धरावासीको हतारको कमजोर रचना 'रेड स्क्वायर'
पछिल्ला वर्षमा धरावासीको गर्भधारण क्षमता देखेर धेरैले जिब्रो काढ्छन् । नकाढून् पनि कसरी ? प्रत्येक वर्षको सिँढीमा उनी जुम्ल्याहा, तिम्ल्याहा किताब जन्माउँछन् ।
कृष्ण धरावासी लेख्नकै निम्ति जन्मिएका हुन् भन्यो भने कसैको आपत्ति रहँदैन । रहोस् पनि कसरी, उनका उपन्यास/कथा पढेर बर्बरी आँसु झार्नेहरूको ठूलो संख्या छ । धेरै पुस्तक लेखेर भन्दा पनि धरावासी मीठो, चोटिलो लेखेर मान्छेको मनमा बसेका हुन् । स्कुल पढ्दादेखि नै म धरावासीको लेखनीको फ्यान थिएँ । उनी कसरी मान्छेको मनलाई कोतर्न सक्ने गरी लेख्छन्, कसरी उनका किताब पढ्दा पाठकलाई फिल्म हेरेजस्तै मज्जा आउँछ ? उनको लेखनी शक्ति देखेर मनमनै कुतकुतिन्थेँ ।
पछिल्ला वर्षमा धरावासीको गर्भधारण क्षमता देखेर धेरैले जिब्रो काढ्छन् । नकाढून् पनि कसरी ? प्रत्येक वर्षको सिँढीमा उनी जुम्ल्याहा, तिम्ल्याहा किताब जन्माउँछन् । पछिल्लो छिमलमा यात्रा संस्मरण थपिएको छ । रसिया भ्रमणको सम्झना समेटिएर लेखिएको पुस्तक रेड स्क्वायर त्यसैको पछिल्लो अध्याय हो ।
मुटुको माथिल्लो भागमा गाँठो पार्दै, आँखाको छेउकुनाबाट रसाएको नुनिलो आँसु सम्हाल्दै धरावासीको उपन्यास पढेकाहरूलाई भने यो पुस्तक छिचोलेपछि पक्कै प्रश्न उठ्छ, धरावासी लेख्नका लागि लेख्छन् कि नलेखिरहन नसकेर लेख्छन् ?
पुस्तकमा ९ जुन २०१२ देखि १२ जुलाईसम्म समेटिएको यात्रा वृत्तान्त छ । रसियन साहित्य धेरथोर पढेका र रुसको कम्युनिस्ट व्यवस्थालाई आफ्नै शैलीमा बुझेका धरावासी पुस्तकभरि आफ्नै विश्वासमाथि विमर्श गर्छन् । रुसी साहित्यमाथिको आफ्नो दृष्टिकोण र साहित्यप्रेमी नेपालीले नाम सुनेका रसियन साहित्यकारको जीवनी धेरै र तिनको लेखनमाथि व्याख्या पनि गर्छन् ।
रसियामा देखेका प्रत्येक ठाउँ र सन्दर्भको वर्णन गर्दा गर्दै धरावासी अतीतमुखी हुन्छन् । उनी आफ्ना बुझाइको सीमितता, आफ्नो भोगाइका विरोधाभासपूर्ण सन्दर्भहरूको वर्णन पनि मीठो शैलीमा गर्छन् । तुलनात्मक अध्ययन पुस्तकको विशेषता नै हो । तर, कतिपय सन्दर्भमा धरावासी त्यसै त्यसै बहकिन्छन् । उनको बहकिने मनले लेखनीलाई ठाउँठाउँमा झिँजोलाग्दो बनाइदिन्छ ।
धरावासीको लेखनी छाप्न अखबारहरू सधैँ लालायित हुन्छन् । अनलाइन पोर्टलमा उनलाई लेख्ने ठाउँ जति पनि उपलब्ध छ । तर, उनले किन यस्तो किताब लेखे ? पढ्दै गर्दा कैयन् ठाउँमा यस्तै अनुभूत हुन्छ । यात्राका क्रममा भेटिएका बग्रेल्ती मान्छेहरूको नाम कैयन् ठाउँमा आउँछन् । गिनेचुनेदेखि नचिनिएका र यात्रामा अनायासै भेटिएका पात्रहरूको नाम पनि उनी उल्लेख गर्छन् ।
धरावासीको पुस्तकमा आफ्नो नाम समेटिएको थाहा पाएर तिनीहरू औधी खुसी हुँदा हुन् । तर, पाठकहरू पटक्कै खुसी हुन सक्दैनन् । बग्रेल्ती नामको लस्करले कतै कतै त प्याराग्राफ नै भरिएको छ । मूल्य तिरेर धरावासीको गहन लेखनी पढ्न चाहने पाठकमाथि यो त अन्याय नै हो ।
