इराक युद्धको त्रासदी
उपन्यासको शीर्षकले नै पुस्तकको सारांश बोक्छ । कोही पात्र युद्धको त्रासदीले विचलित भई कतै भागेको कथा हो यो ।
दोस्रो विश्वयुद्धको समाप्तिपछि उपन्यास लेखनको क्रम उल्लेख्य रूपमा वृद्धि भयो । ती उपन्यासले विगतमा नउठाएका विविध विषयवस्तु तथा विचारलाई साहित्यमा भित्र्याए । लेखकद्वय रोनाल्ड कार्टर र जोन म्याक्टेका अनुसार मुख्यत: युवा तथा तल्लो वर्गका, नवशिक्षित मध्यम वर्ग, महिला तथा जातीय अल्पसंख्यक, समलिंगीलगायतका समूहका आवाज त्यस समयका उपन्यासले स्थापित गराए ।
२०औँ शताब्दीको सुरुआतदेखि नै विश्वले दर्जनौँ युद्धको सामना गर्नुपर्यो । बोअर वार, पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, भियतनाम युद्ध, खाडी युद्ध आदिले विश्वलाई तहसनहस बनाए र ती युद्धले निम्त्याएका विभीषिका तत्समयका साहित्यका प्रमुख विषयवस्तु बने । अझ महत्त्वपूर्ण त दोस्रो विश्वयुद्धपछि बेलायतको सामरिक शक्ति ओझेलमा पर्दै गयो र यसको स्थान अमेरिकाले लियो । तत्पश्चात् अमेरिकाले विभिन्न बहानामा इराक, अफगानिस्तान, सिरियाजस्ता राष्ट्रमाथि धावा बोल्यो र परिणामस्वरूप हजारौँको ज्यान गयो र अरबौँको सम्पत्ति नोक्सान भयो ।
यसै सन्दर्भमा बंगलादेशी लेखक साद जी हुसेनले अमेरिकाले इराकमाथि गरेको आक्रमणको घटनालाई आधार बनाएर सन् २०१५ को अन्त्यमा इस्केप फ्रम बग्दाद ! अर्थात् ‘बग्दादबाट भाग्दा’ शीर्षकमा उपन्यास लेखेका छन् । उपन्यासको शीर्षकले नै पुस्तकको सारांश बोक्छ । कोही पात्र युद्धको त्रासदीले विचलित भई कतै भागेको कथा हो यो ।
प्राय: प्रागकल्पना, विज्ञान कथा तथा ब्ल्याक कमेडी लेख्ने कथाकार हुसेनले यस उपन्यासमा इराक युद्धलाई हाँस्यको शैलीमा प्रस्तुत गरेका छन् । साथसाथै, यथार्थ घटनामा आधारित भए पनि कल्पनाको कलेवरले वरिपरिबाट छोपेर एक सुन्दर सिर्जना जन्माउने प्रयास गरेका छन् । यद्यपि, लेखक युद्धको पक्षमा भने पटक्कै छैनन् बरू उनले युद्धलाई एक निकृष्ट र अमानवीय तथा कुरूप घटनाका रूपमा चित्रित गरेका छन् । युद्धग्रस्त इराकमा बाँच्दाका विसंगतिहरूलाई हाँसोको शैलीमा व्यक्त गरिरहँदा उनी युद्धका परिणामप्रति उत्तिकै तीखा वाण फ्याँकिरहेका हुन्छन् । विश्वभर मानिसहरू अन्याय, थिचोमिचोका साथसाथै हिंसाका घटनाको सिकार हुनुपर्दा लेखक चिन्तित छन् ।
चित्ताकर्षक आवरणभित्र ३६ वटा कथामा उनिएको उपन्यासको अन्त्यमा ‘एपिलग’ (उपसंहार) र नोट्स पनि समावेश छन् । कथामा प्रयोग भएका वा सन्दर्भका रूपमा चर्चा गरिएका तर सम्पूर्ण पाठकका लागि बोधगम्य नहुन सक्ने शब्दावली तथा सन्दर्भलाई नोट्समा दिएको जानकारीले सुबोध्य बनाएको छ ।
यस उपन्यासको कथानक नौलो छैन । २०औँ शताब्दीका एक महान् प्रयोगात्मक आख्यानकार कुर्त भोनेगटको उपन्यास स्लटरहाउस फाइभसँग यो उपन्यास धेरै हदसम्म मिल्दोजुल्दो छ । सन् १९४४ डिसेम्बर १९ मा भोनेगट वास्तविक जीवनमै जर्मन फौजद्वारा बन्दी बनाइएका थिए र जर्मनीको एक सहर ‘ड्रेसडेन’ पठाइएका थिए र सन् १९४५ को फेब्रुअरी १३—१४ मा अमेरिकी फौजले गरेको बम हमलामा ज्यान जोगाउन सफल भएका थिए ।
