पुस्तक - नयाँ स्वादको उपन्यास
चल्तीका द्वन्द्व, समाज, राजनीतिजस्ता विषयभन्दा अलि पर रहेर आध्यात्मिक चेतका बारे कुरा गर्ने यो उपन्यासले पाठकलाई नयाँ स्वाद दिनेछ
नेपाली समाज मृत्युलाई स्वाभाविक मान्दैन । हामी मृत्युसँग यति धेरै डराउँछौँ कि त्यसबारे कुरा गर्नु पनि अशुभ ठान्छौँ । अझ मृत्युका बारेमा कुरा गर्ने व्यक्तिप्रतिको दृष्टिकोण नै फरक छ । अनि, दु:ख के हो ? मृत्युपछि जीवन के हुन्छ ? दु:खबाट कसरी छुटकारा पाउने ? मोक्ष, निर्वाण, आध्यात्मिक सुख के हो ? यो कसरी प्राप्त हुन्छ ? यस्ता यावत् विषयमा हामी त्यति बहस गर्दैनौँ वा गर्न चाहँदैनौँ । युवावस्थामा यस्ता कुरा गर्ने व्यक्ति ‘असामान्य’ मानिने नै भए ।
पत्रकार घनश्याम खड्काले मृत्यु चिन्तन र निर्वाणका यस्तै सन्दर्भलाई युवावस्थाको पिरतीसँग जोडेर उपन्यास सिर्जना गरेका छन् । फरक खालको विषयलाई एउटै ठाउँमा राखिएको निर्वाण बजारमा देखिने उपन्यासभन्दा भिन्न छ । यहाँ माया, प्रेम, रोमान्स तथा घरका पारिवारिक कथा मात्र होइन, सामान्यत: मानिसले कुरा गर्न नरुचाउने मृत्यु र जीवनका विषयलाई एकै ठाउँमा घोलिएको छ । यो घोल्ने प्रयासमा छिटफुट रूपमा कुनै कुनै विषय तैरिए पनि समग्रमा विषयवस्तु गजबसँग घोलिएका छन् ।
निर्वाण अति गहन शब्द हो । यसले जीवनलाई फरक दृष्टिकोणबाट हेर्न सिकाउँछ । सुख, दु:खभन्दा माथि उठेर जीवनका अनेक आयामलाई आत्मसात् गर्दै अघि बढ्नु निर्वाण हो । जुन यस उपन्यासका पात्र मोनिका, श्वेता, गुरु गोविन्द, मुख्य पात्र बोधीलगायतको जीवनमा आउने घटना र उनीहरूको जीवन दृष्टिकोणसँग जेलिँदै जान्छ र प्रस्ट हुँदै जान्छ । मुठी जत्रो सानो मस्तिष्कमा खेल्ने सुख, दु:ख अनि खुसी सम्बन्धित अनेकन् तर्कनालाई विभिन्न पात्र प्रयोग गरेर उपन्यासकारले निकै सरल तरिकामा प्रस्तुत गरेका छन् कथालाई ।
उपन्यासको मुख्य पात्र बोधी एक मनोचिकित्सक हो । ऊ आफूकहाँ आउने विभिन्न बिरामीको समस्या समाधान गरेर उनीहरूलाई खुसी दिने पेसामा तल्लीन छ । दु:खी व्यक्तिलाई सुख खोज्न सहयोग गर्ने पेसामा लागेको बोधी सुख र दु:ख क्षणिक हुन् भन्ने निष्कर्षमा पुग्छ । मोनिकासँगको क्षणिक सामीप्य अनि लामो समय पेसागत व्यस्तता र त्यसै क्रममा उसलाई खोज्दै आएकी श्वेतासँगको सामीप्य, प्रेम, वासना र वियोग अनि स्वयंको पुन:जीवन ।
