संस्मरण » मायाको पुल मोटरसाइकल
दाम्लोले भैँसी बाँधेझैँ झ्यालको ग्रिलमा मोटरसाइकल बाँधेर मस्तसँग निदाउने जुक्ति निकालेका रहेछन् । मैले मोटरसाइकल बाँधेर चाबी लिएँ । आमाले चिसो जुस र झिलिंगाको खाजा ल्याइन् । मोटरसाइकल र सिक्रीको सम्बन्ध गाँसिएको अवसरमा हामीले प्रीतिभोज खायौँ ।
२०६० तिर म चितवनको सिनर्जी एफएममा काम गर्थें । एफएमछेउको चारतले घरको माथिल्लो तलामा बस्थेँ । भुइँतलामा मेडिकल साइन्सका आठ विद्यार्थी बस्थे, जहाँ मैले राती आफ्नो मोटरसाइकल थन्क्याउँथेँ । ती विद्यार्थीले डेरा छाडेपछि त्यहाँ फेरि मोटरसाइकल राख्न दिने सजिला मान्छे बस्न आइदिए हुन्थ्यो भनेर कामना गरेँ ।
केही दिनपछि नै त्यहाँ वृद्ध दम्पती बस्न आइपुगे । पति मंगोलियन र पत्नी आर्य अनुहारकी । समस्या सुनाएर मैले ती आमासँग आफ्नो समस्या राखेँ । उनले भनिन्, “मोटरसाइकल राख्न त हुन्थ्यो बाबु । तर, बुबाको बानी अलि कडा छ । रुचाउनुहुन्न कि ?”
“के गरौँ त आमा ?” मैले सोधेँ ।
“खोई बाबु, के भनौँ ! मैले भनेर हुँदैन । भोलि बाबुले नै बासँग सल्लाह गर्नूस् न !”
“आज कहाँ राखौँ त ?”
उनी केहीबेर घोरिइन् र भनिन्, “यसो गर्नूस् न त । हामी ११ बजेतिर सुत्छौँ । घरपछाडिको च्यानल ढोका बाबु नआइन्जेल खुलै राखूँला । मोटरसाइकल ढोकाको छेउमै राखेर भोलि बिहान ५ बजे नै निकाल्नूस् ।” म अलि खिन्न हुँदै बिदा भएँ । राती १० बजेतिर आइपुग्दा घरको पछिल्तिरको च्यानल ढोका खुलै थियो । मोटरसाइकल थन्काएर माथि उक्लिएँ ।
भोलिपल्ट बिहान ५ बजेअघि नै रेडियोमा पुग्नुपथ्र्यो । मोटरसाइकल निकालिदिएर जाने विचारले हतारहतार भर्याङ ओर्लंदै थिएँ । आमा भर्याङमा मेरै बाटो हेरिरहेकी भेटिइन् । बिस्तारै हातको इसाराले मलाई रोकिन् र दायाँ हातको चोर औँलाको टुप्पा मुखमा टाँसेर चूप रहन संकेत गरिन् । अनि, सास दबाएर साउती मारेको स्वरमा भनिन्, “बा राती उठेर ट्वाइलेट जाँदा मोटरसाइकलमा ठोक्किनुभएछ । अहिलेसम्म रिसाइरहनुभएको छ । मोटरसाइकल निकाल्न नलाग्नूस् बरू छिटो गइहाल्नूस् बाबु, नत्र नराम्रो पर्छ ।” त्यसपछि उनी माथितिर उक्लिएझैँ गरिन् । आश्चर्यजनक त्रासले झन् मेरा पाइला जडवत् भए ।
यत्तिकैमा रिसले चूर वृद्धले लौरीको झटारो हाने । तर, मलाई लागेन । च्यानलगेटमा ठोकिएर भुइँमा खस्यो । उनी मुड्की कसेर मुर्मुरिँदै मतिर जाइलागे । अनि, म टाप कसेँ । एकछिनलाई भागेर के गर्नू † रेडियोमा ७ बजेसम्म समाचार बजाएर डेरामा फर्कनु नै थियो, फर्किएँ । घरभित्र पसेर हेर्दा बिहान रिसाएका ती वृद्ध साहित्यकार बालकृष्ण समको तस्बिर उतार्दै रहेछन् । अरू साहित्यकारका पेन्टिङ पनि स्ट्यान्डमा झुन्डिइरहेका थिए । काममा उनको लगाव देखेर श्रद्धा जाग्यो । नमस्कार गर्दै भनेँ, “बुबा, आज बिहान तपाईं मसँग किन रिसाउनुभएको ?”
