दार्शनिक उपन्यास— काँचुली
बुद्ध धर्म र यससँग सम्बन्धित दर्शनमाथि गहिरो ज्ञान राख्ने रोशन दाहालले लेखेको उपन्यास काँचुली चल्तीको उपन्यासभन्दा पृथक् छ ।
कतिपय उपन्यास यस्ता हुन्छन्, पढ्दै जाँदा कल्पनाको संसार निर्माण हुने । पात्रहरूको सुख र दु:ख, हाँसो र खुसी आफ्नैजस्तो लाग्ने । मोहक भाषाशैली र पात्रहरूको संवेदनाले पाठकलाई निथ्रुक्कै भिजाउने । बुद्ध धर्म र यससँग सम्बन्धित दर्शनमाथि गहिरो ज्ञान राख्ने रोशन दाहालले लेखेको उपन्यास काँचुली चल्तीको उपन्यासभन्दा पृथक् छ ।
उसो त चल्तीका उपन्यासको निर्मित शैली र शिल्प मात्रै यो उपन्यासको फरक पक्ष होइन । पात्रहरूको मनोवैज्ञानिक छटपटीलाई दर्शन र चिन्तनका आधारमा गरिने व्याख्या र त्यसकै धागोमा उनिएको कथा भने उपन्यासको पृथक् परिचय हो । त्यसैले, हतारमा सक्ने भन्दा पनि प्रत्येक बिसौनीमा सोच्दै र बिसाउँदै पढ्नुपर्ने उपन्यासको कोटीमा यो पर्छ ।
पुनर्जन्म र पूर्वजन्मको विषय उपन्यासको केन्द्र हो । बालखमै संस्कृत पढ्न बनारस पुगेको तर अध्यात्म र धर्मबीचको भीडमा हराएर फर्किएको मूल पात्रको बिग्रँदो मनोविज्ञान र त्यसको उपचारको खोजीमा उसले प्राप्त गरेका अनुभूति नै उपन्यासको मूल कथा हो । अनेकन् रंगीन सपना देखेका तर उमेरको एउटा विन्दुमा आफ्ना अभिभावकको सपनाको पछि लागेर बनारस पुगेका दुई पात्रको मनोविज्ञान र दैनिकीबाट उपन्यासको कथा सुरु हुन्छ ।
सुरुमा सुस्तरी अघि बढेको कथा बिस्तारै तीव्र गतिमा बहन्छ र नदीको छुट्टिएको भँगालोझैँ पात्र अनुसार पात्रले फरक–फरक बाटो समात्छन् । उपन्यासको मध्यतिर छुट्टिएका नदीका भँगाला मिसिएझँै कथाका पात्र एउटै मूलमार्गमा मिसिन्छन् । त्यतिबेलासम्म सँगै पढेको निवेशानन्द साधना सिकाउने गुरु बनिसकेको हुन्छ भने मूल पात्र पण्डित बन्ने यात्राबाट बिच्किएर व्यापारी बनी गृहस्थ धर्म निभाइरहेको हुन्छ । धन कमाए पनि र विलासी जीवनका सबै साधन जोडे पनि उसको मन सधैँ अस्थिर र दु:खी हुन्छ । त्यसपछि, ऊ सुख र आनन्दको खोजीमा भौतारिँदै उही बाल्यकालको साथी निवेशानन्दको शरणमा पुग्छ ।
निवेशानन्दले सम्मोहन विधिको प्रयोग गर्दै उसको मनलाई स्थिर मात्रै बनाउँदैनन्, पूर्वजन्मका प्रत्येक घटना र समयलाई सम्झिन सक्ने र पुनर्जन्मबारे बुझ्न र जान्न सक्ने बनाउँछ । यहाँनिर उपन्यासकार पाठकलाई सम्मोहन विधिबारे विस्तारमा बताउन चुकेका छन् । अर्थात्, कथाले फड्को मारेको छ ।
अध्यात्मलाई केन्द्रमा राखेर अघि बढेको कथामा हिन्दु र बौद्ध धर्मबीच चलेको शीतयुद्ध, धर्मभिरुबीचको मतान्तर र धर्मको ऐतिहासिक पक्षलाई मिहिन रूपमा केलाइएको छ । तर, पात्रहरूको संवाद र कथाको लय धेरै ठाउँमा अस्वाभाविक र भद्दा देखिन्छ ।
वैभवको आधुनिक जीवन बाँचिरहेको मूल पात्र साधनाको माध्यमबाट आफ्नो पूर्वजन्मको समय पहिल्याउँदै २५ सय वर्षअघिको बौद्धकालीन समयको आफ्नो जीवनका बारेमा बताउन पुग्छ । दर्शन र विचारका गम्भीर पक्षको वर्णन गर्ने पूर्वघोषित उद्देश्यले उपन्यासको मूल शक्ति धेरै ठाउँमा कमजोर बनेको छ । यद्यपि, दर्शनका बोझिला शब्दावली र जेलिएका लामा पदावलीको प्रयोग नगर्नु उपन्यासको राम्रो पक्ष हो ।
पात्रको एकोहोरो वर्णन र सिद्धान्तहरूको लामो व्याख्याले उपन्यासलाई गहकिलो बन्नबाट रोकेको छ । समग्रमा पुस्तक कतै उपन्यासजस्तो, कतै इतिहासको वर्णनजस्तो त कतै धर्म वा दर्शनको व्याख्याजस्तो बनेको छ । हामीले बाँचेको सत्य, हामीले ठानेको खुसी र हामीले मानेको सफलता के साँच्चै अन्तिम सत्य हुन् ? हामीले खोजेको खुसीले हामीलाई सधैँ मनैदेखि खुसी तुल्याउन सकेको छ ? उपन्यासले यस्ता गम्भीर प्रश्न धेरै ठाउँमा उब्जाएको छ । यो नै उपन्यासको शक्ति हो ।
—-
काँचुली
स्रष्टा : रोशन दाहाल
प्रकाशक : मञ्जरी प्रकाशन
पृष्ठ : २०४
मूल्य : २९८ रुपियाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...