‘आफैँले बिर्सेको तस्बिरले ख्याति दिलायो’
विख्यात अमेरिकी सफ्टवेयर निर्माता कम्पनी एडोबीको भिडियो सम्पादन गर्ने प्रिमियर प्रोमा गत नोभेम्बरमा नेपाली फोटो छानिएको छ ।

विख्यात अमेरिकी सफ्टवेयर निर्माता कम्पनी एडोबीको भिडियो सम्पादन गर्ने प्रिमियर प्रोमा गत नोभेम्बरमा नेपाली फोटो छानिएको छ । अबको १८ महिना एडोबीको प्रिमियर प्रोको नयाँ भर्सन चलाउँदा सुरुमै द हिमालयन टाइम्सका फोटो पत्रकार स्कन्द गौतमले खिचेको तस्बिर आउनेछ ।
तपाईंको फोटोबारे एडोबीले कसरी चाल पाएछ ?
आफ्ना सिर्जनात्मक कामबारे जानकारी दिन विह्यान्स भन्ने एउटा वेबसाइट छ । संसारभरका मानिसले यहाँ आफ्नो सिर्जना राखेका हुन्छन् तर बेच्ने उद्देश्यले राखिँदैन । काम देखाउने मात्र हो । मैले पनि त्यहाँ आफ्नो फोटो सन् २०१६ मै राखेको थिएँ । त्यो फोटो एडोबीले हेरेछ र सम्पर्क गर्यो ।
तीन वर्षपछि कसरी छानियो त ?
मलाई पनि अचम्म लागेको छ । मैले नै उक्त तस्बिर राखेको बिर्सिसकेको थिएँ । मेरो फोटोको स्क्रिनसटसहित किन्न चाहेको इमेल आउँदा एकछिन त पत्याउनै सकिनँ । त्यसपछि कुराकानी अगाडि बढ्यो र सम्झौता भयो ।
उक्त फोटो खिच्ने योजना नै थियो ?
थिएन । म भक्तपुर सल्लाघारीमा बिस्केट जात्राको फोटो खिच्न गएको थिएँ । जात्रामा ‘मौतका कुवा’ भनिने प्रदर्शनी हुँदो रहेछ । मैले ठाडो भित्तामा फनफनी बाइक घुमाएको देखेर खिचेको हुँ ।
यो फोटोमा त्यस्तो के चीज छ, जसलाई एडोबीले प्रोमा राख्ने निर्णय गर्यो ?
भिडियो सम्पादनको सफ्टवेयर बनाउने कम्पनीले भिडियो नभई फोटो छानेकोबारे धेरैले जिज्ञासा राख्छन् । किन छान्यो, मैले पनि सोधेको छैन । मेरो विचारमा एकदमै तीव्र गतिको चाललाई फोटोमा क्याप्चर गरेको छु । भिडियो सम्पादनको काम पनि तीव्र रुपमै हुन्छ । यही कारण किनेको होला ।
उक्त फोटो खिच्दाको क्षण कसरी सम्झनुहुन्छ ?
बाइक घुमाएको आवाज नै मलाई अनौठो लागेको थियो । माथिबाट खिचेको राम्रो आएन । किन हो, मेरो मनले तलबाट खिच्न पाए हुन्थ्यो भन्यो । तर तीव्र गतिको मोटरसाइकल खसे ज्यान मैमाथि पर्ने भएकाले आयोजकले अनुमति दिएनन् । फकाएर मनाएँ र खिचेँ । डराई–डराई खिचेको एकदमै ‘लाइभ’ फोटो आयो । त्यसयता बर्सेनि उक्त मेलाको फोटो खिचे पनि त्यस्तो राम्रो आएन ।
एडोबीले फोटो लिएपछि अन्तर्राष्ट्रिय क्षेत्रबाट कामको अफर आएको छैन ?
छैन । बरु नेपालकै एउटा म्युजिक ब्यान्डले काम गर्ने प्रस्ताव राख्यो । उसले द्वन्द्वकालको कथालाई लिएर म्युजिक भिडियो बनाउँदै रहेछ । म फोटोको मानिस परेँ । कामचाहिँ भिडियोको छ । प्रोमोको फोटोजस्तै एंगलमा भिडियो खिचिदिनू भनेर कर गरेपछि काम गरेँ ।
फोटो पत्रकारितामा लाग्नुको कुनै प्रेरणा छ ?
विज्ञापन एजेन्सीमा ग्राफिक डिजाइनको काम गर्थें । खै किन हो, फोटो खिच्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । संयोगले एएफपीका फोटो पत्रकार प्रकाश माथेमासँग भेट भयो । उहाँले नै फोटो पत्रकारितासँग जोडिदिनुभयो ।
यो उपलब्धिपछि आफ्नो फोटो पत्रकारिता यात्रामा केही फरक महसुस भएको छ ?
अपेक्षा बढेको छ । त्यसअनुसार आफूलाई ग्रो गर्न सकिन्छ कि सकिँदैन भन्नेमा अन्योल छ ।
अन्योल किन ?
यो एकदमै खर्चिलो पेसा हो । उपकरणका हिसाबले हामी अरु देशका फोटो पत्रकारभन्दा धेरै पछाडि छौँ । सञ्चारगृहले यसमा लगानी गर्दैनन् । आफैँ गर्न महँगो छ । यस्तो प्रतिकूल स्थितिमा पनि हामीले अन्तर्राष्ट्रिय स्तरकै फोटो पत्रकारिता गरिरहेका छौँ ।