निबन्ध: एकान्त उत्सव मनाइरहेछ...
भर्खरै हो एक्लिएका मनहरू नजिक गुज्रिएको । फेरि जम्काभेट भएको अर्को जीवन । एउटी वृद्धा छन् र छन् उनीसँग धेरै गुनासा ।

चालको मीठो शृंखला छ । निरन्तर सलबलाइरहेछन् ती हात । औँलाहरूको यायावरी हेरिरहुँझैँ लाग्छ । हातहरूको यात्रा । काम फत्ते गर्नु भन्नु नै एउटा यात्रा पूरा गर्नुजस्तै होइन र ?
लाखौँ बत्ती कातिरहेका ती औँलाका समीप छु । आफैँ देउता भइसकेका वृद्धवृद्धाहरू बनाइरहेका छन् बत्ती । त्यही बालेपछि पूरा हुनेछ कसैको भाकल र मनोकांक्षा । नदेखिने भगवान्को कि देखिने यी देउताहरूको आशिक लाग्दो हो ती भक्तजनलाई ! अजीव कुरो खेल्छ मनमा । कुश्मा, मोदीबेनी धामको वृद्धाश्रममा बत्ती कातिरहेका छन्, पात टिपिरहेछन् र टपरी गाँसिरहेछन् वृद्धवृद्धा । कोही नियतिले एक्लिएका, कोही इच्छाले र कोही परिवारको तिरस्कारले । यी २० एक्लाहरू पात र बत्तीहरूमा बिसाइरहेछन् मनको एकान्त । टिपिरहेछन् निर्जनताको मीठो धुन र गाइरहेछन् जीवनगीत । लाग्छ, उनीहरूको एक्लोपनामा दुई नदीको सुसाइको साथ छ । एकान्त पनि उत्सव मनाइरहेछ ।
वारि पर्वत र पारि भित्तो बाग्लुङ । हेरेरै चित्त बुझाइरहेका दुई प्रेमीजस्ता । प्रेमको सार्थकता आफैँ जेलिएको छ । पाएपछि पूर्ण हुन्छ या मनमै रहेको प्रेम अमर । पर्वत र बाग्लुङको देखादेखमै सीमित प्रेम पनि मीठै लाग्छ । सधैँ आफ्नै आँखामा छन् दुवै । प्रेम मनको उच्छ्वास न हो ! पाउनुमा के पो रहेछ र ? यी वृद्धाश्रमको शरण परेकाहरूको पनि त परिवार, आफन्त थिए होलान् । तर, खोइ त आज ? बाँकी छन् त उही कमजोर हातहरू, जो सुमसुम्याइरहेछन् एक अर्काको मन । आँखा र मनमै रहेको माया जाती बरू ।
एकतमास खोलाको सुसाइले मन तान्छ फेरि । यी वृद्धाहरूका उज्याला आँखाले पनि । आडैमा छ मन्दिर । उनीहरूकै मानमनितोमा मुस्कुराइरहेछ ढुंगे देउता । तर, सबैबाट एक्लिएपछि उनीहरूले भने पाएका छन् जीवनको भिन्न स्वाद । गुमाए पनि सबैथोक कहाँ गुमाइन्छ र आफ्नो सिंगै अस्तित्व । मन जो बोकी हिँड्छौँ आफँैसँग । अनि, त्यही मनले महसुस गरिदिने पीडा, खुसी, सायद शान्ति पनि, सायद संसारबाट अलग्गिन सक्नुको सुखानुभूति पनि । त्यसैले एक्लोपनमा पनि हलुंगो हुन्छ मन । बस् यति नै कल्पन सक्छु यतिखेर जब ती मुजैमुजा भएका अनुहारभरि एक्कासि फुलिदिन्छ बैँसालु गुराँसजस्तो मुस्कान । देख्छु उत्सवमय छ एकान्त ।
खोज्दै हिँडिरहेछु जीवनका विविध आयाम । म एक यायावर । भेट्छु प्रत्येक जीवन फरक । कुश्माको बडागाउँ कैयौँ झोलुंगेपुल छ सामु । जसले जोडिरहेछ दुई जिल्ला, पर्वत र बाग्लुङलाई । यी दुई भित्ता यही पुलको माध्यमबाट जोडिन पाएका छन् । कम्तीमा एकअर्काको हल्का स्पर्शसम्म महसुस गर्दा हुन् ।
