सरकार त चलिरहेको छ नि, सानो उपलब्धि हो यो ?
देशमा रेल चलेन, कोही बात छैन । पानीजहाज पनि चलेन, कोही बात छैन । घरघरमा पाइपको ग्यास पनि चलेन, त्यसमा पनि कोही बात छैन । तर सरकार त चल्यो नि ।
प्रधानमन्त्री केपी ओलीको सरकारले दुई वर्ष पूरा गरेको छ । नेपाली जनता यसमा अत्यन्त खुसी छन् तथापि किन खुसी छन्, त्यो भने थाहा छैन । प्रधानमन्त्रीले पूरा दुई वर्ष सरकार चलाएरै देखाए भनेर खुसी भएका हुन् वा ओलीलाई सहादा–सहादा दुई वर्ष कटिहाल्यो, अब धेरै सहनु छैन भनेर खुसी भएका हुन्, त्यो उनीहरु नै जानून् ।
हामीलाई त यत्ति मात्रै थाहा छ कि सरकार दुई वर्ष चल्यो, यो सानो कुरा होइन । स्वयं प्रधानमन्त्री ओलीले नै भनिसकेका छन्, सरकार दुई वर्ष चल्नु आफैँमा पनि एउटा उपलब्धि हो । वास्तवमा हो पनि । प्रधानमन्त्रीले हास्यरसमा दिएको वाचानुसार देशमा रेल चलेन, कोही बात छैन । पानीजहाज पनि चलेन, कोही बात छैन । घरघरमा पाइपको ग्यास पनि चलेन, त्यसमा पनि कोही बात छैन । तर यी कुनै कुरा नचले पनि सरकार त चल्यो नि ।
अझ खोतल्ने नै हो भने देशमा नचलेका कुरा त अरु कति भेटिन्छन्– भेटिन्छन् । जस्तो, देशमा आएको लोकतन्त्र राम्ररी चलेन । चल्यो ? चलेन नि । गणतन्त्र त झनै चलेन । संघीयता त झन् चल्दै चलेन । राष्ट्रियता काठमाडौँमा अलिअलि चल्यो, कालापानीतिर पटक्कै चलेन । यति धेरै कुरा चलेनन् तर कोही बात छैन । किनभने यी कुनै कुरा नचले पनि सरकार त चल्यो नि । त्यो पनि पूरा दुई वर्ष ! अब सरकार नै चलिसकेपछि फेरि अरु के चल्नुपर्यो ?
सरकारी कार्यालय र रक्सी
गएको साताभरिको सामाजिक सञ्जालमा गण्डकी प्रदेशका मुख्यमन्त्री कमेरड पृथ्वी सुब्बा गुरुङ छाए । कारण थियो, आफ्नै कार्यकक्षमा बसेर रक्सी खाएको । रक्सी त उनले खाएका हुन् तर लाग्ने कामचाहिँ सामाजिक सञ्जाल हेर्नेहरुलाई भइदियो । किनभने तस्बिरमा भट्टीजस्तो जे देखिएको हो, त्यो उनको कार्यालय होइन, आफ्नै निवास रहेछ । पछि उनको वक्तव्य पनि आयो– साथीहरु, मैले रक्सी कार्यालयमा बसेर खाएको होइन, आफ्नै घरमा बसेर खाएको हुँ ।
त्यसो त रक्सी सरकारी कार्यालयमै बसेर खाए पनि के फरक पर्थ्यो र ! लाग्ने उति नै हो क्या रे । त्यसमाथि सरकारी कार्यालयमा रक्सी खान पाइँदैन भनेर कुनचाहिँ कानुनमा लेखेको छ ? सरकारी कार्यालयमा बसेर घुस खानुहुन्छ, कमिसन खानुहुन्छ, रक्सीचाहिँ खानु हुँदैन ? कि नभए सरकारी कार्यालयमा बसेर यो यो खानुहुन्छ, यो यो खानु हुँदैन भनेर बाहिरपट्टि नै बडापत्र लेखेर राख्नुपर्यो ।
अरुको के कुरा, प्रधानमन्त्री आफैँले पनि भनेका छन्, अहिले सरकारी कार्यालयहरुमा भ्रष्टाचार बढेको छ । भनेपछि सरकारी कार्यालयमा भ्रष्टाचार पनि हुँदो रहेछ । भएरै त बढ्यो । अब सरकारी कार्यालयमा भ्रष्टाचार गर्नुहुन्छ भने मापसे गर्न किन नहुने ?
सरकारी कार्यालयमा त्यति गर्न पाइएन भने जनतालाई ‘मुस्कानसहितको सेवा’ कसरी प्रदान गर्ने ? मुस्कानसहितको सेवा प्रदान गर्न मुखमा मुस्कान पनि त आउनुपर्यो नि । कि कसो ?
