पुस्तक - डाक्टर चित्रको दुखान्त
आयु र सफलताको उत्कर्षमा क्यान्सरले हरेको पतिको वियोगमा साउने झरी वर्षाउनुभन्दा पूजा पीडालाई प्रेरणामा बदलेर अबोध छोरा र ससाना नानीको भविष्य बनाउनुमा कृतसंकल्प रहेकी छन् ।
सृष्टिका हाँगाका दुई थुंगा, एउटा डढेर राख भएको छ, अर्को फुल्नै नसकेर मुर्झाएको छ । लहराझैँ आश्रित कोपिला फक्रन वञ्चित छ भने आशाका दुइटी मुना बाबुका सपनाको कलमीमा टुसाइरहेका छन् । यही हो दिवंगत डाक्टर चित्र वाग्लेको वियोगान्त जीवनवृत्तान्त, डाक्टर चित्र । जसमा अर्धांगिनी पूजाले आत्मबलको मंगलसूत्रलाई स्मृतिको कण्ठहार बनाएकी छन् ।
मेघालयस्थित खसियाडाँडाको गाईगोठको वाग्ले परिवारमा १० माघ ०२२ मा जन्मिए चित्र । सात वर्षमा आमा गुमाएपछि उनलाई नेपालको रुपन्देही ल्याइयो । मायालु सानिमाको साथमा साँझ–बिहान बाख्रा चराउँदै, दिउँसो स्कुल जाँदै गरेर स्थानीय पर्रोहा माविवाट ०४१ सालमा फस्ट डिभिजनमा एसएलसी गरे । डाक्टर वा पाइलट बन्ने उत्कट अभिलाषाले उनलाई काठमाडौँ मात्र ल्याएन कि कांग्रेस नेता बालकृष्ण खाँडको भनसुनबाट महाराजगन्जमा हेल्थ असिस्टेन्टको कोर्स जुर्यो । एकवर्षे अनिवार्य सेवामा सुर्खेतको सापडाँडा हेल्थपोस्टमा काम गरे । डाक्टरी पढ्न जान काठमाडौँ आएका भद्र चित्र विचित्रसित अनाहकमा राजनीतिक अभियोग खेपेर भद्रगोल जेलमा कोचिए ।
तै, दोस्रो वर्ष छुटेर उज्वेकिस्तानमा छात्रवृत्ति पाएर ६ वर्षे एमबीबीएस गरे । त्यसअघि उनले पाल्पा र रुम्जाटारमा बिरामीका देवदूत भएर काम गरेका थिए । ०५७ मा सरकारी डाक्टर भएर पोखराको दरबन्दीमा खटिए । तर, दुर्गम भेगका उपेक्षित जनताको सेवा गर्ने जिद्दीले त्यहाँ नगएर अर्घाखाँचीको सरकारी अस्पतालमा १२ वर्ष रहेर चिकित्सा सेवाको नयाँ इतिहास मात्र रचेनन्, अस्पतालको स्तर र शय्या पनि बढाए । गरिब बिरामीलाई नि:शुल्क उपचार, सित्तैँमा औषधि अनि घर फर्कने बाटोखर्चसमेत दिए सन्धिखर्कमा । न भूतो, न भविष्यति । उनको सेवा र कुशलताको कीर्तिमान जिल्लैभरि अजम्बरी भएर मगमगाइरहेकै छ ।
०५६ मा पाल्पाको जिल्ला प्रशासन कार्यालयमा यिनको प्रेम विवाह दर्ता भयो । बीबीएस गरेकी बुटवलकी पूजा पराजुलीसँग । हनिमुनको सरुवा रुम्जाटारमा भयो । ठूलो डाक्टर बन्ने सपना लिएर उनी उपल्लो डिग्री एमपीएच गर्न प्यारो परिवारलाई काठमाडाँैमा छोडेर थाइल्यान्ड लागे ।
०६९ को कुरा हो । सुखी थाइल्यान्डमा एक मात्र दु:खी चित्रले श्रीराज होटलमा ‘हे भगवान् ! क्यान्सर नदेखियोस्’ भन्दै रिपोर्ट तेस्र्याउँदा डाक्टरको जवाफ आयो, ‘तपार्इंलाई एपेन्डिक्सको क्यान्सर छ । यो फोर्थ स्टेजमा छ । क्युरेवल हुन्न ।’ त्यो सुनेपछि उनले सबभन्दा पहिले श्रीमती सम्झे, बच्चा सम्झे, भविष्य चकनाचुर भएको देखे । कोठामा आएर एक्लै एक घन्टा रोए ।
