[पुस्तक समीक्षा] 'प्रश्नहरूको कारखाना'मा समय विम्ब
अराजक नभई कहाँ बाँच्न सकिन्छ र अब ? जब हावामा अराजकता, मनमनमा अराजकता साथै समय नै अराजक भई दौडिरहेछ भने । सरिताको अराजकतामा म पनि सामेल भएँ ।
![[पुस्तक समीक्षा] 'प्रश्नहरूको कारखाना'मा समय विम्ब [पुस्तक समीक्षा] 'प्रश्नहरूको कारखाना'मा समय विम्ब](http://nepal-assets-api.ekantipur.com/thumb.php?src=http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2016/miscellaneous/01012016024525kl.jpg&w=900&height=601)
शंकास्पद समय छ । विश्वासले अवकाश पाएको मस्तिष्क । चिसिएको मनमा रहलपहल रहेका न्याना भाव पनि टाढिँदै गइरहेको नमीठोपना । अनिश्चितताले गाँज्दै गरेको अशान्त अनुभूतिले ओतप्रोत हेराइ ।
मैले यस्तो भन्दै गर्दा कतिलाई लाग्न सक्ला कति साह्रो तीतो ओकलेको ! स्वीकार्छु । कवि सरिता तिवारीको छटपटीले झ्याप्पै छोपेकाले अलि बढी नै तीतो मात्र होइन, अमिलो र पीरो पनि पोखूँलाझैँ लाग्दैछ । के हामी सहमत नहुँला र उनको यो शंकामा ?
ढोका ढकढक्याइरहेको छ कोही
नानू ।
जोसुकै पनि हुन सक्छ बाहिर
पर्ख,
म पनि आउँदैछु
सावधानीपूर्वक
बिस्तारै खोल्नुपर्छ
ढोका । (मनसुन, पृष्ठ ८७)
तीतो समयलाई झन् तीतो नबनाऊ । म प्रश्नै प्रश्नको कारखानामा कावा खाँदै छु, जबदेखि सरिता तिवारीको पछिल्लो कविताकृति प्रश्नहरूको कारखानाको चंगुलमा परेकी छु ।
युद्धको सौन्दर्य विश्लेषण गर्छिन्, पागलपनालाई सेलिब्रेट गर्छिन्, जिब्रोको महिमा गाउँछिन्, शब्दहरूसँग खेलाँची गरिरहेको स्वीकार्छिन् अनि विचारको बीउ एकपटक रोपिएपछि विचारहीन हुन नसकिने ठोकुवा गर्दै चुनौती बोल्छिन् आफैँसँग । सायद म उनको हक्कीपना, जिद्दीपना, अराजकता र बौलट्ठीपनाले तानिएकी छु यस बखत ।
अराजक नभई कहाँ बाँच्न सकिन्छ र अब ? जब हावामा अराजकता, मनमनमा अराजकता साथै समय नै अराजक भई दौडिरहेछ भने । सरिताको अराजकतामा म पनि सामेल भएँ ।
के मौन रहनु शान्त हुनु हो र ? सायद होइन । त्यही मौनताभित्र लाभाहरू सलबलाइरहेका हुन सक्छन् । विद्रोही लप्काहरू दन्किरहेका हुन सक्छन् । अनि हुन सक्छ, पीडाको अनन्त यात्रामा बेरिएको मनको बह पनि । सहेर चुपचाप बिलाउनुभन्दा युद्धको रक्तिम सौन्दर्यलाई आत्मसात् गर्न तयार छन् कवि । आङ जिरिंग हुने गरी उनी भन्छिन् :
लगातार खपिरहनु प्रहार वा सहनु जुका र सर्पहरूको दंश
यही नै हुन्छ यदि शान्तिको अर्थ भने
शान्तिभन्दा कैयौँ कैयौँ गुणा मन पराउँछु म
बाँच्नुको कलाले रंगिएको
युद्धको रक्तिम सौन्दर्य ।
(युद्धको सौन्दर्य, पृष्ठ ७०)
एकातिर युद्धको सौन्दर्यपानका लागि आतुर कवि अर्कोतिर युद्धका चोटहरूको क्रन्दनप्रति वितृष्णा पोख्छिन् । कस्तो विरोधाभास † यही हो कि कविको विशेषता !युद्धको आलो चोट भरिएका नीला आँखा, चीत्कार र भयले फाटिएका, जसमा लाचारी सिवाय केही छैन । प्रश्न गरिरहेका छन् हामीलाई त्यही गुमनाम आँखाहरूले । कवि निरमाया मगरदेखि नजराना खातुनसम्मका आँखाहरूबाट लखेटिएकी छन् ।
उनले केही कवितामा आञ्चलिकताको सुन्दर प्रयोग गुथेकी छन् । ‘डेलीमा माछा’, ‘अड्गुछिया’ र अन्य केही कवितामा तराईका ती श्रमजीवीहरूको पीडा उनीहरूकै भाषाको प्रयोगबाट पेचिलो गरी समेट्छिन् । एउटा मछुवाराले भोग्दै गरेको आजको असहज समय जहाँ उनको माछाले भरिनुपर्ने डेली खाली छ । माछाको साटो लसुन, प्याज र खुर्सानी तैरिरहेको छ उनको डेलीमा । वास्तवमा समय उस्तै रहेन । समय आफैँ पनि बगेर गयो । साथै आफैँसँग माछाहरू पनि बगाएर लग्यो । आजको रित्तो, खोक्रो, विसंगत समय र मछुवाराको रित्तो डेली उस्तै निरस र पीडादायी छ ।
सरिताका सशक्त कविताले मन हल्लाइरहेकै बखत जब चे ग्वेभारा, मदर टेरेसा, नेल्सन मण्डेला, दास क्यापिटल जस्ता ओभर युज्ड विम्बहरू फुत्त फुत्त कवितामा झुल्किन्छन्, तब दाँतमा ढुंगा लागेझैँ हुन सक्छ पाठकलाई । आयातीतले पखाला लागेको समयमा अग्र्यानिक विम्बहरूतिर पो लाग्ने हो कि ! हाम्रो समयको माग पनि यही हो ।
उनका अधिकांश कविताले दिमागमा झट्का दिन्छन् तर मुटुलाई स्पर्श गर्न नसकेजस्तो लाग्छ । प्राय: कवितामा आक्रोश र कडा शब्दको बिगबिगी भेटिन्छन् । अझ त्यसभन्दा पनि मनमा लागेको कुरा त, के कविले आफ्ना बारेका स्पष्टीकरण दिन जरुरी छ ?
सरिता इज एक्सट्रिमिस्ट, त्यसपछि सरिताले के लेख्ली ? जस्ता कुराको विमर्श पाठक या समालोचकको टाउको दुखाइ होला, न कि लेखकको ! कविले आफ्ना भनाइ राख्नका लागि १७ पृष्ठ खर्चिनुको साटो सातवटा कविता थपिदिएको भए पाठकप्रति न्याय हुने थियो ।
मनमा लागेका केही कुराका बाबजुद, म स्वीकार्छु सरिता तिवारी समकालीन पुस्ताका सशक्त कवि हुन् । उनका कवितामा पाइने समय विम्ब, चिन्तनको सुन्दरता, विकृत समयको स्पष्ट चित्र साथै मानवीय पीडाका दस्तावेजले जो कोही तरंगित हुन्छन् ।
—-
प्रश्नहरूको कारखाना
स्रष्टा : सरिता तिवारी
प्रकाशक : सांग्रिला बुक्स
पृष्ठ : १५०
मूल्य : १९८ रुपियाँ