गुटहरूको अन्त्य
पार्टीभित्र अब गुटबाजी गर्न पाइँदैन भन्ने निर्णय जो छ, त्यो सबै गुट मिलेर गरेको सामूहिक निर्णय हो । सबै गुटको सामूहिक निर्णय भएकाले अब गुटबाजी हुँदैन भन्नेमा पूरै विश्वास गर्न सकिन्छ ।

अन्तत: पार्टीले गुट–उपगुट जम्मै अन्त्य गर्ने निर्णय गर्यो किनभने गुटबाजीले पार्टीलाई धुजाधुजै पार्ने हो कि भन्ने चिन्ता सबैलाई लागिसकेको थियो । नेताहरुले पनि बैठकमा त्यही कुरा राख्न थालेका थिए । अत: पार्टीमा अबउप्रान्त गुटबाजी गर्न पाइँदैन भन्ने निर्णय गर्न पार्टीलाई कुनै गाह्रो भएन ।
निर्णय त भयो तर शंका भने कायमै छ– के पार्टीबाट गुटबाजी सााच्चै अन्त्य होला ? धेरै नेताले यसमा शंका प्रकट गरिरहेका छन् तर मलाई यसमा पटक्कै शंका छैन । शंका किन छैन त भन्दा पार्टीभित्र अब गुटबाजी गर्न पाइँदैन भन्ने निर्णय जो छ, त्यो सबै गुट मिलेर गरेको सामूहिक निर्णय हो । गुटबाजी गर्न पाइँदैन भन्ने निर्णय सबै गुट मिलेर गरेको हो । सबै गुटको सामूहिक निर्णय भएकाले अब गुटबाजी हुँदैन भन्नेमा पूरै विश्वास गर्न सकिन्छ ।
पार्टीले यसका लागि एउटा कार्यदल पनि बनाएको छ । कार्यदलमा पनि सबै गुटबाट एक–एक जना प्रतिनिधि रहेका छन् । यदि कतै गुटबाजी गरेको देखियो भने सबै गुटका नेताहरु बसेर त्यसको समाधान निकाल्ने निर्णय पनि भएको छ । कुनै गुटले गुटबाजी गरेको भेटियो भने अर्को गुटले त्यसको खुलेरै आलोचना गर्न पाइन्छ भन्ने आचारसंहिता पनि बनाएको छ । अहिलेसम्म त्यस्तो अवस्थाचाहिँ आइहालेको भने छैन किनभने पार्टीबाट गुटबन्दी निमिट्यान्न पार्न सबै गुट कम्मर कसेरै लागिरहेका छन् । यसलाई कसरी हटाउन सकिन्छ भनेर सबै गुटबीच कहिले सामूहिक रुपमा त कहिले आ–आफ्नै गुटभित्र पनि नियमित मन्थन भइरहेको छ । गुटबाजी अन्त्य गर्न यति कठोर प्रयास भइरहेको छ भने त्यो कसरी अन्त्य नहोला र ?