'विकसित देशका सेनासँग दाँज्दा हामी कहाँ छौँ भन्ने थाहा हुन्छ'
२४ असोजदेखि ३ कात्तिकसम्म बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्याम्ब्रियन प्याट्रोल’ मा नेपाली सेनाले ३४ मुलुकका प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण पदक जित्यो ।

२४ असोजदेखि ३ कात्तिकसम्म बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्याम्ब्रियन प्याट्रोल’ मा नेपाली सेनाले ३४ मुलुकका प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण पदक जित्यो । ८ सदस्यीय विजेता टोलीका कमान्डर थिए, प्रमुख सेनानी असीमदेव गुरुङ ।
सबैलाई जित्ने आशा थियो ?
प्रतिस्पर्धामा उत्रिने भनेकै जित्ने लक्ष्यसहित लिएर हो । वर्षभरि हुने नेपाली सेनाका विभिन्न तालिम प्रतिस्पर्धामा राम्रा गरेकाबाट छानिएकाले जितको अपेक्षा स्वाभाविक हो ।
यसैका लागि भनेर छुट्टै तालिम हुँदैन ?
हुन्छ । हामीले दुई महिनाको तालिम गरेका थियौँ ।
स्वर्ण जित्नु मात्रै उपलब्धि हो र ?
यो त एउटा प्लेटफर्म हो । विकसित मुलुकका सेनाको तुलनामा हामी कुन अवस्थामा छौँ भन्ने थाहा हुन्छ । सेनाको व्यावसायिक पाटोमा सिक्न यसले मौका दिन्छ । निष्पक्ष रुपमा मूल्यांकन हुने माध्यम हो । साथै, आफ्ना कमजोरी र सबल पक्ष जान्न पाइन्छ ।
सबल र निर्बल पक्ष के रहेछन् ?
ठ्याक्कै यही हो भनेर अहिल्यै भन्न सकिन्न । हामीले ‘अफिसियल्ली’ अभिलेखीकरण गरेर राखेका हुन्छौँ । यसबारे अनुसन्धान गरेर, वैधता दिएर निचोडमा पुग्छौँ र अर्कोचोटि सुधार्ने कोसिस गर्छौं ।
यसमा कुन–कुन पक्षमा प्रतिस्पर्धा हुन्छ ?
व्यावसायिक पाटोका सबै पक्ष जाँच्न खोजिएको हुन्छ । युद्धकालीन विशेष परिस्थितिको परिकल्पना गरेर अभ्यास गरिन्छ । सैनिक कला, शारीरिक र मानसिक तन्दुरुस्ती, योजना क्षमता जाँचिएको हुन्छ ।
यस्ता प्रतिस्पर्धाबाट मुलुकले कसरी लाभ लिन सक्छ ?
हामीले अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठा कमाएका छौँ । यसलाई प्रयोग गर्न नेपालका अन्य राज्य संयन्त्रलाई सजिलो हुन्छ । नेपालले यो प्रतिष्ठालाई कसरी प्रयोग गर्छ, त्यसमा लाभ कति हुन्छ भन्ने निर्भर हुन्छ । सोझो लाभ त नेपाल र नेपाली सेनाको नाम विश्वमा आयो, त्यो नै हो । सेनाको आत्मविश्वास अग्लिन्छ ।