नयाँ छिमलको अनुहार
कविता ज्यादै निरंकुश विधा लाग्थ्यो, कवि सिल्भिया प्लाथलाई । त्यसैले जीवनीपरक उपन्यास लेखिन्, द बेल जार ।

अंग्रेजी साहित्यमा उहिल्यै आएको उपन्यासको उभार देखिएको छ, नेपाली साहित्यमा । त्यसैले नयाँ, पुराना कवि आफ्नो विधामा रमाउन सकेका छैनन् । उनीहरूका खबर सोध्नै पर्दैन । सो ध्यो भने एउटै जवाफ आउँछ, उपन्यास लेख्दै छु ।
कविको संख्या प्रशस्त छ । कविता पढ्ने, सुन्ने मञ्च पनि थुप्रै छन् । तर, कविताबाटै वाक्कदिक्क छन् कविहरू नै । कौडीकै भाउमा छ कविता । त्यसैले सबका सब उपन्यास लेख्ने ध्याउन्नमा छन् ।
ताजुब कति खेर लाग्छ भने कवितामै कहलिएका स्रष्टाहरू नै हाकाहाकी राजनीतिक प्रपोगान्डा शैलीमा भन्छन्, 'आख्यान लेखे घर बन्छ, कविता लेखे सालिक ।' जुगजमाना पनि सालिकको भन्दा पैसा छाप्ने मेसिनकै छ । तर, बिक्रीकै आधारमा कविताको असली निक्र्योल हुन सक्दैन ।
सिल्भिया प्लाथको आत्मस्वीकृति पढ्दा लाग्छ, कविता सजिलो विधा हुँदै होइन । यसमा निरन्तर अभ्यास, शिल्प र दक्षता चाहिन्छ । त्यसैले त कविताका हरफहरू सूत्र र सूक्ति बन्छन् । कलाको कठिनतम अभिव्यक्तिलाई सामान्य शाब्दिक-क्रीडा मात्र मान्ने कविको पनि अभाव छैन ।
०५० को दशकपछिका कविका ४५ थान लामा, छोटा रचनाको संकलन नेपाली कविताको समकालीन स्वर पढ्दा पनि त्यस्तै लाग्छ । यसमा कवितालाई महान् साधना र वाक्छल या तुकबन्दी मान्ने दुवै थरी कवि छन् ।
संकलनमा नयाँ छिमलका कविहरूले प्राथमिकता पाएका छन् । तर, अधिकांशको समस्या के छ भने अग्रज र समकालीन कविहरूका छाप बोकेका छन् । यसको अर्थ प्रभाव वर्जित कुरा पनि होइन । कोही भूपी शेरचनको स्कुलमा छन् त कोही मोहन कोइरालाको । भूपी मार्काले कोइराला मार्कालाई, कोइराला मार्काले भूपी मार्कालाई कवि होइन भन्ने अवस्था पनि छ । कित्ताकाटमा रमाइरहेका कविहरूलाई एकमुष्ट पढाउने कोसिस गरेका छन्, सम्पादक वियोगी बुढाथोकीले ।
त्यसो त यस्ता संकलन वर्षैपिच्छे लोकपि्रय, कालजयी, प्रसिद्ध, प्रख्यात इत्यादि विशेषण जोडेर कसै न कसैले निकालेकै हुन्छ । तिनले आफ्नै नेराघेरा, गुट, उपगुट, पार्टीलाई समातेका हुन्छन् । वियोगीले त्यसमा निकै चातुर्य देखाएका छन् ।
सकेसम्म सबैलाई समेट्नु उनको खुबी हो । यस्ता संकलनको समस्या के भने चाहेकालाई समेट्न मुस्किल हुन्छ, नचाहेकालाई समेट्नुपर्ने हुन्छ । त्यसो त नेपाली लेखक संघको एउटा गो ष्ठीमा वाचन गरिएका रचना यसमा समेटिएका छन् । तैपनि, पछिल्ला दशकमा देखिएका काव्यिक प्रचलन र विचलनका बारेमा पर्याप्त जानकारी मिल्छ ।
