपाललाई हिन्दु राज्य भन्नु बेइमानी हो भनेर बीपीले पटक-पटक भन्नुभएकै छ । धार्मिक स्वतन्त्रता वा धर्म निरपेक्षताको पक्षमा हुनुहुन्थ्यो, बीपी । यी दुवै कुरा एकै हुन् । सर्वधर्म समभाव अर्थात् सबै धर्मलाई सम्मान गर्ने हो । कसैले धार्मिक स्वतन्त्रताको कुरा गर्छ भने त्यसमा हामीलाई आपत्ति छैन ।
कांग्रेस वैचारिक रूपमा अलि ढुलमुल भएको हो वा जनता तथा कार्यकर्ता तहमा बुझाउन नसकेको ?
वैचारिक रूपमा कांग्रेस प्रस्ट छ । मैले जुन ९ वटा आधारभूत तत्त्वबारे कुरा गरेँ, त्यसमा कांग्रेसभित्र कुनै अलमल छैन । तर कार्यकर्ता तथा सदस्यका बीचमा जति प्रस्टसँग बुझाउनुपर्ने हो, त्यो हामीले नसकेकै हो । केन्द्रीय समितिका सदस्यदेखि महाधिवेशन प्रतिनिधि, जिल्ला, गाउँ र आम जनताको तहमा पनि बुझाउन सकिएको छैन ।
‘मर्ने बेला पार्टीले चारतारे झन्डा ओढ्याइदिए हुन्थ्यो भन्नेहरूले जिउँदो हुँदा रूख छापमा मत नदिने प्रवृत्ति छ । रूख छापमा मत नदिनु अन्तर्घात हो । चारतारे झन्डा ओढ्ने तर रूख छापमा मत नदिनु नै अन्तर्घात हो ।’
गुट व्यवस्थापन हुन नसक्नुमा वैचारिक अलमल हो कि ?
कुनै पनि राजनीतिक दलभित्रको गुट-उपगुटको न्यूनीकरण वैचारिक आधारमा व्यवस्थापन गर्न सकिन्छ । व्यक्तिलाई होइन, नीति, कार्यक्रम, सिद्घान्त र विचारलाई प्राथमिकता दिने हो भने गुट-उपगुट न्यून हुन्छ । यसले दुष्परिणाम ल्याउँदैन । कांग्रेसभित्र दुई-तीन गुट छन् । त्यसभित्र पनि उपगुट छन् । हिन्दु राष्ट्रको कुरा पनि त्यहीबाट आएको हो, धर्म निरपेक्षताको कुरा पनि त्यहीँ छ । यसैले वैचारिक रूपमा स्पष्ट हुनु जरुरी छ ।
कांग्रेसभित्रको अन्तर्घात आम जानकारीमै छ । गुट व्यवस्थापनमा नेतृत्व चुकेकै कारण यो समस्या देखिएको हो ?
कांग्रेसभित्र गुटसँग जोडिएको विषय अन्तर्घात हो । कांग्रेसको चुनाव चिह्न रूख र झन्डा चारतारे हो । यो झन्डाप्रति कसैको बेइमानी देखिएको छैन । तर मर्ने बेला पार्टीले चारतारे झन्डा ओढ्याइदिए हुन्थ्यो भन्नेहरूले जिउँदो हुँदा रूख छापमा मत नदिने प्रवृत्ति छ । रूख छापमा मत नदिनु अन्तर्घात हो । चारतारे झन्डा ओढ्ने तर रूख छापमा मत नदिनु नै अन्तर्घात हो ।
सम्बन्धित
‘कोरोनाले सबै क्षेत्र भत्किएपछि कृषिमा मात्रै सम्भावना देखेका छौँ’ (कृषि तथा पशुपन्छी विका...
'तीन वर्षपछाडि नेपालको कृषि व्यवस्था नयाँ स्वरूपमा आउनेछ'
सम्हाल्न नसक्ने स्थितिमा पुग्यौँ । प्रदेश र संघीय सरकारलाई भनिरहेका छौँ तर हाम्रो कुरा सुन...
‘विशेष स्वास्थ्य टोली नपठाए नरैनापुरको स्थिति नियन्त्रणबाहिर'
यो सबै पदको झगडा हो । नेताहरूमा धैर्य छैन । महाधिवेशन र अर्को चुनाव पर्खिन नसक्नेले जनताला...
'महाधिवेशनबाट ओली र प्रचण्डलाई बिदा गर्नुपर्छ'
जसलाई एजेन्डा तयार गर्न जिम्मा दिइएको हो, उसलै तयार नगरेपछि ओलीलाई किन दोष ? - सत्यनारायण ...
‘त्यसो भए नेकपा नै विघटन गरिदिऊँ’
सचिवालयको संरचनाको औचित्य नै भएन । अब सचिवालय विघटन गरेर स्थायी समितिमै सबै विषय छलफल गर्न...
‘नेकपाको सचिवालय विघटन गरौँ’
सबैभन्दा कम कमजोरी भएको नेता छान्ने हो भने माधव नेपाल हो । माधव नेपालमा मान्छे समातेर राख्...