अमेरिकालाई सहयोग गर्नुपर्ने बेला !
एमसीसीमार्फत नेपाललाई जुन अनुदान आउनेवाला हो, त्यो नेपालले सहजपूर्वक ग्रहण गरेर अमेरिकालाई सहयोग गर्नुपर्ने भएको छ । के गर्ने, कहिलेकाहीँ अनुदान दिएर होइन, लिएर पनि सहयोग गर्नुपर्ने अवस्था आउँदो रहेछ ।

अमेरिकाले नेपाललाई दिन लागेको ५० अर्ब रुपैयाँ विवादमा परेको छ । अमेरिका जसरी हुन्छ, नेपालले यो पैसा लिइदिए हुन्थ्यो भन्ने विचार राख्छ तर नेपालभित्र भने यही पैसाका कारण पार्टी–पार्टीमै मारामार छ ।
आफूहरुले दिन लागेको यो अनुदान पैसा लिइदिनुपर्यो भनेर अमेरिकी राजदूत दौडादौड गरिरहेका छन् । एमसीसीको त उपाध्यक्ष नै अनुदान लिइदेऊ भनेर नेताहरुको घरघरमा गइरहेका छन् । वास्तवमा यो त संसारकै पहिलो त्यस्तो अनुदान हुनुपर्छ, जो लिनलाई होइन, दिनलाई ‘लबिइङ’ चलिरहेको छ । कृपया यो अनुदान लिइदेऊ न भनी अमेरिका तातेको तात्यै छ ।
अब अमेरिकाजस्तो देशले यति धेरै आग्रह गरेपछि हामीले पनि मान्दा नै उचित होला कि ? पैसा भनेको यस्तो वस्तु हो, जुन लिनलाई अरुसँग आग्रह गर्नुपर्छ । त्यसमाथि अनुदान प्राप्त गर्नु त झनै गाह्रो कुरा भयो । तर हाम्रो हकमा यो उल्टो भइरहेको छ । अनुदान लिइदेऊ न भाइ भन्दै अमेरिकै हाम्रै आँगनमा आइरहेको छ । नेपालले अनुदान नलेला कि भनेर अमेरिकीहरु थर्कमान भइरहेका छन् ।
अमेरिका त नेपालको पुरानो साथी हो । परेका बेला हामीलाई धेरै सहयोग गरेको छ । तर अबचाहिँ नेपालले अमेरिकालाई सहयोग गर्ने बेला आएको छ । एमसीसीमार्फत नेपाललाई जुन अनुदान आउनेवाला हो, त्यो नेपालले सहजपूर्वक ग्रहण गरेर अमेरिकालाई सहयोग गर्नुपर्ने भएको छ । के गर्ने, कहिलेकाहीँ अनुदान दिएर होइन, लिएर पनि सहयोग गर्नुपर्ने अवस्था आउँदो रहेछ ।