प्रेम, प्रेम र प्रेम
महसुस एक उच्छ्वास तर आयाम र प्रकृति अनेक, प्रेमको । अदृश्य तर सबैभन्दा बढी देखिने पनि प्रेम नै ।

कवि हेमन यात्री आफ्नो भनाइ सुरु गर्छन् प्रसिद्ध प्रेम कविताहरूको सँगालो आफ्नै छाया पछ्याएरमा । प्रेमका विविध आयाम समेटिएका माधव घिमिरे, वैरागी काइँला, तुलसी दिवसदेखि युवाकवि रमेश सायनसम्मका प्रेमिल कविताहरू समेटिएका छन्, यस संग्रहमा ।
जीवन जस्तो भोगिन्छ, त्यसरी नै हामी आफ्नो परिभाषाको दायराभित्र अटाइदिन्छौँ प्रेमलाई । सम्भवतः संसारमा सबैभन्दा बढी आलोचना गरिएको र सम्मान प्रकट गरिएका चीजमध्ये एक हो प्रेम । प्रेम कवि जय छाङ्छाको बुझाइको जस्तो सिर्जना हुन सक्छ । उनी प्रेमलाई सुनाखरीको कोपिला फक्रनुमा देख्छन् । फेरि प्रेम कवि फूलमान वलको 'भ्यालेन्टाइन डेको जून'मा जस्तो धोका र फरेवी पनि हुन सक्छ । सामाजिक विकृतिको माध्यम, सोझी गाउँले केटीलाई फसाएर स्वार्थ पूर्ति गर्नु पनि हुन सक्छ यो । यही प्रेम कवि सीमा आभासलाई जस्तै स्वर्गीय आनन्द प्रदान गर्ने माध्यम पनि हुन सक्छ, यसरी:
एक पंक्ति मुस्कुरायौँ हामी
तिम्रो त्यही मुस्कानमा मैले
अनन्त अनन्त
मेरो स्वर्ग देखेँ ।
प्रेम वास्तवमै विचित्र छ । फरक अनुभूति, महसुस अनि भोगाइ । कवि तुलसी दिवसको 'रातो फूलको कथा'ले चकित पारिदिन्छ । समीप हुँदा ख्याल नभएको व्यक्ति जब संसारमा छैनन् भन्ने खबर आउँछ, त्यसपछि एकाएक उनीप्रति उर्लिएको प्रेम छ त्यसमा । साँच्चै जीवन विडम्बनाका पत्रहरूमा जकडिएको छ । दिवस भावविह्वल मन पोख्छन्:
मरिसकेको छु म बाँचेर पनि
चिसो लास उसका लागि
तर बाँचेकी छ ऊ मरेर पनि
खालि मेरो जीवनका लागि ।
प्रेम यही र यस्तै हो भन्ने दुस्साहस गर्न सक्दिनँ म । अलिकति मेरो बुझाइ मात्र हुन्, मेरा शब्दहरू । यस संग्रहभित्रका कवितामा पोखिएका सुन्दर भावसँग मिलाउन खोजेकी मात्र हुँ, आफ्नो बुझाइ । हामीले बाँचिरहेको समय नियाल्दा लाग्छ, बदलिएको छ प्रेम । प्रेम मनबाट उपि|mएर दिमागमा सरेको छ । यसलाई प्र विधिले असर गरेको छ र 'मेकानिकल' भएको छ यो । कवि विप्लव ढकाल यही बदलिएको 'भर्चुअल' प्रेममा मस्त युवाको कहानी उप्काउँछन् 'प्रेमको चङ्गा'मार्फत ।
प्रेमलाई इन्टरनेटका पानाभरि महसुस गर्छन् आजका युवा । एउटै ओछ्यानमा सुतिरहेका श्रीमान्-श्रीमतीबीच आत्मीयता गायब छ । चिसो छ, मन दुवैको । दुवै व्यस्त छन्, ल्यापटप र मोबाइलका किबोर्डबाट निस्किएका निर्जीव अक्षरहरूको माध्यमबाट आफ्ना भर्चुअल प्रेमी प्रेमिकासँग न्यानो आत्मीयता साटासाट गर्न । वास्तवमा यो खतराको संकेत हो । सम्बन्धहरूबीच बढ्दै गएको दूरी आजको यथार्थ हो । सामाजिक विचलनको एक ज्वलन्त उदाहरण हो ।
प्रेमका विकृत रूपहरू नकार्न सकिन्न तर यो जतिको सुन्दर चीज र खुसीको स्रोत पनि अरू छैन संसारमा । बिनाशब्द पनि सबै कुरा व्यक्त गरिदिन सक्ने यही चीज हो । माया एन्जोलोका अव्यक्त भाव ओतप्रोत छ प्रेमले । केवल एक थोपा आँसु सारा मन पोखिदिन सक्छ । त्यही आँसुको थोपा आफ्नो मायालुप्रतिको गाढा प्रेमको निसानी पनि होे ।
संग्रहमा समेटिएका कविताहरूमा दोष देख्ने घृष्टता म गर्न सक्दिनँ । तैपनि, भन्न मन लागेको छ, प्रेमका सुन्दर भाव प्रस्तुत गर्ने कतिपय कवि छुटेका हुन् कि ? यस संग्रहमा नेपाली मात्र नभई भारतीय नेपाली, भारतीय, बेलायती, अमेरिकी, अरबीलगायतका कविताहरू अनूदित रूपमा समेटिएका छन् । अनूदित केही कविता निकै फरक अनि पढ्दा नबगेजस्तो महसुस हुन सक्छ पाठकलाई । अरबी कविताका सन्दर्भमा अभि सुवेदीले भनेजस्तै प्रेमभाव अलि नौलो पाराले व्यक्त भएर पनि हुन सक्छ भिन्न लागेको ।
पुस्तक पढेपछि लाग्छ, प्रेम भनेको सायद यस्तै केही हो, जस्तो कवि राजा पुनियानीका केही हरफले भनेका छन्:
एक चुम्बन तिर्खा
एक छुवाइ कौतूहल
एक अँगालो तातो
एक शताब्दी कथा थियौँ
हामी पानीमा कोरेको चित्र थियाँै ।
आफ्नै छाया पछ्याएर
सम्पादक : हेमन यात्री
प्रकाशक : कलरव धरान
पृष्ठ : १३५
मूल्य : २५० रुपियाँ