रचनात्मक समर्थन
रचनात्मक समर्थन खुसीको कुरा हो, नेपाली कांग्रेसको प्रमुख प्रतिपक्षीयता पनि दुई वर्ष पूरा भई तीन वर्ष प्रवेश भएको छ । यसमा पनि नेपाली जनता खुसी नै भएका होलान् । अझ मलाई त लाग्छ, देशमा खड्ग ओली सत्तापक्ष भएकामा जनता जति खुसी छन्, त्योभन्दा बढी कांग्रेस प्रमुख प्रतिपक्षी भएकामा खुसी भएको हुनुपर्छ ।
तर दु:खको कुरा के भने प्रतिपक्षीमा बसेर पनि कांग्रेसको कामचाहिँ केही देखिएन । भूमिगत रुपमा केही गरिरहेको छ भने त्यो अर्कै कुरा । भूमिमाथि देखिने गरीचाहिँ केही गरेको देखिएन ।
मैले कांग्रेसकै एक जिम्मेवार नेतालाई यसबारे प्रश्न गरेँ, ‘कांग्रेसले त प्रतिपक्षीमा बसेर केही काम गरेन भनेको सुन्छु । के भयो कांग्रेसलाई ?’
नेताजीले भने, ‘सरकारले चाहिँ के गर्यो त ? सरकारले पनि त केही गरेन नि ।’
मैले भनेँ, ‘म सरकारको होइन, प्रतिपक्षीको कुरा गर्दै छु । सरकारले त गरेन गरेन, प्रतिपक्षीले पनि गरेन भन्ने गुनासो छ ।’
उनले भने, ‘म पनि त्यही त भन्दै छु । सरकारले नै केही नगरेपछि प्रतिपक्षीले के गर्छ ? आखिर सरकारले केही गरेपछि न प्रतिपक्षीले विरोध गर्ने अवसर पाउँछ । सरकारले नै केही नगरेपछि प्रतिपक्षीले मात्र के गर्छ ?’
‘प्रतिपक्षीले केही नगरेपछि त सरकारलाई पूरै समर्थन गरेको भयो । सबै कुरामा समर्थनै मात्र गर्ने हो भने प्रतिपक्षीको के काम ?’ मैले सैद्धान्तिक प्रश्न उठाएँ ।
तर उनले व्यावहारिक उत्तर दिए, ‘सबै कुरामा समर्थन गरेको छैन । कामको आधारमा समर्थन गर्ने हो । सरकारले वाइडबडी किनेर भ्रष्टाचार गर्यो, त्यसमा हामीले समर्थन गर्यौँ । सरकारले ललिता निवासको जग्गा हिनामिना गर्यो, त्यसमा पनि हामीले समर्थन गर्यौँ । सरकारले यती समूहलाई सरकारी जग्गा दियो, त्यसमा पनि हाम्रो समर्थन रह्यो । कामको आधारमा रचनात्मक समर्थन गर्छौं भनेर त हामीले भनेकै थियौँ नि । यही हैन त रचनात्मक समर्थन भनेको ?’
नेताजीले यो उत्तर दिएको हो कि प्रश्न गरेको हो, मैले बुझिनँ ।
सम्बन्धित
अहिले संसद्मा भाषण ठोक्ने नेताहरुको कुरा सुन्नुस्, त्यो कुनै गँजडीको गफभन्दा फरक लाग्दै...
गँजडी संसद्मा गाँजा विधेयक
अलिकता हतार गरेकाले कुरा बिग्रेको हो किनभने पैसा भनेको त मेसिन ल्याएपछि छाप्ने हो । तर उन...
मेसिन ल्याउनुअघि नै पैसा छाप्न थालेपछि...
देशमा रेल चलेन, कोही बात छैन । पानीजहाज पनि चलेन, कोही बात छैन । घरघरमा पाइपको ग्यास पनि च...
सरकार त चलिरहेको छ नि, सानो उपलब्धि हो यो ?
एमसीसीमार्फत नेपाललाई जुन अनुदान आउनेवाला हो, त्यो नेपालले सहजपूर्वक ग्रहण गरेर अमेरिकालाई...
अमेरिकालाई सहयोग गर्नुपर्ने बेला !
पार्टीभित्र अब गुटबाजी गर्न पाइँदैन भन्ने निर्णय जो छ, त्यो सबै गुट मिलेर गरेको सामूहिक न...
गुटहरूको अन्त्य
सरकारको अधिनायकवाद त फैलिादै गएर अहिले देउवासम्मै पुगिसकेको रहेछ । सरकारले ल्याएको एजेन्डा...