कर्नाली ब्लुज–२
विम्बै विम्बले भरिएको छ उपन्यास । ती विम्ब केही सीधै भनिएका छन् भने केही घुमाएर ।
उपन्यासका तीन महत्त्वपूर्ण पक्षलाई लेखक बुद्धिसागर यसरी क्रमानुसार राख्न रुचाउँछन् : न्यारेसन (वाचन शैली), क्यारेक्टर (पात्र) र प्लट ( कथा) । यही क्रम अनुसार नै छ, उनको दोस्रो उपन्यास फिरफिरे । पहिलो उपन्यास कर्नाली ब्लुज पनि यस्तै थियो । त्यसमै बुद्धिको चामत्कारिक लेखनशैली जानिसकेका पाठक दोस्रोमा आइपुग्दाचाहिँ केही खिन्न होलान् । किनभने, त्यही शैलीमा लेखिएको फिरफिरे अहिले कर्नाली ब्जुल–२ हुन पुगेको छ । त्यसैले फिरफिरेको अन्तिम ५३१औँ पृष्ठ पढिसक्दा पाठकले मनमनै कामना गर्न सक्छन् कि अब तेस्रो उपन्यासमा यो क्रम भंग होस् ।
फिरफिरेको प्रमुख कथा वसन्त र पवनको बाल्यकालको उकाली–ओराली हो । त्यसबाहेक बाँसबारी, अम्बरपुर र नेपालगन्जको बाछिटा आउने गरी सप्पै–सप्पै मान्छेको भोगाइको सग्लो रूप पनि हो । धेरै पात्रको स–सानो कथाको सिंगो रूपलाई डोर्याउने सारथि हुन्, तिनै दुई बालक वसन्त र पवन ।
दुई चकचके फुच्चेहरूकै जीवनको मियो समाएर जुठीआमै, पिच्कु माझी, जसोदा, सर्वजित मास्टर, बसिर, मुनमुन, कल्लुराम, जीवाराम, रमा, रक्की दादा, कोहिनुरहरूको भोगाइबीच ओहोरदोहोर गरिरहन्छन् लेखक । एक–दुई पात्र होइन, सिंगो गाउँका हरेकजसोको हंश छ किताबमा । त्यसैले यो चल्तीका पुस्तकभन्दा आकारमा केही हृष्टपुष्ट देखिन्छ । मोटो किताब पढ्नुको नमज्जा कहाँनिर छ भने जति–जति पृष्ठ पल्टिँदै जान्छन्, पाठकले अघिल्ला अघिल्ला घटना र पात्र बिर्सन सक्ने जोखिम हुन्छ । यो जोखिम फिरफिरेमा पनि छ । यसैले फिरफिरे बाँसबारीका मान्छेको दु:ख र हैरानीको तथा वसन्त र पवनसँगै जोडिएको तिनै गाउँलेको उपकथाहरूको पिरामिड हो ।
जिन्दगी यादहरूको गोदाम हो । उपन्यासको पात्र वसन्त दुई दशकपछि आफ्नो गाउँ पुग्दा उसलाई सम्झनाले निथ्रुक्कै पार्छ । अनि, आफ्नो जिन्दगीको गोदाममा सँगालिएका तिनै रोमाञ्चक चित्र वर्णन गर्न थाल्छ ऊ । जेलिएका पात्रहरू सबै आ–आफ्नै यादका गोदामभित्र कैद छन् । उकुसमुकुस छन् । पिच्कु माझी गाउँको नदी किनारमा एक्लै जीवन काट्न अभिशप्त छ । ऊसँग कोही छैन, केवल यादहरू छन् । सिनेमा हलको अपरेटर बसिर पनि त्यस्तै छ । ऊसँग भतिजो आसिफको याद छ, जुठीआमै हरेक पल असारे बासँगको ‘नोस्टाल्जिया’मा बाँचेकी छन् । तिनै यादहरूको लहरो समाउँदै जिन्दगी नामको घिडघिडोमा झुन्डिएका छन् पात्रहरू । जुठीआमै भन्छिन्, ‘जिन्नगीले फिरफिरेझैँ फनफनी घुमाम्छ ।’
उपन्यासका सबै पात्र जिन्दगीको फिरफिरेमा फनफनी घुमाइएका पात्र हुन् । र, यस्तो लाग्छ– उनीहरू सबै रिंगटा लागेर थलिएका छन् । विगतको ‘ह्याङओभर’का कारण कागती पानीको खोजीमा छन् । उठ्न खोज्छन् तर यादहरूको उहापोहले तिनलाई उठेर कहीँ जानै नसक्ने केवल बाँचिरहन सक्ने गरी थिलथिल्याउँछ । पिच्कु, बसिर र कल्लुराम त्यसका उदाहरण हुन् । परिवार नदीमा हराएको पीडा छ पिच्कुसँग । अनि, ऊ नदीकै छेउमा झुप्रो बनाएर जिन्दगी काट्न बाध्य छ । ऊ भन्छ, ‘यादहरू नभएको भए म बाँच्नै सक्दिनथेँ । उहिल्यै मरिसक्थेँ ।’
