माननीयको मान किन गिर्दो ? (नेपाल राउन्ड टेबलको भिडियो)
माननीयहरू विभिन्न विवादमा मुछिएका घटनाले पछिल्लो राजनीतिक परिवर्तनका लागि लडेका शक्तिहरुप्रति आममानिसमा कस्तो धारणा बन्न सहयोग पुर्याउँछ ? अनि समग्र राजनीतिप्रति कस्तो खालको सन्देश प्रवाह गर्छ ? नेपाल राउन्ड टेबल

दसैंको पारिवारिक जमघटका बेला नेपालीहरुमाझ सभामुख कृष्णबहादुर महरा जोडिएको नैतिक विचलनको खबरले प्रधानता पाइरह्यो । त्यो खबर सेलाउन नपाउँदै कांग्रेसका अर्का सांसद मोहम्मद अफताब आलमबारे जे खबर बाहिरियो, त्यसले मानिसलाई हिंसा र आतंकको त्यतिक्रूर रुप पनि हुँदो रहेछ भनी मूल्यांकन गर्न बाध्य बनायो । राजपा सांसद प्रमोद साह जनकपुरमा विमानस्थल काउन्टर तोडफोड गरेको आरोपमा समातिए । नेकपाका अर्का सांसद पार्बत गुरुङ अर्को त्यस्तै हत्याको घटनासँग जोडिए, जसबारे न्युज ब्रेक हाम्रै म्याजगिनले गरेको थियो । कांग्रेस सांसद देवेन्द्रराज कडेलको नागरिकता हैसियतबारे विभिन्न समाचारहरु प्रवाहित भइरहेका छन् ।
प्रदेश सांसदहरु एकपछि अर्को गर्दै समातिने, कारबाहीको दायरामा आउने शृंखला बढ्दो छ । अनि माननीय नभनिए पनि बैतडीको डोजर काण्डमा अन्तत: सत्तारुढ नेकपाकै स्थानीय नेताहरु जोडिएको प्रसंग दृश्यमा खुल्न आएको छ । यसले पछिल्लो राजनीतिक परिवर्तनका लागि लडेका शक्तिहरुप्रति आममानिसमा कस्तो खालको धारणा बन्न सहयोग पुर्याउँछ ? अनि समग्र राजनीतिप्रति कस्तो खालको सन्देश प्रवाह गर्छ ? दलहरुले यसबारे गम्भीर भएर सोच्ने बेला आइसकेको छ कि छैन ? यदि सोच्ने हो भने अब गर्नुपर्ने कामहरु के के हुन् ?
रामकुमारी झाँक्री (नेकपा सांसद), प्रदीप पौडेल (कांग्रेस नेता), रञ्जु दर्शना (विवेकशील नेपाली नेत्री) र अजयभद्र खनाल (विश्लेषक) सँग नेपाल म्यागजिनको राउन्ड टेबलः
भिडियोः अंगद ढकाल