मेरो श्रद्धाले उनी पग्लिएनन्, बरू च्याँठ्ठिए, “यो घरलाई मैले भाडा तिरिदिएको तेरो गाडी राख्ने ग्यारेज बनाउन हो ? अझ मलाई रिसायो भन्न लाज छैन ?”
नरम भएर भनेँ, “मैले गल्ती गरेँ बुबा । सजाय दिनूस् स्वीकार्छु तर तपाईंको मन दुखाउँदिनँ ।”
उनी अझै जंगिए, “आइन्दा मेरो घरभित्र मोटरसाइकल देख्नु नपरोस् ।”
उनको गोरो अनुहारको रङ बदलिएर रातो भयो । दाह्रा किट्दै थप राँकिए, “मलाई नाटक नदेखा । भाषण पनि नसुना । खुरुक्क आफ्नो मोटरसाइकल निकालेर लैजा ।”
म नि:शब्द भएँ । उनको गालीमा देखिएको रूखोपनभित्र कोमलता छ कि भनेर खोज्दै थिएँ तर उनले मलाई घोचूँलाजसरी हेरे । तर पनि उनको अनुहारमा आक्रोशको पर्दाभित्र एकखालको हँसिलो आभा देखियो ।
उनले सरल अहं भावमा सोधे, “जीबी याक्थुम्बाको नाम सुन्या छ ?”
म अलमलमा परेँ, “अहँँ ।”
“यो जिल्लाको पुलिसको सबैभन्दा ठूलो अफिसर एसपीलाई गएर सोध्नू । त्यसभन्दा तलकाले नचिन्न पनि सक्छन् । उहाँ नेपाल पुलिसको तेस्रो आईजीपी हुनुहुन्थ्यो ।’
“ए, ज्ञानबहादुर याक्थुम्बाको कुरा गर्नुभएको ?”
“हो, म उहाँकै छोरा हरिबहादुर याक्थुम्बा हुँ । अब त चिन्यो ?”
भुइँमा टुक्रुक्क बसेर जवाफ दिएँ, “आफ्नो बुबालाई म चिन्दिनँ त !”
उनी अवाक् भएझैँ देखिए अनि सोधे, “के रे ? म कसरी बाउ भएँ ?”
मैले एउटा दृष्टान्त पेस गर्दै भनेँ, “तपाईंले आफ्नो बाबुको नाम जोडेर आफूलाई चिनाउनुभो तर अहिले उहाँ यस संसारमा हुनुहुन्न । मलाई जन्म दिने बा यो संसारमा सकुशल हुनुहुन्छ र पनि यतिबेला मसँग हुनुहुन्न । उहाँ धेरै टाढाको गाउँमा बस्नुहुन्छ । अहिले मलाई कसैले कुटपिट गर्न लाग्यो भने छोराको मायाले बचाउन आउन सक्नुहुन्न । म पनि बालाई कुनै संकट पर्यो भने तुरुन्तै सहयोग गर्न सक्दिनँ । तपाईंको बितिसक्नुभएको बुबा र मेरो जीवित बुबाका बीच यस अर्थमा कुनै फरक छैन । यसबेला तपाईंलाई सन्तानको साथ चाहिँदा म छु । मलाई बाको काख चाहिँदा तपाईं हुनुहुन्छ । अहिले मलाई टाढा बसेर सम्झिइरहेका जन्माउने बाभन्दा अगाडि नै उपलब्ध तपाईंबाट पाउने मायाले मात्र बचाउन सक्छ । अनि म छोरो भइनँ त ?”
मेरो बेलिविस्तार सुनेपछि बाको अनुहारमा माया छचल्किएको भाव छायो । केही कारुणिक देखिए । त्यो मौकामा मैले अरू बात थपेँ, “म तपाईंको अगाडि शक्ति होइन, सेवा र श्रद्धा लिएर उपस्थित बालक हुँ । मलाई जतिसुकै ठूलो गल्ती गरेको भए पनि मलाई छोरो ठानेर शरण या मरण जे दिनुहुन्छ, स्वीकार्छु ।”
उनी हल्का हाँस्न खोजेजस्ता देखिए । भने, “तिमी त बाठो बाहुन पो रै’छ । यति भाषण सुनाएपछि मोटरसाइकल राख्न देला भन्ने ठान्या होला । मैले पैसा तिरेको घर तिम्रो गाडी राख्ने ग्यारेज होइन ।
अहिल्यै निकालिहाल ।”
उनको मन युद्ध जित्न हिँडेको सिपाहीको जस्तै कठोर थियो । मैले उठेर भनेँ, “तपाईंसँगको नाताभन्दा मूल्यवान् यो मोटरसाइकल हुन सक्दैन । त्यसकारण मलाई तपाईंको मन दुखाउनु छैन बुबा । भन्नूस् यो मोटरसाइकल कहाँ राखौँ ?”
