आराम होइन, अझै काम
साताको दुई पटक डायलासिस गर्नुपरे पनि देश र जनताको सेवा उनले गरिरहेका छन् । यो सानो देशप्रेम होइन । हाम्रो देश सानो भए पनि यसप्रतिको प्रेम भने ठूलो छ ।

अब कसैलाई भन्नुपर्ने कुरै होइन, प्रधानमन्त्री केपी ओली अचेल साताको दुई पटक डायलासिस गर्दै छन् । पहिले–पहिले त यो पनि समाचारको विषय बन्ने गथ्र्यो, प्रधानमन्त्री साताको दुई पटक डायलासिस गर्छन् । पछि त्यो समाचार बन्न छाड्यो । त्यसको ठाउँमा यो समाचार बन्न थाल्यो, डायलासिस गर्नुपर्ने मान्छे पनि प्रधानमन्त्री ! सायद यो प्रधानमन्त्रीलाई व्यंग्य हान्न बनाइएको समाचार हुनुपर्छ । तर त्यो व्यंग्यले प्रधानमन्त्री ओलीलाई हुनेवाला भने केही पनि छैन । बरु उल्टो उनको गरिमा अझ बढाइदिनेछ । देश र जनताप्रति प्रधानमन्त्रीको जिम्मेवारी कति असीम छ, त्यो त यो डायलासिसले देखाउँछ ।
सातामै दुई पटक डायलासिस गर्नुपर्ने अवस्था भइसक्यो तर पनि उनी देश चलाइरहेका छन् । अरु भए त यतिबेलासम्म घरमै आराम गरेर बसिसकेका हुन्थे । तर उनको शब्दकोशमा आराम भन्ने शब्दै छैन । प्रधानमन्त्री त आराम होइन, काम गरिरहेका छन् । बरु उनीभित्रको किड्नीले काम गर्न छाडिसक्यो, प्रधानमन्त्रीले काम गर्न छाडेका छैनन् । प्रधानमन्त्री ओली एक देशप्रेमी नेताका रुपमा पहिल्यैदेखि लोकप्रिय हुन् । उनको लोकप्रियता अहिले झन् तिखारिएको छ । साताको दुई पटक डायलासिस गर्नुपरे पनि देश र जनताको सेवा उनले गरिरहेका छन् । यो सानो देशप्रेम होइन । हाम्रो देश सानो भए पनि यसप्रतिको प्रेम भने ठूलो छ ।