सोटिट : शृंगार नपुगेको आख्यान
पत्रकारलाई नै यसरी सशक्त बनाएर प्रस्तुत गरिएको यो किताब केही हिसाबले नौलो पनि छ । यद्यपि, यहाँ ऊ लेखकीय त्रुटिका कारण लुलो भएको छ ।
सोटिटबाबु अर्थात् महेन्द्र कुनै ‘करिस्म्याटिक’ पात्र होइन । ०३० सालतिरको एक पत्रकार हो, एसोसिएटेड प्रेस (एपी)का लागि नेपाल सम्वाददाताका रूपमा कार्यरत । स्कुप मार्न सफल निर्भीक छ ऊ । एसोसिएटेड प्रेसमा काम गर्ने हुनाले ऊ अनपढ गाउँलेहरूको उच्चारण अपभ्रंशका कारण एसोसिएट, सोटिएट हुँदै ‘सोटिट’ बाबु ठहरिन्छ, स्नेहले । उसकै एपिसेन्टरमा छ उपन्यास सोटिट । ऊ सशक्त पात्र हो तर लेखकीय होमवर्क अभावका कारण अपांग ठहर गरिदिन सक्छन् पाठकले । त्यही पात्रलाई मूल खम्बाका रूपमा उभ्याउन त उभ्याए लेखकले तर सिँगारपटारबिना यत्तिकै छोडिदिए पनि । त्यसकारण, उत्कृष्ट हुने यथेष्ट ठाउँ हुँदाहुँदै औसत उपन्यास बन्यो सोटिट ।
चार दशकअघिको परिवेशमा वीरगन्ज वरिपरिको गाउँलाई केन्द्रविन्दु मानेर कथा पुग्छ काठमाडौँका साँघुरा छिपछिपे गल्लीसम्म । उपन्यासमा हिरोजस्तो लाग्ने तर वास्तविकतामा ‘साइड हिरो’ बद्रीले वाचन गरेको छ कथा । पुस्तकको सुरुकै पानामा सोटिटबाबुको मृत्यु भएको खबरसाथ कथाको बेग मध्यम गतिमा अघि बढ्छ । सो गति अन्त्यसम्मै एकैनासको छ । उतारचढाव नभएको कथा पढ्दा पाठकको उत्साहमा नाकाबन्दी लाग्छ ।
सोटिटको मृत्युको खबरले बद्री शोकमा डुब्छ । उसले युवाकालमा सोटिटबाबुकै स्नेहमा काठमाडौँ बसेर पढ्ने मौका पाएको थियो । आफ्नो रुमपार्टनर श्रद्धेय (गाउँले) दाइको मृत्युको खबर पाएपछि ऊ फ्ल्यासब्याकमा तानिन्छ र आफ्नो विगतको पोयो फुकाउन थाल्छ पाठकसामु ।
सोटिट हरिबोल उपाध्यायका छोरो हो । हरिबोलकै आग्रहमा बद्री सोटिटबाबुसँग काठमाडौँमा बसेर पढ्न गाउँ छाडेर हिँड्छ । त्यसपछि कथाले छुकछुके गति लिन्छ । बद्री काठमाडौँ गइसकेपछि उसलाई सोटिट बाबुको दैनिकीले नै तान्छ । त्यसपछि उनैको जीवनचर्याको चर्चा गर्न थाल्छ । यहाँनिर लेखकले लेखाइलाई धेरै चाखलाग्दो बनाउने ठाउँ थियो । जस्तै, बद्री कलेज पढ्दाका भित्रि घटना, सोटिटबाबुको पत्रकारिताका अन्तरंग पक्षहरू आदिको वर्णन गरिएको भए उपन्यासको सुगन्धै अर्कै हुने थियो । मूलपात्रलाई सशक्त बनाउन खोज्दा खोज्दै उपन्यास टुंगिइसक्छ । एउटा होनहार पत्रकारको मृत्युको शैली निकै विम्बात्मक लाग्छ । पत्रिका पढिरहेको बखत नै पत्रकार महेन्द्रको मृत्यु हुन्छ । त्यो पनि अनुहार पत्रिकाले छोपिएर ।
प्रतिभाशाली महेन्द्रको काठमाडौँको राजनीतिक वातावरणसँग घुलमिल छ । डेमोक्र्याट ऊ राजनीतिक दलसँग सीधै आबद्ध त छैन तर देशमा प्रजातन्त्र स्थापना गर्न लागिपरेका राजनीतिक कार्यकर्तालाई देखाअन्देखा तरिकाअनुसार मद्दत गरिरहन्छ । देशमा भइरहेका विभिन्न राजनीतिक घटनाक्रमलाई मज्जाले चिन्न पोख्त छ ऊ । त्यही प्रतिभालाई भरपूर प्रयोग गर्दै ऊ एपीलाई समाचार पठाइरहन्छ । पत्रकारितामा स्कुप मार्न कसलाई कसरी कुरा ओकाल्नुपर्छ राम्ररी जानेको छ उसले । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत भएकैले उसलाई सरकारले थुन्न सक्दैन । निर्भीक भएर डटिरहन्छ काममा । अन्तर्राष्ट्रिय सञ्चार संस्थामा कार्यरत पत्रकारको सुविधा र देशभित्रैका पत्रकारको दयनीय अवस्थाको चित्रण पनि गर्न खोज्नु किताबको मर्म हो ।
