‘एन्फा सुध्रिए सबथोक सुध्रिन्छ’
नेपाली लिग खेलमा सय गोलको कीर्तिमानधारी खेलाडी हुन्, सन्ताेष साहुखल ।

नेपाली फुटबलको भविष्य परिवर्तनबारे कुरा गर्ने भए मात्र च्यासल युथ क्लबका फरवार्ड सन्तोष साहुखलसँग भेट हुने अड्डी कसिन्, उनकी एजेन्ट आया मियोसीले । नेपाली लिग खेलमा सय गोलको कीर्तिमानधारी खेलाडी हुन्, साहुखल ।
नेपाली फुटबलको भविष्य परिवर्तन हुनुपर्ने के आवश्यकता देख्नुभयो त्यस्तो ?
हाम्रो खेल संघका मानिसको सोचमा समस्या छ । उनीहरु आफू हिरो बन्न खोज्छन् तर खेलाडीको वृत्ति विकासमा ध्यान दिँदैनन् । यो शैलीले नेपाली फुटबलको स्तर उक्सिँदैन ।
परिवर्तन सम्भव देख्नुहुन्छ ?
रातारात हुँदैन । हामीले भक्तपुर बोडेमा सीप, ज्ञान भएका केटाकेटीका फुटबल हेरिरहेका छौँ । सम्भावना भएकाहरुको क्षमता उकास्न सहयोग गर्छौं । यसरी देशभरका केटाकेटीसम्म पुग्ने लक्ष्य छ । बालबालिकाको फुटबल मात्र होइन, अन्य क्षमतामा सघाउँछौँ । असल सोचले असल इच्छाशक्ति जन्माउँछ । त्यसैले १५ वर्षभित्र नेपालको फुटबल परिवर्तन हुनेमा विश्वस्त छु ।
१५ वर्षपछिको फुटबलको चित्र कस्तो कोर्नुभएको छ ?
पैसाको पछि होइन, राम्रो सोच भएका खेलाडी र संस्था हुनेछन् । यहाँका खेल संघ–संस्थाले राष्ट्रिय टिममा नपरे पनि विदेशी क्लबमा खेलेरै गुजारा गर्छु भन्ने खेलाडी हुनेछन् ।
आफ्नो सय गोलको कीर्तिमानलाई सामान्य भन्नुभयो, किन ?
सिंगो टिमका कारण त्यो सम्भव भएकाले म यसलाई व्यक्तिगत कीर्तिमान मान्दिनँ । टिमको सफलता मान्छु ।
जापान बसेर लिग खेल्न आउनुहुन्छ, नेपाली फुटबलप्रति यस्तो लगाव किन ?
खेलाडीले ३०/३२ वर्ष पुगेपछि संन्यास लिने चलन छ । म जबसम्म खेल्न सक्छु भन्ने भाव आउँछ, तबसम्म फुटबलमा उमेर बाधक हुँदैन भन्ने देखाउन चाहन्छु । आफूलाई स्वतन्त्र बनाउन र मन लागेसम्म खेल्नुपर्छ ।
जापानको फुटबलबाट के सिक्नुभयो ?
जापानमा खेलाडी स्वतन्त्र छन् । हाम्रा खेलाडी अभ्यास गर्छन्, खेल्छन् । मन लागेको खाना पाउँदैनन् किनभने आम्दानी राम्रो छैन । शारीरिक र मानसिक सबलता दिने खाना पुग्दो नहुँदा पनि खेलसम्बन्धी संघबारे खेलाडी बोल्दैनन् । हाम्रा खेलाडी परनिर्भर छन् ।
तपाईं पो जापानमा भविष्य सुरक्षित राख्नुभएको छ र बोल्नुहुन्छ । अरु खेलाडीको अवस्था त्यस्तो छ त ?
खेलाडी एक भए एन्फाले केही गर्न सक्दैन । राष्ट्रिय टिममा नपरिएला कि भन्ने लोभ र डरले खेलाडी अपर्याप्त सुविधा हुँदाहुँदै पनि चुप लाग्न बाध्य छन् । एन्फा सुध्रियो भने सबथोक सुध्रिन्छ ।
साग फुटबल हेर्न दर्शक ओइरिएका थिए । लिगमा त रंगशालाका प्याराफिट खाली देखियो नि ?
लिगको स्तर घटेको छ । केटाकेटीको खेलजस्तो छ । यसको खेल छुटाउँदिनँ भन्ने खेलाडी छैनन् । लिग नभएको लामै समय भयो । महफ्वपूर्ण कुरा, नेपाली खेलाडीको गतिशीलता छ तर राम्रो अभिभावक नपाएर जति खेल स्तरमा निखार आउनुपर्ने हो, छैन ।