प्रेम, प्रकृति, द्वन्द्व, निराशा र राष्ट्रियताका साथै शान्तिको आकांक्षा अभिव्यक्त भएका छन् अधिकांश कवितामा । कविहरूमा युगीन शोषण, गरिबी, पछौटेपन र युद्धको विरोधका साथै मानवीय मूल्य र अस्तित्वको खोजी र परिवर्तनको चाहना छ ।
सबथोक छ गाउँमा
सम्झनुपर्ने जति सबै गाउँमै छन् ।
- बाबु त्रिपाठी
म निदाएपछि नै
यो घरको सम्पन्न धरती लुटेर
अभाव र अनिकाल सुरु भएको हो ।
- चन्द्रवीर तुम्बापो
जे गर्दा पनि समय त हिँडेको हिँड्यै छ
समयलाई कुर्नु समय-खर्च मात्र हो
जिन्दगी बाँचेकै छु भन्नु पनि समय-खर्च मात्रै हो ।
- छम गुरुङ
यति मात्र होइन, नयाँ छिमलकै उदीयमान कवि विमला तुम्खेवा, रमेश सायन, राबत, सरस्वती प्रतीक्षा, केशव सिलवाल, निरज भट्टराई, विश्व सिग्देल, स्वप्निल स्मृति, शकुन्तला जो शीलगायतले पनि आफ्नो उम्दा सम्भावना देखाएका छन् । उनीहरूको काव्यिक कौशल स्वागतयोग्य छ । संकलनले लैंगिक रूपमा पनि सन्तुलन मिलाउन खोजेको छ । यसमा १४ महिला कवि छन् ।
समय र समाजसँग संवादका निम्ति काव्यिक साक्षरता चाहिन्छ । प्रत्येक कालखण्डमा असली कविता थोरै मात्र लेखिन्छन् । भाषा, प्रयोग, शैली तथा विषयगत विविधताको हिसाबमा हेर्दा यी कविहरू नयाँ व्याकरणको खोजीमा देखिन्छन् ।
संकलनको सीमा के हो भने केही दशकदेखि नै हरेक संकलनमा परेका चल्तापुर्जा कवि छन् । त्यो पनि एउटै कविता । उनीहरूका कवितामा खासै खोट नभए पनि नवीनताका निम्ति जरुरी देखिँदैन । दोहोर्याउनु, तेहेर्याउनुको माने पनि लाग्दैन । नयाँ संस्करण आइसकेको सन्दर्भमा कतिपय त असान्दर्भिक पनि भइसकेका छन् ।
पुस्तकका सराहनीय पक्ष गोविन्दराज भट्टराईको आलेख पनि हो । 'समकालीन विश्वमा कविताको मूल्य र नेपाली सन्दर्भ' शीर्षक लेखनी पठनीय छ । पाश्चात्य जगत्मा सन् १९५० मै सुरु भएको समकालीनता नेपाली कवितामा ०३६ मा बल्ल आइपुग्यो । खासमा समकालीनता काव्यिक प्रवृत्ति या सञ्चेतना हो । यसमा थुप्रै वाद, विचार र धार समेटिन्छन् ।
त्यसो त संकलित कवितामा सकारात्मक भन्दा नकारात्मक प्रवृत्ति नै मुखरित छन् । भाषिक सरलताका नाममा सपाट वर्णन, विचारको आग्रह अनि शिथिल कलापक्ष, प्रयोगका नाममा स्तरहीन रचना र राजनीतिक पूर्वाग्रह समकालीन कविताका सीमा हुन् ।
नेपाली कविताको समकालीन स्वर
सम्पादक : वियोगी बुढाथोकी
प्रकाशक : शिवपुरी साहित्य समाज
पृष्ठ : ८४
मूल्य : १७० रुपियाँ
लन्डनमा कमरेड भाउजू
- प्रदीप नेपाल
बेलायतवासी नेपाली साहित्यकार कृष्ण बजगाईंको पाँचौँ कृति हो, कमरेड भाउजू । यसअघि दुइटा लघुकथासंग्रह प्रकाशित गरेका बजगाईंले जीवनको भोगाइलाई कथाको रूप दिएका छन् । १५ वर्षभन्दा बढी डायस्पोराको बसाइका क्रममा आफूले भोगेका यान्त्रिक जीवनशैली र त्यहाँ देखे/सुनेका कुरालाई टपक्क टिपेका छन् ।