महेन्द्रको स्केचमा लेखकले टन्नै काम गर्न मिल्ने ठाउँहरू छन् । जुन उपन्यासका मूल छिद्र पनि हुन् । एक्लो जीवन बाँचेको उसको जीवनका विभिन्न रंगीन पाटाहरूबारे लेखक मौन छन् । महेन्द्रले गर्ने काममार्फत् तत्कालीन नेपाली समाजका विभिन्न पाटा देखाइएको छ । महेन्द्र र वीरेन्द्रको राज्यकाल, राजनीतिक वातावरण, काठमाडौँको तत्कालीन जीवनयापन लगायत भारतीय राजनीति र नेपालमा त्यसको असर तथा भारतमा इन्दिरा गान्धीकालको रमाइलो वर्णनका पाटाहरू पनि अटेका छन् ।
काठमाडौँप्रति मधेसको र मधेसप्रति काठमाडौँको तत्कालीन दृष्टिकोणको मनोवैज्ञानिक स्केचमा लेखक सफल देखिन्छन् । मधेसका मानिसहरूले काठमाडौँमा हुने घटनाक्रम र राजधानीका बासिन्दा, जीवनशैली, राजनीतिबारेका मिथकहरू रमाइलो पारामा प्रस्तुत गरिएको छ । यद्यपि, मधेसबारे काठमाडौँको दृष्टिकोण दिन लेखकले धक फुकाएको देखिँदैन । भाषिक दृष्टिमा कुरा गर्दा पनि लेखकले निर्धक्क मधेसको भाषा प्रयोग गर्न सकेका छन् भने काठमाडौँका नेवार जातिहरूको टोनमा अधिक ठाउँमा गलत छन् ।
किताब पढ्दा थाहा हुन्छ लेखक कुनै पनि कुरालाई सीधै भन्न रुचाउँछन् । विम्बहरूको प्रयोग, आवश्यक ठाउँमा घटना र पात्रको चरित्रको विस्तृतीकरण, उपकथाहरूको उठान र बैठानजस्ता महत्त्वपूर्ण विषयवस्तुमा लेखक उदार छैनन् । ‘कोलोकियल’ टोनले पात्रलाई प्राकृतिक देखाउन मद्दत पनि गर्छ । तर, मधेसमा बोलिने भाषाको छेउटुप्पो नबुझ्ने पाठकलाई पुस्तक सकस हुन्छ नै । त्यसका लागि लेखकले त्यस्ता वाक्यहरूको अधिक प्रयोग नगरिदिएको भए राहत मिल्न सक्थ्यो ।
तराईको कथालाई औपन्यासिक कलेवर दिएर पाठकमाझ पस्कने नयनराज पाण्डेको कृतिमा जस्तै मिठास यसमा पनि छ । पात्रको मनोभाव, उसको चित्रण, कथावाचन, उपकथाहरूको जोडघटाउ आदि कुरा उपन्यासलाई सिँगारेर चिरिच्याट्ट पार्ने तत्त्वचाहिँ यसमा छैनन् । मूलकथा पनि राम्ररी भन्न नसकिएको भान हुन्छ । केही उपकथा त छन् जसलाई अघि बढाउने प्रशस्त ठाउँ देखिन्छन् । बद्रीको एउटा उपकथा छ, जसको खास रुचि हुँदैन पाठकलाई । चल्तीका उपन्यासमा देखिएका पात्रको तुलनामा भन्दा यस उपन्यासको मूल पात्र महेन्द्र धेरै हिसाबले पृथक छ ।
पत्रकारलाई नै यसरी सशक्त बनाएर प्रस्तुत गरिएको यो किताब केही हिसाबले नौलो पनि छ । यद्यपि, यहाँ ऊ लेखकीय त्रुटिका कारण लुलो भएको छ । मूल पात्रलाई राम्ररी एक्सपोज गराउन नसक्नु लेखकको सबैभन्दा ठूलो कमजोरी हो ।
सोटिट
स्रष्टा : राजव
प्रकाशक : अर्किड बुक्स
पृष्ठ : २२८
मूल्य : २५० रुपियाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...