दौरा–सुरुवालीकृत माओवादी
माओवादी नेताहरु अहिले एकपछि अर्को दौरा–सुरुवालीकृत हुँदै गइरहेको देख्दा सर्वसाधारण भने चकित छन् ।

कमरेड अग्नि सापकोटा सभामुख नियुक्त हुनेबित्तिकै नयाँ पोसाकमा प्रकट भए । अर्थात्, उनी राष्ट्रिय पोसाक दौरा–सुरुवालमा प्रकट भएका हुन् । यसलाई उनको परिवर्तित पोसाकभन्दा फरक नपर्ला । कमरेड सापकोटा मुलुक परिवर्तनका लागि राजनीतिमा लागेका योद्धा हुन् । अत: सभामुख हुनेबित्तिकै उनले आफूलाई परिवर्तन गरेका छन् । त्यसको सुरुआत पोसाकबाट भएको छ ।
जनयुद्धमा सक्रिय भइरहेका बेला माओवादी नेताहरु दौरा–सुरुवाललाई पञ्चायती पोसाक भन्ने गर्थे । जनयुद्ध सकिएर सत्तामा पुगेपछि भने उनीहरु आफैँ क्रमश: ‘दौरा–सुरुवालीकरण’ हुँदै गए । पहिले उपराष्ट्रपति नन्दबहादुर पुनले दौरा–सुरुवाल ग्रहण गरे । त्यसपछि निवर्तमान सभामुख कृष्णबहादुर महरा दौरा–सुरुवालमा लागे । एक पटक गृहमन्त्री रामबहादुर थापा पनि दौरा–सुरुवालतिर लागेका थिए । यसरी माओवादी नेताहरु क्रमश: दौरा–सुरुवालीकरण हुँदै गइरहेको देख्छु, म । त्यसको लेटेस्ट भर्सनको रुपमा आएका हुन्, कमरेड अग्नि । गत साता सदनमा सभामुख जित्नेबित्तिकै जुन वेगमा उनी प्रधानमन्त्री केपी ओलीतिर दौडिए, त्यो देख्दा लाग्छ, उनको ‘दौरा–सुरुवालीकरण’ अरुको तुलनामा अझ बेगवान छ ।
माओवादी नेताहरु अहिले एकपछि अर्को दौरा–सुरुवालीकृत हुँदै गइरहेको देख्दा सर्वसाधारण भने चकित छन् । त्यो हुनु स्वाभाविक पनि हो किनभने मान्छेले पोसाक लाज छोप्न लगाउने हो । तर माओवादी नेताहरुको लाज दौरा–सुरुवालले छोपेको छैन, झन् उदांगो पारिदिएको छ । यस्तो अवस्थामा मान्छे चकित नभए अरु के हुन्छ ?