माधव नेपालको सडक
वास्तवमा मतदातासँग भेट्ने भनेको चुनावका बेला मात्रै हो । अरु बेला भेट्न गए स्थिति के हुँदो रहेछ भन्ने शिक्षा त यसबाट पाइयो नि । अरु सांसदहरुका लागि पनि यो ज्ञानप्रद हुन सक्छ ।

हालै पूर्वप्रधानमन्त्री माधव नेपाल आफ्नो क्षेत्रको सडक अवलोकन गर्न बौद्ध–जोरपाटी पुगेका थिए । उक्त क्षेत्रमा सडक बिग्रेको वर्षौं भइसक्यो तर अहिलेसम्म बनाइएको छैन । त्यही नबनाइएको सडक निरीक्षण गर्न उनी त्यता पुगेका थिए । कमरेड नेपाललाई लागेको होला, बिग्रेको सडक हेर्न आफ्नो क्षेत्रको सांसद आएपछि मतदाता खुसी हुनेछन् । तर उल्टो भएछ । यतिविघ्न सडक बिग्रादा पनि सांसद कहाँ थियौ भन्दै मतदाता त झम्टिन पो आइपुगे । स्थिति झन्डै बिग्रिनेवाला थियो, कमरेड नेपाल गाडीमा सुत्त चढेर फुत्त निक्लिहाले । उनले राम्रै गरे । वास्तवमा मतदातासँग भेट्ने भनेको चुनावका बेला मात्रै हो । अरु बेला भेट्न गए स्थिति के हुँदो रहेछ भन्ने शिक्षा त यसबाट पाइयो नि । अरु सांसदहरुका लागि पनि यो ज्ञानप्रद हुन सक्छ ।
अब यो जोरपाटीबाट साँखु पुग्ने बाटो जो छ, त्यो कमरेड नेपालका लागि सानो बाटो होइन । त्यो भनेको उनको सत्तामा पुग्ने बाटोजस्तै हो । कमरेड माधवको सत्तासम्म पुग्ने बाटो पनि करिब–करिब यस्तै छ । जताततै बिग्रेको, भत्केको, धुलो उडेको । सललल गाडी गुड्ने पिच भनेको कहीँ छैन । गाडी एकछिन गुड्यो कि घ्याच्च रोकिइहाल्छ । त्यसमाथि बाटोमा भेटिने मतदाता यस्ता छन् कि देख्यो कि सहयोग गर्ने होइन कि घेरा हालेर संकटमा पार्ने । यस्तो तालको यात्राले कसरी पुगिने हो गन्तव्य ?