२१ उपशीर्षकमा बाँडिएको पुस्तकले रसियाको समाजको भन्दा ‘वर्ड आई भ्यू’ मात्र राखेको छ । यसमा कम्युनिस्ट राजनीतिको इतिहास, साहित्य र समृद्धिको झलक आउँछ । यात्रा क्रममा कैयन् दृश्यको वर्णनमा धरावासीले रसियामा बसेर व्यवसायको सञ्जाल फिजाइरहेको गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेको सहायता लिएका छन् ।
धरावासीको कोमल हृदय ठाउँठाउँमा पोखिन्छ । वर्षौंदेखि रसियामै घरजम गरिरहेका नेपालीको प्रसंगमा उनी लेख्छन्, ‘यत्रो ठूलो संसारमा एउटा मान्छेले लुक्न चाहँदा पनि हराउन कति गाह्रो ? मान्छेलाई के कुराले अल्झाइरहेको हुन्छ ?’ समाधिस्थल घुम्दै गर्दा धरावासीको मनमा अनौठो विचार चम्किन्छ । ‘अग्लो हुने सपना’ शीर्षकमा उनी लेख्छन्, ‘यस संसारमा बाँच्नेहरूको भन्दा मर्नेहरूको संख्या ठूलो छ । मरेकाहरूलाई गनेर पनि के साद्धे ?’ रेड स्क्वायर घुमिसकेपछि लेखक निष्कर्षमा पुग्छन्, ‘किन किन रेड स्क्वायर मलाई चिहानघारीजस्तो लाग्यो, जहाँ केवल मृत्युको स्मृति हुन्छ । यसले अहिलेसम्म पनि मलाई ठटाइरहेको छ ।’
कैयन् प्रसंग दोहोरिएका छन् पुस्तकमा । केही केही त लाइन नै ‘कपी पेस्ट’ गरिएजस्ता देखिन्छन् । जसले पुस्तकमा पर्याप्त सम्पादन नभएको पुष्टि गर्छ । गाडी चालक भ्लादिमिरको व्याख्या ३२ र ५२ पृष्ठमा उस्तै–उस्तै देखिन्छ । १ सय १० पृष्ठको दोस्रो अनुच्छेदको सुरु र १ सय २० दोस्रो अनुच्छेद उस्तै छ । १ सय २६ पृष्ठको पहिलो र १ सय ४७ पृष्ठको दोस्रो अनुच्छेदमा एउटै तथ्य छ । यस्तो दोहोरिने उपक्रम कैयन् पानामा छन् । त्यसले पुस्तकलाई कमजोर बनाएको छ । कमजोरी जति भए पनि धरावासी आफ्नो लेखनीमा इमानदार भने देखिन्छन् । पृष्ठ १ सय ६ मा धरावासीले स्वीकारेकै छन्, ‘भ्रमणका क्रममा टिपोट गर्ने बानी अझै बसेको छैन । त्यही भएर ठाउँ, पात्र, घटनाबारे सम्झिन र सिलसिला मिलाएर लेख्न गाह्रो पर्दैछ ।’
पृष्ठ १ सय ४९ मा धरावासीले हाकाहाकी लेखेका छन्, ‘म हरेक यात्रालाई पुस्तकको रूप दिने कोसिसमा छु ।’ यसैबाट बुझिन्छ, धरावासी आफूले देखेका, जानेका, बुझेका, भोगेका र अनुभूत गरेका सबै कुरा लेख्न चाहन्छन् । त्यही भएर उनले झिनामसिना र उल्लेख नगरे पनि हुने सन्दर्भसमेत नछुटाई लेखेका छन् । तर, यसरी लेखिएका पुस्तक खरिद गर्ने पाठकलाई न्याय गर्छ कि गर्दैन ? धरावासीको लेखनयात्रामा यो प्रश्न तरबार बनेर झुन्डिएको छ । जसको फैसला पाठकको अदालतमा कालक्रममा बिस्तारै गर्ला !
—-
रेड स्क्वायर
स्रष्टा : कृष्ण धरावासी
प्रकाशक : पैरवी बुक हाउस
पृष्ठ : १६०
सम्पादन : होम भट्टराई
मूल्य : २०० रुपियाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...