एमसीसी र सीसी
ढिकाबाट टुक्रा–टुक्रा हुनु नै कम्युनिस्ट पार्टीको मौलिक विशेषता हो । जो पार्टी टुक्रा हुँदैन, त्यो कम्युनिस्ट पार्टी नै हुन सक्दैन ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीलाई अबचाहिँ पैसाले बिगार्लाजस्तो छ । त्यो पनि अरु पैसा होइन, अमेरिकी पैसा । अमेरिकाले एमसीसी योजनाअन्तर्गत नेपाललाई पैसा दिने भनेर प्रस्ताव के ल्यायो, नेकपामा झगडा सुरु भइहाल्यो । पैसा लिने पक्ष एकातिर, पैसा नलिने पक्ष अर्कोतिर । यदि यो विवादलाई समयमै समाधान गर्न सकिएन भने नेकपा टुक्रिन पनि के बेर ! एकातिर नेकपा (एमसीसी), अर्कोतिर नेकपा (सीसी) । कम्युनिस्ट पार्टीलाई त टुक्रा हुन एक मिनेट पनि लाग्दैन । किनभने ढिकाबाट टुक्रा–टुक्रा हुनु नै कम्युनिस्ट पार्टीको मौलिक विशेषता हो । जो पार्टी टुक्रा हुँदैन, त्यो कम्युनिस्ट पार्टी नै हुन सक्दैन । तर संसारभरका कम्युनिस्टलाई अमेरिकी पैसाले बिगार्छ भन्थे । हो रहेछ । यहाँ पनि अमेरिकी पैसाकै कारण विवाद आइरहेको छ ।
यसै प्रसंगमा एउटा सन्दर्भ जोडौँ । केही समयअघि मात्रैको कुरा हो, प्रदेश ३ को नाम बाग्मती राख्ने प्रस्ताव पार्टीले एकमतले स्वीकृत गरेको थियो । कसैले कुनै विवाद गरेन । आफ्नै देशका पहिचानवादीले त्यत्रो विरोध गरिरहेको विषयमा कुनै विवाद भएन । तर कसैले विरोध नगरेको एमसीसीमा चाहिँ किन यत्रो विवाद ? अब यो ‘एमसीसी’ भन्ने योजनालाई पनि ‘बाग्मती’ भन्ने नाम दिइदिउँm क्या हो ? त्यसो भयो भने कसैले विरोध गर्दैनन् कि ?