अधिनायकवाद फैलिँदै देउवासम्मै
सरकारको अधिनायकवाद त फैलिादै गएर अहिले देउवासम्मै पुगिसकेको रहेछ । सरकारले ल्याएको एजेन्डा देउवासम्मले त बोक्न बाध्य छन् भने योभन्दा ठूलो अधिनायकवाद अरु के होला र ?

प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवा यतिबेला अत्यन्त व्यस्त छन् । देशकै प्रमुख प्रतिपक्षी नेता हुन्, व्यस्त त हुनैपर्यो । उसै त पार्टीभित्र उनलाई काम नगर्ने नेता भनेर आलोचना गर्नेहरु प्रशस्त छन् । पार्टीभित्र काम नगर्ने नेता किन भन्छन् भने उनी वास्तवमा के काम गरिरहेका छन्, त्यो कसैलाई थाहा हुँदैन । थाहा नभएपछि आलोचना हुनु पनि स्वाभाविकै भयो ।
सायद यो पनि धेरैलाई थाहा छैन होला, उनी यतिबेला एमसीसी सम्झौता पारित गराउने काममा व्यस्त छन् । हुन त एमसीसी सरकारले ल्याएको प्रस्ताव हो तर यो प्रस्ताव असफल होला भनेर सरकारलाई भन्दा पनि विपक्षीलाई बढी चिन्ता लागिरहेको छ । त्यही भएर पनि विपक्षी नेता बढी व्यस्त भएका होलान् ।
गत साता पनि एउटा केस यस्तै भयो । प्रदेश ३ को नामकरण र स्थायी राजधानी तोक्ने मुद्दा थियो । सरकारले प्रस्ताव ल्याइहाल्यो । सरकारले ल्याएको त्यो प्रस्ताव सफल पार्न पनि विपक्षी पार्टीले बढी भूमिका खेलिदिनुपर्यो । अहिले पनि त्यही भइरहेको छ । प्रस्ताव त सरकारको हो तर चिन्ता विपक्षीलाई छ ।
देउवा अक्सर भन्ने गर्छन्, यो सरकार अधिनायकवादी हो । उनको भनाइ त सय प्रतिशत नै सत्य रहेछ । नपत्याए हेर्नुस्, सरकारको अधिनायकवाद त फैलिादै गएर अहिले देउवासम्मै पुगिसकेको रहेछ । सरकारले ल्याएको एजेन्डा देउवासम्मले त बोक्न बाध्य छन् भने योभन्दा ठूलो अधिनायकवाद अरु के होला र ?
(गत साता बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले आयोजना गरेको रात्रिभोजमा देउवा बोलाइएको थियो कि नाइँ ?)