‘जिउने शैली बदल्न नेपाल भ्रमण’
विश्वभरबाट २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित अघिल्लो सातादेखि नेपाल भ्रमण वर्ष– २०२० को औपचारिक थालनी भयो । पर्यटक तान्ने मुख्य भूमिकामा छिन्, नेपाल पर्यटन बोर्डकी ब्रान्ड म्यानेजर श्रद्धा श्रेष्ठ ।

विश्वभरबाट २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित अघिल्लो सातादेखि नेपाल भ्रमण वर्ष– २०२० को औपचारिक थालनी भयो । पर्यटक तान्ने मुख्य भूमिकामा छिन्, नेपाल पर्यटन बोर्डकी ब्रान्ड म्यानेजर श्रद्धा श्रेष्ठ ।
भ्रमण वर्षमा जीवनकालभरका लागि अनुभव भनेर ब्रान्डिङ गर्नुपर्ने कारण के हो ?
विश्वमा नेपालको नयाँ आकृति कोरौँ भनेर पहिले नेचर, कल्चर, एड्भेन्चर भन्यौँ । अब यी सबैबाट प्राप्त अनुभव ठूलो कुरा हो भनेर उत्पादनभन्दा अनुभवलाई महत्त्व दिएका हौँ ।
यो ब्रान्ड बेच्ने रणनीति के हो ?
हाम्रो अवस्थिति स्थापित गर्न विदेशका मेलामा स्टल राखेर ब्रान्डिङ गरिरहेका छौँ । बीबीसी, सीएनएनमा ब्रान्ड प्रमोसन गर्नेवाला छौँ । ट्रिप एड्भाइजर, ट्वीटरसँग कुरा भइरहेको छ ।
उद्घाटनमा जति तामझाम भयो, पर्यटक आकर्षण गर्ने रणनीतिक योजना बनाइएन भन्छन् नि ?
स्रोत–साधनले भ्याएसम्म प्रयास गरिरहेका छौँ । धेरै कुरा गर्न सरकारको नीतिले पनि अप्ठेरो परिरहेको छ ।
कस्ता नीतिगत कुरा ?
सार्वजनिक खरिद कानुनका कतिपय प्रावधानले अन्तर्राष्ट्रिय प्रवद्र्धनमा गाह्रो परिरहेको छ । चाहेका कम्पनीसँग काम गर्न पाइएको छैन । बीबीसी, सीएनएनमा प्रचार गर्न ढिला भएको यही कारण हो ।
नेपाल आउने पर्यटकका लागि खास आकर्षण के हुन् ?
हामीले पर्यटकलाई कुनै सुविधा दिनेभन्दा पनि जीवनमा एक पटक नेपाल पुगियो भने आफूमा रुपान्तरण ल्याउन सकिन्छ भन्नेमा जोड दिइरहेका छौँ ।
नेपाल पुग्दैमा जीवन रुपान्तरण हुन्छ भनेर विश्वले पत्याउला ?
यहाँ पदयात्रा, पर्वतारोहणमा आएपछि धेरैले आफूमा परिवर्तन देखिएको अनुभव सुनाउँछन् । सोच्ने, जिउने तरिकामा परिवर्तन आएका यस्ता थुप्रै कथा विश्वलाई भन्छौँ । नेपालीको सादगीपन र प्रकृतिसँगको अनुभवबाट यो सम्भव छ ।
नेपाल आउने पर्यटकले पूर्वाधार र सुविधा अभावमा सास्ती खेपिरहेको गुनासो छ नि ?
यो धेरै आएको गुनासो हो । काठमाडौँ ओर्लनेबित्तिकै पर्यटकले लगेज ढिलो आउने, चर्पी, धुलोधुवाँजस्ता समस्यासँग जुध्नुपर्छ । तर उपत्यकाबाहिर गएपछि सबै रमाउँछन् । सबै कुरामा हाम्रो हात हुँदैन ।
पर्यटकको संख्यामा जाने कि आम्दानीमा ?
संसारको दृष्टिमा नेपाल सस्तो गन्तव्य होइन । यहाँ आउने हवाई टिकट महँगो छ । नेपाल ओर्लिएपछि उसले गर्ने खर्चमा भने कमी छ । तर महँगा पर्यटक मात्रै आए भने तारे होटलमा मात्रै बस्छन् । गाउँ जाँदैनन् । त्यस कारण संख्या र स्तर दुवै चाहिन्छ । आम्दानीको लक्ष्यचाहिँ लिनुपर्छ ।