यसरी बनाएका कथाहरूको मूल पाटोचाहिँ व्यंग्यचेत हो । यो सत्यको उद्घाटन संग्रहको शीर्षकले नै गरेको छ । कमरेडका पछाडि न दाजु लगाइन्छ, न त भाउजू । कमरेड आफैँ पूर्ण परिचयको शब्द हो । तर, कृष्ण बजगाईंले 'कमरेड भाउजू' भेटेका छन् लन्डनमा ।
चित्रणमा निर्मम देखिन्छन् कथाकार । कमरेड भाउजू शीर्षक कथामा पढ्न पाइन्छ, 'केही सहभागीहरू बियर र हि्वस्कीका गिलास समाएर राष्ट्रिय चिन्तनमा डुबेका थिए । ...कोही नेपालमा सरकार ढाल्ने र नयाँ सरकार बनाउने योजनाका गफ हाँकिरहेका थिए । उनीहरूको कुराको निचोड थियो- नेपालमा सरकार चलाउन सक्ने क्षमता भएका मानिस नै छैनन् ।'
युरोप घुम्दै पछिल्लो समय बेलायत पुगेका कृष्ण बजगाईंको कथा सम्पूर्णतामा उनकै भाषामा डायस्पोरिक छ । नेपालसन्दर्भ त आइरहन्छ घरीघरी तर सबैजसो कथाको मूल भाग युरोप छ, त्यसमाथि पनि बेलायत छ । नेपाली कामरेडहरूको विद्रुपण अनौठो ढंगबाट चित्रण गरिएको छ । दोस्रो 'कमरेड' कथाको निष्कर्षमा कथाकार लेख्छन्, 'पार्किङ गरिएको गाडीभित्र ल्याम्पपोस्टको मधुरो प्रकाशको उपस्थिति थियो । गाडीभित्र मौनता थियो । कमरेड विश्वास पूरै पुँजीवाद तथा अवसरवादी भएको ठहर गरे, कमरेड अटलले । कमरेड अटल अझै पनि जडवादी कम्युनिस्ट नै रहेको ठोकुवा गरे, कमरेड विश्वासले । दुवै जना एकअर्कालाई मात्र हेरिरहेका थिए, मौन ।'
नेपाली शिक्षा पद्धतिको बिजोग चर्चा पनि भेटिन्छ कथामा । लेखेका छन् कथाकारले, 'आफूले एमए पास गरेको डिग्री दुई-चार वर्ष अरबको चक्कर काटेर आएको आठ कक्षा फेल खडानन्दको सीपसँग दाँज्छु । उसले धेरै कमाएको देख्छु ... नेपालको बोक्रे शिक्षाको धाक उतै मात्र चल्छ । यता त सीप वा पाखुरी चाहिन्छ बाँच्न ।' यो कथाको शीर्षक हो, 'तेस्रो कुकुर' । युरोपेली मालिक्नीको कागजी लोग्ने हुन्छ, तेस्रो कुकुरको मूलपात्र । तर, कामचाहिँ कुकुर स्याहार्ने नोकर । स्वास्नीसँग एक साँझ पनि सँगै सुत्न नपाएको लोग्नेलाई हकार्दै स्वास्नी आदेश दिन्छे, 'मलाई खुसी राख्न मेरा कुकुरहरूलाई ठीकठाक राख्नू ।' मूलपात्रकी स्वास्नीका दुइटा मात्र कुकुर हुन्छन् । मूलपात्रले अन्तिममा मात्र थाहा पाउँछ, आफू तेस्रो कुकुर भएको कुरा ।
वाह ! रूखमा नोट फलेको सपना देखेर दलाललाई पैसा खुवाउँदै, चाहिँदा नचाहिँदा कष्ट खेप्दै जान चाहने हाम्रा युवाको सपनाको युरोपेली समाज ! बजगाईंको युरोपेली समाजप्रति असहमति अनुभव हुन्छ, उनका डायस्पोरिक कथाहरू पढ्दा । त्यो समाजमा गे हुन्छन्, सम्मानित जीवन बाँचेका । लेस्बियनहरूलाई स्थानीय समाजले घृणा गर्दैन । कथाकारले दुइटा लेस्बियन कथा लेखेका छन् भने एउटा गे कथा लेखेका छन् । उनको मनोआग्रहसहितको प्रस्तुतिले नेपाली पाठकलाई भने शान्ति नै दिन्छ ।