धेरै समय हेरेरै चित्त बुझाइरहेका यी दुई जिल्लाका भित्ता अब केही खुस होलान् । असंख्य पाइताला पुल वारपारमा व्यस्त देखिन्छन् । केटाकेटीहरूको छुट्टै फुर्ति छ पुल तर्दाको । उनीहरूको चञ्चलतामा सामेल भइदिन्छ तल बग्दै गरेको कालीको सुसेली । यो १ सय ५६ मिटर उचाइ र ३ सय ४७ मिटर लामो पुल तर्दै गर्दा एउटा कुरो हामफाल्दै आइदिन्छ मनमा । मनहरू पनि जोड्ने यस्तै पुल भए... क्या सजिलो हुन्थ्यो होला सम्बन्ध जोडिरहन ! खुसीहरू दौडँदै वारपार गरिरहन्थे होलान् दुई मन ।
***
भर्खरै हो एक्लिएका मनहरू नजिक गुज्रिएको । फेरि जम्काभेट भएको अर्को जीवन । एउटी वृद्धा छन् र छन् उनीसँग धेरै गुनासा । सायद गुनासो आफँैप्रति, कमजोर शरीरप्रति, बाथले गाँजेका औँलाप्रति, मधुरो माघे घामप्रति अनि प्रेसरको ओखतीले नियन्त्रण गर्न नसकेर उम्लिरहेको रिसप्रति । सरुभक्तको भनाइ सम्झन्छु । जीवन एक अहम् । यतिखेर लाग्दैछ, जीवन एक असन्तुष्टि । जीवन एक गुनासो ।जीवन एक वितृष्णा । यी हजुरआमाको गुनासोको घानमा कहिलेकाहीँ घरका सबै जहान पनि पर्छन् ।
उनलाई पटक्कै मन पर्दैन सधैँ एक्लै बार्दली कुरी बस्न । बोलिदिने एक प्राणी हुँदैन दिनमा, सिवाय छिँडीमा भएका केही बाख्रा । उनीहरूको एकतमासे खस्र्याङखुर्सुङले अडाएको छ उनको मन । त्यो आवाजले घरमा कोही भएको आभाससम्म दिन्छ । जस्तो कि, भित्ताहरूले पनि हाम्रो साथ दिन्छन् । ती निर्जीव पर्खाल पनि सजीव बनिदिन्छन् एक व्यक्तिजस्तो । हेराहेर, मौन वार्तालाप, सुखदु:ख पोखाइ एकान्तका । अनिद्राले छोप्दा उही बनिदिन्छ एकान्तको मीठो साथी । तर, यहाँ हजुरआमामा बार्दली कुराइको पट्यार छ । चिसा दिनमा एक्लै सिरेटो खपी बस्नुको पीडा छ । गाह्रो छ । जाउँ कता ? शरीर र मौसम दुवै छैन आफ्नो अनुकूल । लठ्ठीले पनि धान्न छाडेको छ शरीरको असन्तुलन ।
नियति यस्तै छ । प्रत्येक घरमा यसरी नै पिँढी कुरिबस्ने बूढाबूढीहरू मात्र बाँकी हुँदैछन् । गाउँ रित्तिएको छ । युवाहरू खाडीमा टकटक्याउँदै छन्, जुत्तामा टाँसी आएको गाउँको माटो । महानगरका आदिम गल्ली नाप्दैछन् सर्टिफिकेटधारी मलिन मनहरू । कोही झर्दैछन् सहरका शिक्षालयमा भविष्य उज्ज्वल पार्ने सपना खेलाउँदै । तब त गाउँ खाली छ । कोही छैनन् बजैबाजेका कुरा सुन्ने । मैले देखेको पर्वत, मल्लाजकी हजुरआमाको मन रित्तो छ । मात्र सपनामा देखिन्छन् परिवार सबै । कहिलेकाहीँ त निकै वर्ष पहिले नै बितेका आफ्ना दुलाहा पनि छाउँछन् सम्झनाभरि र रुझाइ जान्छन् खिरिएको मन । विपनामा सधैँ एक्लै । भएकी एउटी बुहारी पनि उस्तै व्यस्त चुलोचौको र घरवारमा । कसलाई फुकाउनु र मनको गाँठो ?