त्यसपछि श्रीमतीलाई लेखेको पत्रको फेद यस्तो छ, ‘तिमीलाई थाहा छ, कुनै पनि श्रीमान् र श्रीमतीको सँगै डेथ भएको छैन । त्यसैले एक न एकले जिम्मेवारी लिनैपर्छ । जीवनलाई सफलतापूर्वक लिई अगाडि बढ्ने नै छौ ।’ उनी राजीव गान्धी अस्पतालको १४ महिना पनि क्लिनिकमा जस्तै अरू बिरामीबाट घेरिएरै बसे । अन्तरज्ञान छँदाछँदै पनि बीसौँपटक त्यो केमो लगाए, जसलाई बीपी कोइरालाले भनेका थिए, ‘शत्रुले पनि नलगाओस् ।’ केवल पूजाका लागि उपचारको बहाना रचिरहेका थिए ।
परिवारकै लागि भए पनि बाँच्ने झीनो जिजीविषाको तार त्यसबेला चुँडियो, जब दिल्लीबाट बिदा दिँदै डाक्टरले क्लिनिकल ट्रायलका लागि क्यानडा अथवा अमेरिका जान भन्यो । करोडौँको जोहो कसरी गर्ने ? क्लिनिकलका उपकरण र आफन्तहरूको सापटी गरेर ७० लाखजति खर्च भइसकेको थियो । अन्तिम जेथाका रूपमा रहेको धापासीको घर बेचेरै भए पनि अमेरिका लग्ने प्रस्ताव थियो पूजाको । तर, ठुकराइदिए वाग्लेले, ‘म बरू सुसाइड गर्छु । घर बेच्न दिन्नँ । म तिमीहरूलाई फुटपाथमा आउन दिन्नँ ।’
यही द्वन्द्व र तनावमा छोरीलाई लेखेको चिट्ठी हृदयविदारक छ :
‘प्रिय छोरीहरू !
तिमीहरूलाई गार्जियनसिप दिएर सहयोगी, सुशील तथा देश र जनताप्रति वफादार नागरिक बनाउने तथा नारी सशक्तीकरणका लागि अग्रणी भूमिका निभाउने छोरी बनाउने इच्छा थियो ।...तर दैवको लीला, तिमीहरूलाई मेरो रोगबारे थाहा छैन । थाहा पाउनुअगाडि नै मैले यो संसार छोडिसकेको हुनेछु... ।
छोरीहरू, म डाक्टर भएकाले के अनुभव छ भने यो क्षेत्रमा धेरै कठिनाइ भए पनि इमानदार भएर काम गर्ने हो भने जनताको सेवा पनि हुन्छ अनि इज्जत र सम्मान पनि पाइन्छ । नानीहरू यस्तो सम्मान र माया किनेर पाइँदैन । सोर्स लगाएर पाइँदैन । यो त मन जितेरै लिने कुरा हो ।’
पूजाको दृढ अठोटलाई पछ्याउँदै उनले नेपाल फर्केर खर्चको लागि सरकार, साथी सबैलाई गुहारे । राष्ट्रपति महोदयले पीठ फर्काए भने मुख्यसचिव लीलामणि पौडेलले ठोस सहयोग जुटाइदिए । अर्को जुनीमा पौडेलको मुनि काम पाऊँ भनेर वाग्लेले पुकारेका छन् । त्यसरी नै सासू–ससुराको अमूल्य सेवा चुकाउन अर्को जुनीमा कोखको छोरो भएर जन्मने इच्छा आफ्नो डायरीमा कोरेका छन् । ७ कात्तिक ०७० मा पूर्वइच्छा अनुसार देवघाटमा अन्तिम संस्कार गरियो ।
आयु र सफलताको उत्कर्षमा क्यान्सरले हरेको पतिको वियोगमा साउने झरी वर्षाउनुभन्दा पूजा पीडालाई प्रेरणामा बदलेर अबोध छोरा र ससाना नानीको भविष्य बनाउनुमा कृतसंकल्प रहेकी छन् । पीडा बाँड्न नसकेको थप अप्रकट पीडाका आँसुले निथ्रुक्क भिजेको पुस्तकले महाकवि लक्ष्मीप्रसाद देवकोटाको विषयाचनालाई पनि सम्झाउँछ ।
डाक्टर चित्र
सम्पादक : पारसप्रकाश नेपाल
प्रकाशक : फिनिक्स बुक
मूल्य : ३९९ रुपियाँ
पृष्ठ : २९२