जिन्दगीमा कहीँ पुग्न नसकी बगरमा बास बसेको पिच्कुले सयौँलाई नदी तार्छ । कहाँ कहाँ पुर्याउँछ । तर, आफू कहीँ पनि पुग्दैन । गाडीले किचेर मृत्युवरण गरेको भतिजको पीडादायक कथा छ बसिरसँग । आफू साह्रै दु:खी जिन्दगी बाँचेको छ तर अरूलाई मनोरञ्जन दिलाएर हँसाउने जिम्मेवारीमा छ ऊ । सबैलाई पाठ सिकाउने सर्वजित मास्टर सिकिस्त आफ्नो छोरालाई निको पार्न झाँक्रीको विश्वास गर्न बाध्य छन् । यस्तै विरोधाभासपूर्ण समय बाँचेका पात्र फिरफिरेको पंखा भएर घुमिरहन्छन् ।
बुद्धिसागर उपन्यासकारभन्दा पहिले कुशल कविको छवि बनाइसकेका लेखक हुन् । कवितात्मक भाषा उनका आख्यानमा पानीफोटो बनेर देखिन्छन् । घटना वर्णन सामान्य होइन, असामान्य हुन्छ उनको । कुशल कविले आख्यान लेख्दा कहाँनिर चिप्लिन्छन्, त्यो यिनै लेखकलाई पढ्दा थाहा हुन्छ । दृश्यको अत्यन्तै मिहिन वर्णन गर्छन् यिनी, जुन पढ्दा पाठकले कुनै सिन ठ्याक्कै कल्पना गर्छन् । पात्रको अनुहार सम्झिएर घटनास्थलमै उपस्थित भएझैँ वर्णनशैली पढ्न कतिपय पाठकलाई रुचिकर लाग्ला ।
तर, कतिचाहिँ विवरणभन्दा कथा चाँड्चाँडो अघि बढे हुन्थ्यो भन्ने अपेक्षा गर्छन् । अत्यधिक सूक्ष्म विवरण पढ्न उनीहरूले झिँजो मान्न सक्ने जोखिम पनि छ । संक्षेपीकरण गरे हुने घटना वर्णन गर्न लेखक धेरै अल्झिएका छन् । आवश्यक नभएका ठाउँमा पनि लोककथा भनिएको छ । जस्तै : कोइलीले मीठो गीत गाउने प्रसंग अनावश्यक लाग्छ, कोहिनुर झाँक्रीले बुन्ने काल्पनिक कथा पनि त्यस्तै प्रकृतिको छ । असहज लाग्ने अर्को सवाल पनि छ, रमाजस्ती सानी बच्चीलाई उनले धेरै ठाउँमा दर्शन फलाक्न लगाएका छन् ।
विम्बको प्रयोग गर्न माहिर छन् बुद्धिसागर । विम्बै विम्बले भरिएको छ उपन्यास । ती विम्ब केही सीधै भनिएका छन् भने केही घुमाएर । प्रयुक्त केही असहज लाग्छन् । जस्तै : ‘सुपारीका दाना भरिएको बोराको पुछारमा सानो भ्वाङ पारेर स्वारार्र सारा सुपारी दाना भुइँमा खसेझैँ वसन्तको रिस खस्दै गयो’ (पृ ४०३) । भाषाशैली कथावाचनसँगै जोडिएर आउँछ, बुद्धिसागरको सवालमा । कस्तो भने सर्पले मानिसलाई टोकेको एक प्रसंग पढिरहँदा यस्तो लाग्छ, सर्पले पाठककै गर्धनमा टोक्यो अनि सुलुलुलु बगेर गयो । पीडा पाठकलाई भइरहेछ । शैलीको कुरा गरिरहँदा फिरफिरेलाई सिनेमा बनाउन खोजियो भने यसको पटकथा लेखकलाई एकदम सजिलो होला । किनभने, पात्र, तिनका भेषभूषा, चरित्र, तिनले बोल्ने वाक्य बिलकुल नाटकीय रंगरोगनसाथ लेखिएको छ ।