मोनिकासँगको पुन:मिलन, उसकै माध्यमबाट आध्यात्मिक गुरुको संगत र साधना यी सब उपन्यासका सहायक कथा भएर आउँछन् । जब बोधी गुरु गोविन्दलाई भेट्छ, उसको सान्निध्यमा समाधिसम्म पुग्छ अनि त फ्रायडसम्मलाई चुनौती दिन सक्ने पात्र भएर निस्कन्छ । यी सब घटनाक्रमका बीचमा सुख, दु:ख, मृत्यु चेत, आत्मीयता, प्रेम सब अटाएका छन् ।
उपन्यासको मुख्य चुरो भने पाठकले अन्तिम १० पृष्ठमा बल्ल भेटाउँछन् । नाटकीय लाग्ने कथानक र आध्यात्मिक शीर्षकको औचित्य यहाँनिर आएर बल्ल मेल खान्छ । यसर्थ, उपन्यास सन्तुलित छ । पात्रहरू अध्यात्मजस्तो गहन विषयमा दार्शनिक मात्र भएर प्रस्तुत भएका छैनन्, जसले गर्दा पाठकले अनावश्यक भार महसुस गर्नुपर्दैन ।
उपन्यासमा लेखकले निर्वाण कसरी प्राप्त गर्न सकिन्छ र त्यो के हो भन्ने बताउँदा बताउँदै कथा भने चल्तीका हिन्दी सिनेमाजस्तो नाटकीय भइदिन्छ । भर्खर किशोरावस्थामा पुगेको बोधी आफ्नो घर छाडेर अनकन्टार गाउँमा शिक्षक बन्न पुग्नु, वर्षौंपहिले आफूले पढाएकी चेली श्वेता आफ्नो गुरु खोज्दै उसको मनोचिकित्सालयसम्म आउनु, श्वेतासँग तटीय क्षेत्र घुम्न गएको बोधीको जहाज दुर्घटना हुनु र श्वेताको मृत्यु हुनु तर बोधी बाँच्नु अनि निकै दिनपछि उसको उद्धारका लागि जहाज लिएर मोनिका नै आउनु । यी घटनाक्रम पढ्दै गर्दा हिन्दी चलचित्र हेरेको भान हुन्छ । एक मनोवैज्ञानिकको दृष्टिकोणबाट लेखिएको यो उपन्यासमा महिला पात्र हावी छन् ।
संसारकै धनी युवती भनेर चित्रित दिप्तीको कथा उपन्यासकारले पात्रहरूलाई बोनसमा दिएजस्तो लाग्छ । उसको उपन्यास त्यसको मर्म र कथानकसँग खासै सान्निध्य देखिँदैन तर पाठकलाई बाँधिराख्न भने यस कथाले मद्दत गर्छ । कथा कुनै समय र स्थान विशेषमा बाँधिदैन । यो गाउँदेखि सहर, स्वदेश, विदेश र हिमालदेखि समुद्रसम्म घुमेको छ । यसलाई उपन्यासको सबल तथा दुर्बल दुवै पक्षका रूपमा लिन सकिन्छ ।
पाठकलाई बाँधी राख्न उपन्यासकारले आफ्नो शाब्दिक शिल्पीसँगै यथेष्ट कल्पनाशक्तिको प्रयोग गरेका छन् । निर्वाणजस्तो गहन विषयलाई सरलीकृत ढंगले सबै उमेर समूहका पाठकले बुझ्न सक्ने गरी प्रस्तुत गर्न लेखक सफल भएका छन् । चल्तीका द्वन्द्व, समाज, राजनीतिजस्ता विषयभन्दा अलि पर रहेर आध्यात्मिक चेतका बारे कुरा गर्ने यो उपन्यासले पाठकलाई नयाँ स्वाद दिनेछ ।
निर्वाण
स्रष्टा : घनश्याम खड्का
पृष्ठ : २७९
मूल्य : ३९९ रुपियाँ
प्रकाशक : अल्केमी
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...