उनले स्वभाव अनुसारकै जवाफ दिए, “सके चार तला माथि लगेर आफ्नै कोठामा थन्क्याऊ, नसके बाहिर सडकमा मिल्काऊ । मलाई के सोध्छौ ?”
उनलाई झुकेर नमस्कार गरेँ र मोटरसाइकल निकालेर म बिदा भएँ । राती १० बजेतिर बिहान उनैले भनेझैँ घरअगाडिको सडकमै मोटरसाइकल छाडेर कोठामा उक्लिएँ ।
चौथो तलाको कौशीबाट तल हेरेँ । बत्ती गएको बेला थियो । आमा टर्च लाइट बालेर घरअगाडिको गेटमा निस्किइन् र सडकतिर नियालिन् । सडकको छेउमा बेवारिसे बालकझैँ खडा ह्यान्डल लकसमेत नभएको मेरो ‘च्याम्पियन’ मोटरसाइकल देखेर आमाले खलबल गरिन् । मैले सुनेको नसुनेझैँ गरेँ । एकछिनपछि पहिलो तलाको कौसीबाट घरबेटी दिदीले मलाई तीन–चारपटक बोलाइन् । फेरि पनि मैले नसुनेझैँ गरिदिएँ । त्यसपछि मेरो कोठाको ढोका कसैले ढकढक्यायो । खोलेर हेर्दा घरबेटी दाइ आएका रहेछन् । मोटरसाइकल भित्र थन्क्याउने सूचना दिएर गए ।
म तल ओर्लिएँ । आमा घरअगाडिको बरन्डामै थिइन् । मोटरसाइकल सडकमै छाड्नुको कारण सोधिन् । मैले बाको आज्ञा पालन गरेको बताएँ । पुरानो मोटरसाइकल भएकाले त्यहीँ छाडिदिए पनि कसैले लाँदैनन् भनेँ । आमाले सम्झाउँदै भनिन्, “बाले ठट्टा गरेर भन्नुभयो होला । घरपछाडि हाम्रो पूजाकोठाबाहिरको बरन्डामा राख्न लगाउनू, राती म त्यहीँ सुतेर झ्यालबाट रेखदेख गर्छु भन्नुभाछ ।”
मलाई अपत्यारिलो लाग्यो । तर, आमाले भनेकै ठाउँमा मोटरसाइकल राखेर सुतेँ । बिहान एफएमबाट फर्किएपछि बाले त्यो मोटरसाइकलको सुरक्षा गर्दा राती अनिँदो बसेर बेहोर्नुपरेको भुक्तमानको कथा सुनाए । भने, “तिम्रोभन्दा पनि यो मोटरसाइकलको मायाले मलाई झिमिक्कै निद्रा लागेन । कतै चोरले पो तान्ला कि भनेर रातभर रुँघेरै बसेँ । अँध्यारो पूजाकोठामा लामखुट्टेले पनि खुब सतायो । आज बेलुकादेखि अगाडि आँगनमा राख । सुत्ने कोठाको झ्यालबाट देखिन्छ, बेलाबेलामा हेरिराख्छु ।”
बा बाहिर कडा देखिए पनि मनभित्र मप्रति मायाका नरम टुसाहरू पलाउन थालेछन् । मैले भनेँ, “यो थोत्रो मोटरसाइकलका कारण तपाईं त्यत्रो दु:ख किन पाउनुहुन्छ बुबा ? बरू, बेचिदिन्छु ।”
बाले ढाडस दिए, “यस्तो घुर्की नलगाऊ । खुरुक्क आँगनमा हूल । ”
“हवस्, त्यसै गर्छु,” म राजी भएँ ।
त्यस राती बाले भनेजसरी नै आँगनमा मोटरसाइकल राखेर माथि उक्लिएँ । डेढ घन्टापछि सडकतिरबाट झर्याम्म केही फुटेको आवाज आयो । कौसीमा निस्केर हेरेँ । घरअगाडि बिजुलीको खम्बामा बलिरहेको ठूलो ट्युबलाइट फुटेको रहेछ । अँध्यारो थियो । लगत्तै सडकतिर टर्चलाइटको उज्यालो देखापर्यो । घरको पर्खालबाट चार जना सडक बालकजस्ता देखिने केटाहरू हामफालेर भागे । उनीहरू बाहिरको सडकबत्ती गुलेलीले फुटालेर कबाडी सामानको खोजी गर्न घरभित्र छिरेका हुँदा हुन् । त्यसलाई सामान्य रूपमा लिएर म सुतेँ । तर, त्यो घटनापछि बा रातभर निदाएनछन् । सिंगो रात जाग्राम बसेर उनले झ्यालबाट नियाल्दै आँगनको मोटरसाइकल कुरेछन् ।