यस उपन्यासका दुई प्रमुख पात्र दागर र किन्जा इराक युद्धका बेला बग्दादमा दु:खसाथ ज्यान जोगाउन सफल हुन्छन् । युद्धले सबै कुरा गुमाएका उनीहरूका लागि गुमाउन बाँकी अरू केही थिएन ! जब अमेरिकी सेनाले इराक र मुख्य गरी राजधानी सहर बग्दादमाथि आक्रमण गर्छन्, तब यी दुई पात्रले ज्यान जोगाउने हरेक प्रयास गर्छन् । त्यही प्रयास भोनेगटको पात्र बिल्लीको संघर्षसँग ठ्याक्कै मिल्छ । भोनेगटले प्रयोग गरेको ह्युमर शैली पनि उपन्यासकारले दुरुस्तै उतारेका छन् । फरक यति मात्र छ, भोनेगटको कथाको सन्दर्भ दास्रो विश्वयुद्धको अन्त्यतिरको हो भने हुसेनको कथाको सन्दर्भ २१औँ शताब्दीको सुरुका वर्षको इराक युद्धको । उस्तै प्रकृतिका आततायी घटनाक्रमलाई भोनेगटले प्रयोगात्मक शैलीमा व्यक्त गरेका छन् भने हुसेनले परम्परागत शैलीमा ।
यो उपन्यासले नयाँ मोड तब लिन्छ, जब दागर, किन्जा र उनीहरूले बन्दी बनाएका सद्दाम हुसेनका एक समर्थक समेतलाई ‘लायन अफ अक्कड’ नामक हत्यारा पत्ता लगाउने जिम्मेवारी दिइन्छ । उनीहरू यस लक्ष्यमा सफल हुन नसके पनि एक अनौठो प्रकृतिको घडी भेटाउँछन्, जसको पछि केही शक्तिशाली व्यक्ति पनि लागेका हुन्छन् । यी पात्रलाई मोसुल नामक स्थानमा पुग्ने लगायतका विभिन्न चरणमा एक भ्रष्ट अमेरिकी शैन्य प्राइभेट हफम्यानले सहयोग गरिरहेको हुन्छ ।
२०औँ शताब्दीको मध्यतिर समालोचकहरूले भन्ने गरेको उपन्यासको मृत्यु यस उपन्यासको सन्दर्भमा उति लागू हँुदैन । समालोचकहरूले उक्त समयमा उपन्यासको मृत्यु घोषणा नगरी परम्परागत ढर्रामा लेखिने उपन्यासका दिन गएको घोषणा गरेका थिए । अर्थात्, सुुरुआत, मध्य र अन्त्य खोज्ने एरिस्टोटलियन धारका कथाको समय सकिएको घोषणा गरेका थिए ।
दोस्रो विश्वयुद्धपश्चात् साहित्य लेखनमा विभिन्न प्रयोग भए । कुर्त भोनेगट, मार्टिन अमिस, जोन अपडाइक, टाकेहिको इनोही, स्टेफन किङहरूले उपन्यासका विभिन्न पक्षमा प्रयोग गरेका छन् ।
भोनेगटको उपन्यासमा पनि मुख्य गरी समयलाई प्रयोग गरिएको भए पनि २१औँ शताब्दीको सुरुमा लेखिएको हुसेनको यो उपन्यासमा भने कथा पुरानै शैलीमा लेखिएको छ । यद्यपि, यस उपन्यासले प्रागकल्पना, इतिहास, विसंगति, र हाँसोलाई एकै ठाउँमा ल्याएर विधागत पर्खाल भने भत्काएको छ । उनले युद्धको दृश्यात्मक नारकीय चित्रण पस्केका छन् तर पाठक यी घटना पढ्दा नहाँसिरहन सक्दैनन् । हुसेनले युद्धको विभीषिकाका साथसाथै मदर डाभाला र गेवरका सन्दर्भ प्रयोग गरेर इस्लामका सुनौला युगसँग सम्बन्धित विभिन्न पक्षलाई पनि उजागर गर्न भ्याएका छन् । युद्धको नियतिविरुद्धमा लेखिएको यो एक दृश्यात्मक उपन्यास हो ।
—-
स्केप फ्रम बग्दाद
स्रष्टा : साद जी हुसेन
प्रकाशक : एलेफ
पृष्ठ : २५६
मूल्य : ३९९ भारु
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...