स्मृतिका छालहरू: माओवादी विद्रोहको अर्को पाटो
नाम चलेकी लेखिका होइनन्, सरला शर्मा । खासै पढालेखा नभए पनि उनले नेपाली साहित्यमा एउटा उत्कृष्ट सिर्जना पस्किएकी छन्, स्मृतिका छालहरू । यो संस्मरणात्मक पुस्तकमा पञ्चायतदेखि गणतन्त्रसम्म अटाएको छ । तर, यी छाल मूलत: माओवादी विद्रोहसँग जोडिएका छन् । माओवादी हुनुको खुसी र माओवादी पार्टीमा छिरिसकेपछिको पीडासँग धेरै तरंग तलमाथि गरिरहन्छन् ।
नाम चलेकी लेखिका होइनन्, सरला शर्मा । खासै पढालेखा नभए पनि उनले नेपाली साहित्यमा एउटा उत्कृष्ट सिर्जना पस्किएकी छन्, स्मृतिका छालहरू । यो संस्मरणात्मक पुस्तकमा पञ्चायतदेखि गणतन्त्रसम्म अटाएको छ । तर, यी छाल मूलत: माओवादी विद्रोहसँग जोडिएका छन् । माओवादी हुनुको खुसी र माओवादी पार्टीमा छिरिसकेपछिको पीडासँग धेरै तरंग तलमाथि गरिरहन्छन् ।
प्रतिवादबाट आरम्भ गरेकी छन्, सरलाले आफ्नो यात्रा । पञ्चायतको आतंक बेस्सरी चढेको समय थियो त्यो । ०४२ सालमा पुलिसले घरमा घेरा हालेको छ । पुलिस सरलाका पति दीनानाथ शर्मा र उनका साथीहरूलाई गिरफ्तार गर्न आएको छ । भित्रै छन् उनीहरू, बुइगलतिर कतै । तर, सरला कड्किएर भन्छिन्, ‘ठीक छ, भित्र जाऊ तर गाउँको पञ्च वडा सदस्यलाई साक्षी राखेर मात्र जाऊ । अर्को कुरा के सोच भने यदि घरभित्रबाट मेरो श्रीमान्लाई निकाल्न सक्छौँ भन्ने हिम्मत गरेर मात्र भित्र पस । होइन भने अर्काको घरमा त्यसै पस्न पाइँदैन ।’ पुलिसहरू हच्किए । सरलाको यो जुझारु चरित्र पुस्तकमा यत्रतत्र भेटिन्छ ।
पञ्चायतकालमा लुम्बिनी, गण्डकी र धवलागिरि अञ्चलमा तीजलाई जनताको आन्दोलनसँग जोडेर मनाइन्थ्यो । सरलाको परिवार तत्कालीन नेकपा (मसाल)सँग जोडिएको थियो । बाबु दीनानाथ शर्मा भूमिगत भएपछि गाउँका एक पञ्चले उनका सात वर्षको छोरा राजनका नाउँमा मुद्दा हालेछन् । तीजमा गीत बनाएछन्, ‘राजन तिम्लाई थाहा छैन आफ्ना बाउको बारेमा, दुस्मनले फसाइदिए सानै उमेरमा ।’
अर्को यस्तै पीडादायी घटनाको चर्चा पनि पुस्तकमा छ । गाउँमा प्रगतिशील विवाह भयो । बेहुलाबेहुली दुवै परिवारको सहमतिमै विवाह सम्पन्न भयो । अनावश्यक खर्च, तामझाम केही गरिएन ।
बेहुलाबेहुलीको परिवारलाई कुनै आर्थिक बोझ परेन । तर, गाउँका पञ्चहरूले, ‘गाउँमा प्रगतिशील विवाह गरे, पञ्चायतविरुद्ध भाषण गरे, गाई काटेर खाए’ भनेर उजुरी दिएछन् । मच्चिएछ गाउँमा पुलिस आतंक । सोझा गाउँलेलाई कुट्ने, थुन्ने काम गर्यो पुलिसले । दुई जना शिक्षकको जागिर खोसिएछ । अबको पुस्ताले यस्तो जीवन कहाँ भोग्न पाउँछ र ? तिनका लागि त यस्ता लेखोट र गायनहरू पत्याउनै नसकिने इतिहास बन्छन् ।
