जसकाे समाचारले अन्तर्राष्ट्रिय अवार्ड जित्याे
द काठमान्डु पोस्टमा कार्यरत ओली विश्वका १ सय २५ मुलुकका खेल पत्रकारको समाचारलाई पछाडि पार्दै अवार्ड जित्ने एसियाकै पहिलो पत्रकार बने ।
द राइजिङ नेपालमा पत्रकारिता थाल्दा प्रज्ज्वल ओली पनि राजनीति र आर्थिक बिट हेर्थे । सानोमा खेलेको फुटबल सम्झेर उनले एक वर्षपछि नै खेल बिट समाए । त्यसको १५ वर्षपछि इन्टरनेसनल स्पोर्ट्स प्रेस एसोसिएसन (एआईपीएस) को आठ हजार डलरसहित उत्कृष्ट अवार्ड जिते ।द काठमान्डु पोस्टमा कार्यरत ओली विश्व का १ सय २५ मुलुकका खेल पत्रकारको समाचारलाई पछाडि पार्दै अवार्ड जित्ने एसियाकै पहिलो पत्रकार बने ।
जुन विषयमा लेखेर विश्वमै उत्कृष्टताको उपाधि पाउनुभयो, त्यो समस्याबारे सम्बन्धित निकायले केही सम्बोधन गर्यो ?
खेलकुदसम्बन्धी संघ वा राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट कुनै प्रतिक्रिया आएन । समाचार लेख्दा खेल संघसंस्था १ सय ९३ थिए भने ५० वटाले दर्ताका लागि आवेदन दिएका थिए । त्यस्ता संस्था अहिले त झन् बढे होलान् ।
खेल नभए पनि त्यससम्बन्धी संघचाहिँ किन खोलिने रहेछ ?
संघ खोलेपछि त्यसका पदाधिकारीको सामाजिक मर्यादा माथि हुने भयो । खेलसम्बन्धी अन्तर्राष्ट्रिय महासंघहरुको निम्तोमा विदेश भ्रमणमा जान पाइने अनि आफन्तलाई खेलाडी बनाएर लैजान पनि पाइने ।
व्यक्तिगत फाइदाकै लागि संघ बनाएको अन्तर्राष्ट्रिय महासंघलाई थाहा हुँदैन ?
थाहा पाएरै यो सब भइरहेको छ । महासंघले पनि हरेक देशमा संघ गठन भएपछि आफ्नो सञ्जाल विस्तार भएको देखाउन पाउँछ । राखेपले संघलाई मान्यता दिएपछि अन्तर्राष्ट्रिय महासंघलाई राजनीतिक फाइदा हुन्छ । खेलकुदमा थोरै बजेट हुने हाम्रोजस्तो मुलुकका झोले खेल संघलाई केही रकम दिएपछि उनीहरुका पक्का भोटर हुन्छौँ । महासंघले चुनावी समीकरणमा यस्ता संघलाई उपयोग/दुरुपयोग गर्न पाउँछ ।
यो प्रवृत्ति कसरी रोक्न सकिन्छ ?
अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरेर पदक भित्र्याउन सकिने सम्भाव्य खेल कुन–कुन हुन् भनेर राखेपले अध्ययन गर्नुपर्यो । प्राथमिकता निर्धारण गरेर बजेट छुट्याउनुपर्यो । जुन खेल सक्रिय नै छैन, त्यसमा बजेट खन्याउँदा सक्रिय खेलको विकासमा धक्का लाग्छ ।
यो समाचारबाट अवार्ड जित्ने अपेक्षा थियो ?
सुरुमा आवेदन हाल्दा जित्छु भन्ने फिटिक्कै थिएन । उत्कृष्ट ३० मा परेपछि केही आशा पलायो । उत्कृष्ट ३ मा पुगेपछि दुइटै समाचार पढेँ । मेरो समाचार यीभन्दा कमजोर छैन भन्ने लाग्यो ।
हाम्रो र विकसित मुलुकको खेल पत्रकारिताबीच के अन्तर रहेछ ?
युरोप र हाम्रो त तुलनै हुन सक्दैन । सूचनामा उनीहरुको असीमित पहुँच छ । कुनै खेलको तथ्यांक उनीहरु बसेकै ठाउँमा आइपुग्छ । हाम्रोचाहिँ लिन जाँदा पनि पाइँदैन । सूचना दिने निकायले योजनाबद्ध ढंगको सूचना राख्दैन । लेखन क्षमताका हिसाबले हाम्रो खेल पत्रकारिताले संसारभरका पत्रकारसँग प्रतिस्पर्धा गर्न सक्छ । नेपालले पाएको अवार्डले पनि यो कुरा पुष्टि गर्छ ।
उपाधि पाउनुअघि र पछि आफूमा के भिन्नता महसुस गर्नुहुन्छ ?
सुरुमा त म नि:शब्द बनेँ । पत्याउनै बेर लाग्यो । तर अहिलेचाहिँ यो उपाधिलाई नै आफ्नो चुनौती ठान्दै छु । हरेक काम गर्दा म सधैँ उपाधि जितेको रिपोर्ट सम्झन्छु र योभन्दा अझ राम्रो लेख्नुपर्छ भन्ने सोच राख्छु । सधैँ राम्रो लेख्नु आफैँमा चुनौती हो ।
तपाईंको समाचारले उत्कृष्टताको उपाधि पाए पनि रिपोर्टमा उठाइएको समस्या ज्यूँका त्यूँ रहेछ नि ?
यसका दुइटा पाटा छन् । पहिलो– हिजोआज पत्रकारिताको प्रभावकारिता कम भएको हुन सक्छ । दोस्रो– अंग्रेजी भाषाको पत्रकारिताले नेपालमा एजेन्डा सेटिङ गर्न सक्दैन । यही कुरा नेपाली भाषामा छापिएको भए कम्तीमा बहसको थालनी हुन्थ्यो ।
सम्बन्धित
‘कोरोनाले सबै क्षेत्र भत्किएपछि कृषिमा मात्रै सम्भावना देखेका छौँ’ (कृषि तथा पशुपन्छी विका...
'तीन वर्षपछाडि नेपालको कृषि व्यवस्था नयाँ स्वरूपमा आउनेछ'
सम्हाल्न नसक्ने स्थितिमा पुग्यौँ । प्रदेश र संघीय सरकारलाई भनिरहेका छौँ तर हाम्रो कुरा सुन...
‘विशेष स्वास्थ्य टोली नपठाए नरैनापुरको स्थिति नियन्त्रणबाहिर'
यो सबै पदको झगडा हो । नेताहरूमा धैर्य छैन । महाधिवेशन र अर्को चुनाव पर्खिन नसक्नेले जनताला...
'महाधिवेशनबाट ओली र प्रचण्डलाई बिदा गर्नुपर्छ'
जसलाई एजेन्डा तयार गर्न जिम्मा दिइएको हो, उसलै तयार नगरेपछि ओलीलाई किन दोष ? - सत्यनारायण ...
‘त्यसो भए नेकपा नै विघटन गरिदिऊँ’
सचिवालयको संरचनाको औचित्य नै भएन । अब सचिवालय विघटन गरेर स्थायी समितिमै सबै विषय छलफल गर्न...
‘नेकपाको सचिवालय विघटन गरौँ’
सबैभन्दा कम कमजोरी भएको नेता छान्ने हो भने माधव नेपाल हो । माधव नेपालमा मान्छे समातेर राख्...