भाषिकाको सवालमा लेखकका केही त्रुटि देखिन्छन् । जुठीआमैको सन्दर्भ लिऊँ । पश्चिम नेपालमा बोलिने भाषिका समाएकी जुठीआमै प्राकृतिक बनाइन सकेकी छैन । एउटै शब्दलाई उनी घरि–घरि फरक–फरक लबजले भन्छे, जुन सहज छैन । त्यसै गरी, नेपालगन्ज छेउछाउका (मधेसीबाहेकका) पात्रको बोलीशैली पनि उस्तो निख्खर सुनिँदैन । यहीँनेर मधेसी पात्रको अभिनय र उनीहरूले बोल्ने भाषा जबर्जस्त लाग्छ । जस्तै : अनपढ पिच्कु माझी खोला किनारमा एक्लै धुमधुम्ती बसिरहने दार्शनिकझैँ छ, ऊ वसन्त र पवनसँग फुसफुसाउँछ– जिन्दगी बडो कुत्ता चिज छ रे † याद नहुने मान्छे बाँच्नै सक्दैन । जोसँग याद छ, ऊसँग सबथोक छ ।
फरक–फरक पृष्ठभूमि र विषय बाँचेका मानिसलाई एकै ठाउँमा राखेर फिरफिरेलाई ‘जोगी तरकारी’ बनाउन खोजिएको छ । एउटा पात्रबारे सबैथोक जानिनसक्दै, बुझिनसक्दै अर्को पात्रको प्रवेश हुँदा पाठक अलमलिने अवस्था आउँछ । यही कारण प्राय: पात्र पूर्ण परिपक्व हुनबाट रोकिएका छन् । यद्यपि, तिनको जीवनकथाले निराश बनाइहाल्दैनन् । बीचबीचमा सुत्त सुत्त हराइजाने ती पात्र पाठकीय हृदयको एक कुनामा मलिनो स्मृतिसाथ टाँसिनचाहिँ सक्छन् । जुठीआमै लखेटिएपछि अत्तोपत्तो हुँदैन, कोहिनुर झाँक्री पनि सुत्त हराउँछ र फर्केर आउँदैन, पर्दा पछाडिको पात्रका रूपमा प्रस्तुत असारे बा देखिँदै नदेखिए पनि उसको झल्को पाठकलाई आइरहन्छ । यसै गरी, हराउने उपक्रममा मूल पात्र पवन पनि समेटिएको छ । पानीमाथि हिँडेर पवन हराउँदाको स्वैरकाल्पनिक वर्णनले दिमागमा सीधै झट्का हान्छ । यस्तो चित्रमय प्रस्तुतिले पाठक अलमलिन्छन् पनि, आखिर पवन पानीमाथि हिँड्न सक्छ, कसरी ?
धेरै मानिस मूलकथासँग जोडिएकाले पनि हुन सक्छ, समग्र कथाको पृष्ठभूमिको पोयो फुकाउन लेखकले अति धेरै मसी खर्चिएका । त्यसैले एक सय चानचुन पृष्ठ पढिसक्दा पनि कथाको मेलो समाउन मुस्किलै हुन्छ । त्यतिन्जेल किताब पोखरीझैँ जमेको छ, नदीझैँ बग्न सकेको छैन । त्यसपछिका खण्डमा पनि घरि सामान्य गतिमा बग्ने, घरि खहरेझैँ हुरहुरिएर बग्ने र घरि जमेर रहिरहने क्रम जारी नै हुन्छ । पुस्तक पढिभ्याउँदा यसका प्रमुख कमजोरीमाथि घोत्लिने पाठकले निचोड निकाल्छ, पूरै गाउँका मानिसहरूको हुलमुल कथामा आवश्यक थियो होला र ? अनि, केही पृष्ठ ‘स्किप’ गर्न मन लाग्ने विस्तृत वर्णन नि ? समग्रमा, किताब राम्रो छ तर एकतिहाइ आकार घटाएको भए साह्रै राम्रो हुन्थ्यो ।
कथावाचनको शैली र पात्रहरूको चित्रण ओजिलो हुन नसकिरहेको हाम्रो साहित्यिक वृत्तमा एउटा भोगाइलाई ‘जान्रा’ ( साहित्यको एक विधा)का रूपमा स्थापित गर्न खोजेका छन् लेखकले आफ्नो दोस्रो उपन्यासमा । यो सराहनीय छ । तर, कर्नाली ब्लुज र फिरफिरेमा एक खालको शैली र पात्र देखाइसकेका बुद्धिसागर अब रूपान्तरित हुनुपर्छ । पुस्तकमा आफ्ना भोगाइ जसरीतसरी आइछाड्छन् । तर, अब ती पात्र र तिनका भोगाइहरूको धङधङीबाट बाहिर निस्किन नसके उनका लेखाइ बासी हुनेछन् । अर्को कुरा, यस्तै शैली दाहोरिए उनको तेस्रो उपन्यास कर्नाली ब्लुज–३ हुनेछ । पक्का हो ।
—-
फिरफिरे
स्रष्टा : बुद्धिसागर
विधा : उपन्यास
प्रकाशक : फाइनप्रिन्ट
पृष्ठ : ५३१
मूल्य : ५४२ रुपियाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...