पति मसालबाट बाहिरिएर माओवादी पार्टीसँग एकता गरेपछि सरला शर्मा स्वत: माओवादी भइन् र पार्टीको निर्णय अनुसार भूमिगत भइन् । मसालमा संगठित छँदा कमिटीमा बसेकी, सरकारी दमनलाई गाउँको सुखदु:खसँगै प्रतिवाद गरेर रमाएकी सरलाको मन भूमिगत कालमा रमाएको देखिँदैन । ०५८ सालपछि सरलाको भूमिगत जीवन प्राय: भारतमै बित्यो । माओवादी पार्टीले भारतका विभिन्न सहरमा आफ्ना कार्यालय स्थापना गरेको रहेछ । तर, त्यहाँ पनि सरलाको मन रमाएन । लेख्छिन्, ‘मलाई हाम्रो कार्यालयको बसाइ मन परेन । हामी दुई–दुई जना महिला र दुई जना स्टाफ छँदाछँदै किन सरसफाइको काम नगरी बसेर खाने भन्ने लाग्थ्यो । ( कार्यालयमा सरसफाइको काम गर्ने एउटी महिला बाहिरबाट आउँदी रहिछन्) । तर, वसन्त कमरेडले हामीले काम गर्नु हुन्न, काम गर्यो भने सानो मान्छे भनेर हामीलाई शंका गर्छन् आदि भन्थे । ...मलाई खाइमासा कमरेड कमरेड्नीको व्यवहार पनि त्यति चित्त बुझ्दैनथ्यो ।’
भारत बसाइका क्रममा सरलाले धेरै ठाउँमा भारतीय माओवादीको संरक्षण र सान्निध्यमा दिन काटेकी छन् र रमाइलो पनि मानेकी छन् । यसलाई उनले अन्तर्राष्ट्रिय भाइचारा भनेकी छन् । यो सरलाको राजनीतिक चेत हो । तर, नेपाली माओवादीसँग उनी रमाएको प्रसंग कताकति मात्र भेटिन्छ । दिल्लीदेखि चुनबाङसम्मको यात्रामा उनी लेख्छिन्, ‘जुरेली पोस्टमा ११ दिन बसियो । ... सबै कमरेडहरू एकनास हुने रहेनछन् । छलछाम गर्ने, रिस गर्ने, मुन्टो बटार्ने, मुख बिगार्ने पनि भेटिए । एउटै मरन हिँडेकाहरूमा पनि किन यसो भएको होला भन्ने लाग्यो ।’ पुस्तक पढिसक्दा ‘जनयुद्धकाल’मै माओवादी पार्टीमा वर्ग भेद भइसकेको रहेछ भन्ने थाहा हुन्छ ।
सरलाभित्रको माओवादीको चेतनाको प्रस्फुर ण पनि राम्ररी अभिव्यक्त भएको छ, स्मृतिका छालहरूमा । एमाले र कांग्रेसप्रति माओवादी चेतको आलोचना पनि छ, उनको संस्मरणमा । पार्टीबीचको अन्तरविरोधभन्दा पनि बढी उनी पोखिएकी छन्, अन्तरपार्टी अव्यवस्थामा । उनी लेख्छिन्, ‘मसालमा छँदा पार्टी कमिटीमा बसेकी थिएँ । अहिले यो पार्टीमा लागेको ६ वर्ष भयो तर पनि म र साजन ( कान्छो छोरो)लाई कुनै कमिटीमा राखिएको छैन । साथीहरू आउँदा कुरा हुन्छ । खाउन्जेल दुवै कानले सुन्छन् । चुठेर निस्केपछि बिर्सन्छन् ।’ पुस्तकमा नेपाली पाठकले नसुनेका, नबुझेका धेरै प्रसंग छन् । सरलाले अझै लेखेकी छन्, ‘वर्गीय माया बिर्सेर भेदभाव र पक्षपात गर्नु राम्रो होइन ।... पार्टीभित्रका संकीर्ण स्वार्थी साथीहरूलाई देख्दा दिक्क लाग्छ ।’
स्मृतिका छालहरू
लेखक/प्रकाशक : सरला शर्मा
पृष्ठ : १३६
मूल्य : १२५ रुपियाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...