हाम्रो समाजमा अझैसम्म पनि विकृति र विकार मानिने यस्ता विवाहको सिकार युरोप पुगेका हाम्रा नेपालीले कसरी हुनु परिरहेको चित्रण छ, 'मौन युद्ध' शीर्षक कथामा । नेपालको कुनै बाल आश्रममा आएका एक जोडी विदेशीले काले नाम गरेको अनाथ बच्चालाई मिलनविन्दु नाम दिएर युरोप लैजान्छन् । बाउआमाले दिने माया र निर्वाह गर्नुपर्ने दायित्व पनि पूरा गर्छन् । त्यही क्रममा उनीहरू एकअर्कासँग छुट्टन्िछन् । बाबुआमा छुट्टनिे कारण थाहा नपाएको मिलनविन्दु आमासँग कारण खोज्छ । त्यतिबेला मात्र उसलाई थाहा हुन्छ, नेपाल जाँदा महिला हर्मोन खाइरहेकी आमा यथार्थमा केटो रहेछ र त्यो केटो बुढिँदै गएपछि बाबु हुनेले अर्को युवा गेसँग बिहे गरेको रहेछ ।
लेस्बियन स्वास्नीको सिकार भएको अर्को एउटा पात्र भेटिन्छ, 'म सिसिफस' शीर्षकको कथामा । लोग्नेको काम रेस्टुराँको ढोकामा कहिले नेपाली पोसाक त कहिले शेर्पा अनि कहिले तराइर् वासीको पोसाकभित्र समेटिएर सलाम गर्ने मात्र हुन्छ । लोग्ने त्यही रेस्टुराँको एउटा सुविधासम्पन्न कोठामा बस्छ । तर, उसकी स्वास्नी कहाँ बस्छे, उसलाई थाहा हुन्न ।
नेपालमा हुँदा हुन नसक्ने पारिवारिक विघटन, युरोपेली समाजमा कसरी हुँदो रहेछ भन्ने कथा पनि पढ्न पाइन्छ संग्रहमा । पति हुन्छ वैज्ञानिक, पत्नी हुन्छे गृहिणी । एउटा अनुसन्धानमा हे लिएको मान्छे । पत्नी हुन्छे, लन्डनको रमालोमा रमझम गर्न पाइन्छ भनेर वैज्ञानिकको पछि पछि लागेर आएकी महिला । वैज्ञानिक विज्ञानमै हराउँछ, रमझम गर्न चाहने महिला पल्लो अपाटर् मेन्टमा बसेको भारतीयसँग कतै हराइसकेकी हुन्छे ।
नेपाली मनको कथाकारले पश्चिमी सभ्यतालाई सकार्न नसकेका कारण देखेका धेरै नकारात्मक पक्ष कथामा समेटिएका छन् । तर, युरोपको यथार्थ यही त हो । नक्कली बिहे, सम्झौताको बिहे, गे बिहे, लेस्बियन बिहे, कन्ट्रयाक्टको बिहे हामीलाई पाच्य हुँदैनन् । नेपाली समाज बिस्तारै भर्जिनिटीबाट बाहिर निस्कन थालेको छ । तर, अझै यस्ता अनौठा बिहेलाई पचाउन सक्ने अवस्थामा पुगेको छैन । यति मात्र होइन, फगत पैसा कमाउने उद्देश्यले नक्कली विवाह र नक्कली छोडपत्रको कार्यलाई पनि कथाकारले राम्रो मानेका छैनन् । त्यसैले यताका नेपाली पाठकका लागि व्यंग्यचेत र असहमतिले भरिएका उनका कथा पढौँ पढौँ लागिरहने खालका छन् ।
थप दुइटा कथा मार्मिक छन् । एउटा 'मिडिया मुस्कान' र अर्को 'गणतन्त्रपछिको प्रेम' । यी दुवै कथा नेपालको हिंसात्मक युद्धसँग जोडिएका छन् । यी दुवै कथामा व्यंग्यचेत नै पाइन्छ । संग्र हका सबैभन्दा सुन्दर कथा पनि यिनै हुन् ।
कमरेड भाउजू
लेखक : कृष्ण बजगाईं
प्रकाशक : शब्दार्थ प्रकाशन
मूल्य : १७४ रुपियाँ