प्रत्येक बिहान साँझ खाटमै आइपुग्छ खाजा, खाना । तर, स्वाद पाउँदैन जिब्रो । एक्लै खाँदा त खानाको नि स्वाद फेरिने हो कि ? उनको आँखाभरि खुर्र दौडन्छन् ती दिनका झझल्का । अगेना वरिपरि छोराछोरी, आफूलाई खान दिन भ्याइनभ्याइ । कति मीठो गुन्द्रुकको झोल पनि । तर, निल्न निकै गाह्रो हुन्छ उनलाई अचेल नरम भात, लयालु दाल र मीठो तरकारी अचार पनि । मीठो पनि जोवनमै हुने । उनी अलमलमा पर्छिन् । जिब्रोको स्वाद बद्लिएको कि उमेर ? मन नखुलेको धेरै भइसक्यो ।
उनलाई एकसरो देख्दा सुखी र भाग्यमानी लाग्छिन् । पहिरेकी छन् सुकिलो बुट्टे चौबन्दी, सपक्क बाटिएको छ सेतो कपाल, नाक, कान पहेँलै टल्किएको छ । थैली पनि गह्रौँ नै छ, वर्षको दुईपटक थापिने बूढाको पेन्सनले । खोइ कहाँ छ र दु:ख ? तर, जब उनको आँखा नियाल्छु उर्लिरहेको पीडा देख्छु एक्लोपनाको, कमजोर शरीरको र छटपट अनि अनिश्चितताको । उनलाई हेरिरहँदा गुन्जिन्छ छेउमै बु्रस स्प्रिङ स्टेनको स्याड आइज । दुई सुन्दर घरमा एक्लै टोलाउनु पर्दा पक्का स्याड स्याड हुन्छन् नै आँखाहरू ।
उनलाई बार्दलीमै छाडेर निकै तल झरिसकेँ । तर, एक्ली हजुरआमा मनभरि छरिन्छिन् । आँखाभरि भरिन्छिन् मेरो बाटोभरि । अघि मैले कल्पेको मन जोड्ने पुल भए म उनको मनमा फेरि पनि पुग्ने थिएँ । तर, अब हाम्रो भेट सम्झनामा मात्र होला ।
***
एक्ला यात्रीहरू भेटिने क्रम जारी छ । कुश्मा बजारको पश्चिममा गुप्तेश्वर महादेव एक्लै गुप्तवासमा छन् । म उनीसँगको यो दोस्रो भेटको अवसरमा दंगिएकी छु । भेट हुन्छ उही महादेवका सेवक, भक्त या दिवान जे भने पनि मिल्ने घुंगुरु बाबासँग पनि दोस्रोपटक नै । उनी एक्लै रत्तिएका अजीव प्राणी । अनकन्टार पहरामा एक्लै रमाइरहेका छन् वर्षौंदेखि । शरीरभरि दल्छन् खरानी । सानो लँगौटी बेर्छन् र खराउ लगाइ हिँड्छन् । टाउकामा भने अग्लै थुम्को उभिएको छ जटाको । उमेर असीकै हाराहारीमा तर स्वस्थ र स्फूर्त । महादेव छन् गुफामा, उनी छन् खडा द्वारपालझैँ ढोकैमा । बालिरहन्छन् धुनी, बसालिएको हुन्छ चियाको किट्ली अनि निरन्तर खन्याइदिन्छन् त्यहाँ पुग्ने भक्तजनका लागि कडा चिया । बाँदर र चराहरूलाई पनि उत्तिकै ख्याल उनलाई । बारम्बार रोटी र चारो दिन्छन् । क्या मस्त जीवन † घरीघरी शिव बुटीको लामो सर्को लिन्छन्, बस् !
उनलाई धेरै कुरा सोध्न मन छ तर सक्दिनँ । डर लाग्छ, कहीँ मेरा अनावश्यक प्रश्नले उनलाई बिथोल्ने पो हो कि ? मन न हो प्रश्न गर्छ आफैँलाई । किन होला यिनले राजस्थानको आफ्नो घर–परिवार र हुँदाखाँदाको सहज जीवन छाडेर यो गुफामा बिताइरहेछन् समय ?
के यो एक्लोपना कहिल्यै गाह्रो लागेन होला र उनलाई ?
गाह्रो लागेको भए त किन बस्दा हुन् र यसरी ? कोही एक्लै हुनुमा मस्त हुन्छन् । कोही भने एक्लोपनले चुटेर हायलकायल छन् । अनुभव आ–आफ्नै ।
माघको छोटो दिन । झमक्कै झरेको छ साँझ र भिन्न सुन्दरताले अदिप्त छ गुप्तेश्वर गुफा । अकस्मात्को हिउँदे झरीले बोकेको छ मीठो लय । गुन्जिँदै छ ओरिजिनल संगीत । घुंगुरु बाबाको दोस्रो राउन्ड चियाको आतिथ्य र केही मन मिलेका मित्रमण्डलीको साथको न्यानो । अरू के चाहियो र जीवनमा !
आस्थाका धरोहर शिवको नजिक छु । झन् समीप छन् एक्लोपनामा समाहित घुंगुरु बाबा । विश्वासमा बाँधिएका केही थान मन पनि छन् साथै । माहोल सुन्दर छ । यही मीठो माहोलमा मिसिन आइजान्छन् यात्रामा भेटिएका मोदीबेनी आश्रमका वृद्धाहरू र मल्लाजमा बार्दली कुरिरहेकी हजुरआमा ।
प्रस्ट हुँदै जान्छ जीवनको सत्य । एक्लै, एक्लै, एक्लै ।