‘महिलाले किन खेल्न नसक्ने ?’
“युवा भएकाले टिम स्पिरिट र समन्वय पहिलेभन्दा धेरै बढी छ । केही गरेर देखाउने मौकाको रुपमा लिएका छौँ ।”

कात्तिक अन्तिममा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले ढाकामा सेन्ट्रल जोन प्रतियोगितामा स्वर्ण जित्यो भने प्रतिभा माली उत्कृष्ट स्पाइकर भइन् । सात वर्षको उमेरदेखि भलिबल खेलिरहेकी मालीसँगको संवाद :
एसियन सेन्ट्रल जोन खेल जितेपछि सागमा स्वर्ण जित्ने आशा बढेको हो ?
हामीसँग तीन वटा साग खेलको मात्र अनुभव छ । सागमा हामीले कास्य पदक मात्रै जितेका छौँ । यसपालि त्योभन्दा माथि जाने लक्ष्य हो । त्यो भनेको स्वर्ण नै हो ।
स्वर्ण जितिन्छ भन्ने आधार ?
यसपालि टिममा युवा खेलाडीको वर्चस्व छ । युवा भएकाले टिम स्पिरिट र समन्वय पहिलेभन्दा धेरै बढी छ । केही गरेर देखाउने मौकाको रुपमा लिएका छौँ ।
सागमा हाम्रो अनुभव लामो छैन । त्यसमाथि पुराना खेलाडी कम छन् । अनुभवी खे लाडीको अभाव खट्किँदैन ?
केही खेलाडी लामो समयदेखि राष्ट्रिय टिममा खेलिरहेका पनि छन् । हामीले यसपालि पहिलेभन्दा बढी तयारी गरेका छौँ । चार महिनादेखि बन्दसत्रमा रहेर अभ्यास गरिरहेका छौँ । पहिले एक–डेढ महिना मात्र हुन्थ्यो । थाइल्यान्डमा गएर विश्वविद्यालयदेखि राष्ट्रिय टिमसँग सात वटा खेल खेल्यौँ । सेन्ट्रल जोनमा स्वर्णसमेत जितेकाले ताजा मनोबल छ ।
सेन्ट्रल जोनमा त तुलनात्मक रुपमा कमजोर टिम नै थिए नि ।
हो, सागमा सहभागी टिमभन्दा पक्कै कमजोर हुन् । किर्गिस्तान, अफगानिस्तान सेन्ट्रल जोनका नयाँ टिम थिए । तर माल्दिभ्सजस्तो सशक्त टिमलाई हराएका हौँ । यही गतिमा खेल सुधार्ने हो भने चाँडै एसियाली स्तरमा उक्लिन्छौँ ।
फुटबलको तुलनामा भलिबलको क्रेज किन कम भएको हो ?
नेपालमा त भलिबल नै लोकप्रिय छ किनभने सबैतिर यो खेल खेलेको देख्छौँ । हिमाली र पहाडी भेगमा पनि बारबेर पारेर भलिबल खेलेको देखिन्छ । फुटबल, क्रिकेटजस्ता ठूला लिग र उमेर समूहका खेल नभएर मात्र भलिबल पछाडि परेको हो ।
ठूला लिग गेम नहुनुले भलिबलको आकर्षण घटेको देखाएन र ?
लिग गेम नहुनु र आकर्षण नहुनु फरक कुरा हुन् । किन लिग गेम भएनन् भनेर भलिबल संघले सोच्नुपर्छ । सायद, यस्तो प्रयास नगरेर पनि हुन सक्छ ।
खेलमा लाग्दा पढाइ बिग्रन्छ भन्ने ठानिन्छ, तपाईंलाई त्यस्तो दबाब भएन ?
सुरुमा त्यस्तो लागेको थियो । तर पछि पढाइ बिग्रन्छ वा महिलाले खेल्न सक्दैनन् भन्ने प्रश्न नै दिमागबाट हटाइदिएँ ।