पुस्तक - सपना र संघर्ष
लुक्ला वरपरका शेर्पाहरूको गरिबी, अशिक्षा, भरिया बन्नुपर्ने बाध्यता, अकाल मृत्यु र अन्य विविध पीडा सजीव उतारिएको छ, लाक्पा फुटी शेर्पाको उपन्यास हिमालकी छोरीमा ।

कति सपना पक्डन सकिन्छ, कति भने पुतलीजस्तै उडिजान्छ हातैबाट पनि । लुक्लानजिकैको मुसेगाउँमा चौँरीको बथान, उवा र सिमी फल्ने खेतबारीमा दगुरिहिँड्ने १३ वर्षकी किशोरी छे छेची । ठूल्ठूला सपना बुन्न थालेपछि घरकी जेठी छोरी छेची घरबाट निस्कन्छे । राजीखुसीसाथ भरिया जीवन स्वीकार्छे । भारी बोकेरै त्याङबोचे, लोङबुचे, हुन्कु भेल्ली, थोराङ पास, गोरेकसेपदेखि कञ्चनजंघासम्म पुग्छे ।
लुक्ला वरपरका शेर्पाहरूको गरिबी, अशिक्षा, भरिया बन्नुपर्ने बाध्यता, अकाल मृत्यु र अन्य विविध पीडा सजीव उतारिएको छ, लाक्पा फुटी शेर्पाको उपन्यास हिमालकी छोरीमा । लाक्पा फुटी त्यसै गाउँको बासिन्दा भएका कारण आफ्नो ठाउँ र पात्रहरूको सुन्दर चित्रण भएको हुन सक्छ । गोराले दिएको टिप्स र जडौरीहरूमा अल्झिँदा अल्झिँदै कञ्चनजंघातिर जाने टोलीमा भेट हुन्छ स्वीस डानियलसँग । दोब्बर उमेरको फोटोग्राफर र लेखक डानियलले ट्ेरकबाट फर्केपछि पढ्नका लागि पैसा दिन्छ, अन्त्यमा स्वीट्जरल्यान्ड नै लान्छ ।
बस्दै जाँदा उसको विवाह प्रस्तावले छेचीको दोधार बढ्छ । नेपाल फर्कूं आफ्नो र आफन्तको सपना पूरा नहुने, बिहे गरूँ मनले खाएको छैन । यही अन्योलमै बिहे गर्छे बूढो डानियलसँग । बाध्यता र जिम्मेवारीको मारमा परेर छेचीजस्ता धेरै नेपाली युवतीले नमिल्दा सम्बन्धहरू स्वीकारेर बसेका छन् विश्वका धेरै कुनामा । परिवार खुसी हुन्छन् तर परिवारलाई खुसी दिने त्यस्ता युवती आफैँ चाहिँ खुसी छैनन् ।
एउटा छोरा जन्मिएपछि रिसाहा र जन्ड स्वभावको डानियलले छेचीको जीवन नर्क बनाइदिन्छ । डानियलसँग डिभोर्स गरेर ऊ नेपाल फर्किएपछि सकिन्छ उपन्यास । उपन्यासको पाठ के हो भने सपना, पैसा भन्दाभन्दै हामी जीवनका उर्वर समय अर्काकै देशमा अर्काकै लागि खर्च गर्छौं र अन्तमा दुखेको मन, अधकल्चो सपना, विक्षिप्त मनस्थिति र अन्योल भविष्य लिएर फर्किन्छौँ ।
उपन्यासमा उठाइएको विषय निकै सान्दर्भिक र सशक्त भए पनि डेढ सय पाना भरिया केटीका गफगाफ, किशोरी उत्सुकता, खैरेको फोटोखिचाइ आदिमै अल्झिरहन्छ । कथा पटक्कै अघि बढ्दैन । कथाको बहाव नभएका कारण निरस लाग्छ । शेर्पाहरूले बोल्ने भाषा अति नै सम्पादित छ । त्यसलाई स्थानीय लबजमा छाडिदिएको भए अग्र्यानिक हुन सक्थ्यो ।
हिमालकी छोरी
लेखक : लाक्पा फुटी शेर्पा
प्रकाशक : लाक्पा फुटी ट्रस्ट
पृष्ठ : ४२०
मूल्य : ५१५ रुपियाँ