भोलिपल्ट बिहान एफएमबाट फर्किएपछि बाले बोलाएर रातीको सबै बेलिविस्तार सुनाए । तर, उनको अनुहारमा मप्रति रिसको लेस पनि देखिएन । बरू, जिम्मेवारीबोधको भाव तरंगिएको थियो । उनले आमालाई बोलाएर भने, “सुरुमा रिस उठाए पनि अब मलाई यो केटाको माया लाग्न थालेको छ । जाऊ फ्रिजबाट एक गिलास ठन्डा निकालेर खुवाऊ ।”
उनी भारतीय भूमिमा निकै बसेर आएकाले बोलीमा हिन्दी लबज थियो । अनि फेरि थपे, “भान्छामा मीठो पाकेको दिन बोलाएर खुवाऊ ।” तीन दिनमै बदलिएको बाको व्यवहारबाट चकित पर्दै म स्प्राइट पिउन थालेँ । आमा आँखाका परेला नझिम्क्याइ एकटकले मेरो अनुहारमा हेरेर हाँसिरहेकी थिइन् ।”
चौथो रात बाले मोटरसाइकललाई आँगनबाट बरन्डामा उकालेर राख्न लगाए । त्यो रात उज्यालो हुनै लाग्दा मोटरसाइकल चोरी हुन लागेको सपना देखेर उनी झल्याँस्सै ब्युँझिएछन् । मोटरसाइकल सकुशल देखे पनि त्यसपछि निद्रा लागेनछ ।
निकट भावमा मतिर हेर्दै भने, “तिम्रो मोटरसाइकलले मलाई बुढेसकालमा अवगाल पार्लाजस्तो छ । आज बेलुकी अलि चाँडै आएर मलाई भेट ।” मैले रहस्य नबुझे पनि ‘हुन्छ’ भनेर मुन्टो हल्लाएँ ।
दिनभर खुलदुली लागिह्यो । बेलुकासम्म थाम्न सकिनँ । दिउँसो ३ बजेतिर भेट्न गएँ । उनी पेन्टिङ गरिरहेका थिए । मलाई देख्नासाथ मुसुक्क हाँसेर सुत्ने कोठातिर लागे र मलाई पनि उतै लगे । रातो रङको सानो प्लास्टिकको थैलो मेरो हातमा थमाए । आकार ठूलो नदेखिए पनि थैलो गह्रुंगो थियो । खोलेर हेरेँ । चारकुने बाकसमा फेला पर्यो– एउटा फलामको सिक्री, ठूलो भोटेताल्चा र त्यसको चाबी ।
म खित्का छाडेर हाँसेँ । बा मेरो प्रतिक्रिया पर्खिइरहेका थिए । मैले बुझेर पनि बुझपचाउँदै सोधेँ, “किन ल्याउनुभएको यो सिक्री ?” उनले भने, “तिम्रो मोटरसाइकल बाँध्न । उनले दाम्लोले भैँसी बाँधेझैँ झ्यालको ग्रिलमा मोटरसाइकल बाँधेर मस्तसँग निदाउने जुक्ति निकालेका रहेछन् । मैले मोटरसाइकल बाँधेर चाबी लिएँ । आमाले चिसो जुस र झिलिंगाको खाजा ल्याइन् । मोटरसाइकल र सिक्रीको सम्बन्ध गाँसिएको अवसरमा हामीले प्रीतिभोज खायौँ ।
तीन वर्षपछि डेरा सर्दा बाले मेरी सानी छोरीलाई बेबी साइकल दिएर बिदाइ गरे । अलि समयपछि भेट्न जाँदा बाआमा त्यहाँ थिएनन् । धेरै पछि थाहा भयो, बा सिकिस्त बिरामी भएर बितेछन् । आमालाई भारतको नैनीताल बस्ने छोराहरूले लगेछन् । बासँग त्यो निर्जीव वाहनले जोडिदिएको माया स्मृतिमा जीवित छ ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...